सद्‍भाव खोजिरहेको धरान

विवेक विवश रेग्मी ७ भदौ २०८० २०:४५
114
SHARES
सद्‍भाव खोजिरहेको धरान

इटहरी- धरानमा केही साताअघि गोरु काटेर खाएको भनेर दाबी गरिएको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरियो। सो भिडियोका कारण अहिले सामाजिक सञ्जालमा आरोपप्रत्यारोप चलिरहेको छ। विशेष गरी यसलाई विभिन्न जात र धर्मसँग जोडेर हेरिएको छ। अहिले गोरु काटेर खान पाउनुपर्ने र नपाउने भन्नेबारे सामाजिक सञ्जाल प्रयोगकर्ताहरू एकअर्कामाथि खनिएका छन्।

यद्यपि प्रहरीले जानकारी पाएमा गाईगोरु काटेर खाने व्यक्तिहरूलाई पक्राउ गरेर कारबाही गर्दै आएको छ। यसैको उपज हो- अहिले धरानमा भइरहेको गोवध प्रकरण।

गत साउन १० गते धरान-१५ का राजन परियार र धरान-५ का विन्द्रा राईलाई ३० किलो गोरुको मासुसहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको थियो। पक्राउ भएको १७ दिनपछि उनीहरूलाई प्रशासनले रिहाइ गर्‍यो।

रिहाइसँगै साउन ३० गते सांस्कृतिक अधिकार संरक्षण समिति र नेपाल आदिवासी जनजाति नगर महासंघ धरानले सामूहिक रूपमा गोरु काटेर भोज गरेको भनिएको छ। त्यो भिडियो सोही बेलाको भएको दाबी पनि गरिएको छ। उक्त भिडियो सामाजिक सञ्जालहरूमा प्रसारित भएपछि अहिले धरानमा सामाजिक सद्‌भाव खलबलिने हो कि भन्ने चिन्ता थपिएको छ।

मुन्धुमविद, किरात धर्मगुरु तथा ज्योतिर्विद डा.चन्द्रकुमार शेर्मा धर्मले हिंसालाई प्रोत्साहन नगर्ने बताउँछन्। ‘लारुम्बा गाउँमा हत्या हिंसा बलिको त कुरै छोड्दिउँ, सुर्तीसमेत प्रवेश निषेध गरिएको छ,’ उनी भन्छन्, ‘किरातीहरूले गाई खान्छन् भन्नु बिग्रेको राजनीतिले मात्र हो, धर्मले होइन।’

स्थानीय अभिमन्यु अभिजितले गोवध गर्नु कानुनी रूपमा दण्डनीय हुने बताए। ‘कानुन भन्ने कुरा उजुरी गरेपछि लाग्ने हो, सबै ठाउँमा सीसी क्यामेरा जोडिएको हुँदैन,’ उनी भन्छन्, ‘तर धरानमा भएको पछिल्लो घटनाक्रमले सामाजिक सद्‌भाव भड्काउन खोजेको जस्तो देखिन्छ।’

उनले गाईलाई राष्ट्रिय जनावरको रूपमा संरक्षण गर्नुपर्ने तर्क गरे। ‘आम मानिसको आ-आफ्नै धर्म, संस्कृति, आस्था, विचार र तर्क हुन्छ। तर कानुनद्वारा वर्जित कार्य गर्न हुँदैन,’ उनले भने।

नेपाली कांग्रेस धरानका सभापति श्याम पोखरेलले धरानको समस्या समाधान गर्नका निम्ति धरानले चासो देखाएको र अहिले सामाजिक सञ्जालहरूमा भइरहेको आरोप, प्रत्यारोपबारे चाँडै निकास निस्किने बताए। ‘हामी आज (बिहीबार) पनि प्रशासनसँग सबै राजनीतिक दलसहित सर्वदलीय बैठक बस्यौँ,’ पोखरेलले भने, ‘कसैले खान पाउने, नपाउने भन्नेबारे उनीहरूको कुरा हो। तर धरानमा गाई चै अहिलेसम्म काटिएको छैन, यो झुटो प्रचार हो।’ धरानको समस्या समाधान गर्न धरान नै काफी रहेको बताए।

सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरानमा सामाजिक सहिष्णुता खलबलिन नदिन प्रशासन गम्भीर रहेको बताइन्। ‘राजनीतिक दलहरूसहित छलफल गर्‍यौँ, समाज खलबलिने किसिमका कार्य गर्न हुँदैन भन्नेमा सबैको सामान धारणा छ,’ उनले भनिन्।

धरानमा भदौ ९ गते हिन्दुवादीहरूले शान्तिपूर्ण र्‍याली प्रदर्शन गर्ने कार्यक्रमसमेत तय भएको प्रशासनसमक्ष जानकारी आएको पाण्डेले बताइन् । ‘हामीले समाज भड्किने कुनै पनि कार्य कसैलाई नगर्न अनुरोध गरेका छौँ,’ उनले भनिन्, ‘प्रदर्शनजस्ता कार्यक्रम भएमा कसैलाई असर नपर्ने गरी गर्ने र समाज नखलबलियोस् भन्नेमा हामी सचेत छौँ।’

मेयर हर्क साम्पाङले भने धरानेहरू मिलेर बसेको र कसैले अशान्ति मच्चाउन नपाइने बताएका छन्। उनले सनातनीहरूको र्‍यालीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भनेका छन्, ‘धरान बाहिरबाट धरान आएर लड्ने–भिड्ने कुरा गरेको सुन्दै छु, खबरदार! यो धरान कसैको रेस्लिङ वा यूएफसी रिङ होइन। हाम्रो सहरलाई अनावश्यक क्रीडास्थल बनाउन दिंँदैनौँ। हामी धरानेहरू मिलेर बसेका छौँ, अशान्ति मच्चाउन पाइँदैन।’

यता धरानका पूर्व प्रमुख र उपप्रमुखहरूले धरानमा सामाजिक सद्‌भाव कायम राख्न अपिल गरेका छन्। निवर्तमान नगरप्रमुख तिलक राई, पूर्व नगर प्रमुखद्वय मनोजकुमार मेन्याङबो, कृष्णबहादुर कार्की र पूर्व उपप्रमुख मीनकुमार सुब्बाले संयुक्तरूपमा अपिल जारी गरेर धार्मिक तथा सांस्कृतिक विवादलाई सम्बन्धित पक्षहरू बसेर वार्ता एवं छलफलबाट समाधान गर्न आह्वान गरेका छन्।

साथै शुक्रबार बिहान ११ बजे सर्वदलीय बैठक बस्न अनुरोध गर्ने र दिउँसो २ बजे सद्‌भाव र्‍याली निकाल्ने उनीहरूले निर्णय गरेका छन्।

प्रकाशित: ७ भदौ २०८० २०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 6 =