सुर्खेतमा शिव शिखर सहकारीले ३० करोड रुपैयाँ ठगेकाे उजुरी

हिमाल प्रेस १२ भदौ २०८० १८:२७
12
SHARES
सुर्खेतमा शिव शिखर सहकारीले ३० करोड रुपैयाँ ठगेकाे उजुरी

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरस्थित शिव शिखर सहकारी संस्थाले यहाँका स्थानीयबाट करिब ३० करोड रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको छ। सहकारीबाट ठगिएको भन्दै बचतकर्ताले प्रहरीमा उजुरी दिएका हुन्।

त्यस सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालतमा पेस गर्न प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदनमा ११ जनालाई प्रतिवादी बनाएर ११ करोड रुपैयाँ विगो दाबी गरिएको छ। अहिलेसम्म १७८ जनाले शिव शिखर सहकारीबाट ठगिएको भन्दै जाहेरी दिएका प्रहरीले जानकारी दिएको छ।

उनीहरूले दिएको जाहेरीमा बढी ब्याजको प्रलोभनमा परेर आफूहरूले सहकारीमा रकम जम्मा गरेको उल्लेख छ। उक्त सहकारीबाट ठगिएको भन्दै प्रहरीमा उजुरी पर्ने क्रम अहिले पनि जारी छ।

आइतबारसम्म १७८ जनाले उक्त सहकारीबाट ठगिएको भन्दै जाहेरी दिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले बताए। ‘अझै जाहेरी आउने क्रममै रहेकाले ठगिनेहरूको संख्या धेरै हुन सक्छ,’ उनले भने।

भक्तपुरमा मुख्य कार्यालय रहेको शिव शिखरले सुर्खेतको वीरेन्द्रनगर र मेहलकुनामा शाखा कार्यालय खोलेको थियो। साथै मार्ट पनि सञ्चालन गरेको थियो। दुई शाखाबाट झण्डै ३० करोड रुपैयाँ सहकारीले सेयर र विभिन्न बचतका नाममा उठाएको अनुमान छ।

प्रहरीले निवेदनका आधारमा ११ करोड रुपैयाँ विगो र कैदको मागदाबी गरेर प्रतिवेदन तयार पारेको छ। प्रहरीले सहकारी ठगीमा संलग्न सहकारीका निर्देशक ४१ वर्षीया गीता शर्मा, सञ्चालक पुष्कर मल्ल, र अमिष राजभण्डारीलाई काठमाडौँबाट ल्याएर बयान लिएको थियो।

सहकारीका मुख्यव्यक्ति केदानराथ शर्मामाथि काठमाडौँमा सीआईबीले अनुसन्धान गरिरहेको छ। सहकारी ठगीमा संलग्न सञ्चालक र कर्मचारी गरेर सात जना फरार रहेका प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार सुर्खेत शाखाका प्रबन्धक चन्दन थापा, लेखा हेर्ने छवि डाँगी, कैलालीका दिपक बोहोरा, मोरङका लिलानाथ गौतम, भक्तपुरका राजु साखकर्मी, सिन्धुलीका तेजबहादुर तामाङ र काठमाडौँका सुशील बानियाँ फरार छन्।

१४ अर्ब हिनामिनाको आरोपमा शिव शिखर सहकारीका पूर्वअध्यक्ष पक्राउ

प्रकाशित: १२ भदौ २०८० १८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 13 =