विद्यालय शिक्षा विधेयकका मस्यौदा सच्याएर मात्रै सदनमा पठाइने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस ६ भदौ २०८० ११:१९
1.1k
SHARES
विद्यालय शिक्षा विधेयकका मस्यौदा सच्याएर मात्रै सदनमा पठाइने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बुधबार बालुवाटारमा आफूहरूका माग पेस गर्दै नेपाल शिक्षक महासंघको टोली। तस्बिर सौजन्य : सोमनाथ गिरी

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षा क्षेत्रले उठाएका माग समेट्न आफू प्रतिबद्ध रहेको बताएका छन्। नेपाल शिक्षक महासंघको टोलीसँग बुधबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन्।

सरकारले साउन १६ गते शिक्षासम्बन्धी विधेयकको मस्यौदा संसद्‌मा टबुल गर्न स्वीकृति दिएपछि विद्यालय शिक्षासँग सरोकार राख्ने शिक्षक, कर्मचारी, व्यवस्थापन समिति र अभिभावक रुष्ट हुँदै आएका छन्।

यस क्रममा नेपाल शिक्षक महासंघको अगुवाइमा देशव्यापी रूपमा पहिलो चरणको आन्दोलन सकिएको छ भने दोस्रो चरणको आन्दोलन जारी छ। दोस्रो चरणको आन्दोलनकै क्रममा महासंघले प्रधानमन्त्रीसँग भेट गरी आफूहरूका माग पेस गरेको हो।

प्रधानमन्त्रीसँगको भेटमा महासंघ टोलीले विधेयकमा रहेका अधिकांश मस्यौदा एक्काईसौंँ शताब्दीका लागि अनुकूल नरहेको, अहिलेकै मस्यौदालाई कानुनी रूप दिने हो भने युवा पलायनको दर अझै ती हुन सक्ने, मस्यौदामा समेटिएका प्रावधानले स्थायी शिक्षकको बढुवा, अस्थायी, राहत, अनुदान कोटा, विद्यालय कर्मचारी, बाल विकास शिक्षक, साविक उच्चमावि दरबन्दीमा कार्यरत शिक्षकको पेसागत स्थायित्व हुन नसक्ने विषयमा ध्यानाकर्षण गराएको थियो।

जबाफमा प्रधानमन्त्रीले महास‌ंघले उठाएका मागमा आफू सकारात्मक रहेको बताउँदै विधेयक तत्काल संसद्‌मा लगेर छिटोछिटोभन्दा संघीय शिक्षा ऐन बनाउने प्रतिबद्धता व्यक्त गरेको भेटमा सहभागी नेपाल शिक्षक संघका केन्द्रीय समितिका अध्यक्ष सोमनाथ गिरीले बताए।

विधेयक पेस गर्नुअघि सरोकारवाला निकायसँग छलफल गर्न पनि प्रधानमन्त्री तयार देखिएका छन्। विधेयकको मस्यौदा संसद्मा टेबुल गर्नुअघि सबै सरोकारवालाहरूसँग छलफल गरिने प्रधानमन्त्रीले बताएका हुन्। अध्यक्ष गिरीले भने, ‘प्रधानमन्त्री हाम्रा मागमा सकारात्मक हुनुहुन्छ। विधेयकको मस्यौदाका बारेमा सरोकारवालाहरूसँग छलफल गरेर जतिसक्दो छिटो संसद्मा टेबुल गर्ने वचन दिनुभएको छ।’

प्रधानमन्त्रीसँगको भेटमा महासंघका पदाधिकारीहरू, महासंघमा आबद्ध संस्थाका पदाधिकारीहरू, विद्यालय कर्मचारी, बालविकास शिक्षकका पदाधिकारीलगायत सहभागी थिए।

प्रकाशित: ६ भदौ २०८० ११:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =