किन भयो भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका ज्ञवालीसहित पाँच एआईजीको सरुवा?

हिमाल प्रेस २ भदौ २०८० १८:१९
1.4k
SHARES
किन भयो भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका ज्ञवालीसहित पाँच एआईजीको सरुवा? प्रहरी प्रधान कार्यालय

काठमाडौँ- पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका एआईजी श्यामलाल ज्ञवालीसहित पाँच जनाको सरुवा भएको हो।

केही दिनअघि नै मन्त्रिपरिषद्‌ले उनीहरूको सरुवा गर्ने निर्णय गरे पनि आजमात्रै निर्णय सार्वजनिक भएको हो।

सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेका काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा पठाइएको छ। उनको ठाउँमा प्रशासन विभागमा रहेका दीपक थापालाई ल्याइएको छ। त्यस्तै कार्य विभागकी एआईजी मीरा चौधरीलाई प्रशासन विभागमा सरुवा गरिएको छ।

मानवस्रोत विभागका एआईजी सन्दीप भण्डारीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। प्रतिष्ठानका एआईजी टेकप्रसाद राईलाई भने मानवस्रोत विभागमा सरुवा गरिएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अर्को चरणको अनुसन्धान गर्न लागेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर प्रहरी अधिकारीहरूको सरुवा गर्न आग्रह गरेका थिए। दाहालले देउवाकै आग्रहअनुसार नै अहिले गृहमन्त्रालयलाई प्रस्ताव तयार पार्न लगाएर सरुवाको निर्णय गराएका हुन्।

एआईजी ज्ञवाली नेतृत्वकै टिपले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतलाई पक्राउ गरेको थियो। उनीहरू नक्कली शरणार्थी प्रकरणमा अहिले पूर्वपक्षका लागि थुनामा छन्।

चार महिनामै सरुवाको तयारी गरेपछि एआईजी टेकबहादुर राईले आईजीपी वसन्तबहादुर कुँवरलाई फोनबाटै पनि असन्तुष्ट नै व्यक्त गरेका थिए। प्रहरी नियमावलीअनुसार एआईजीको सरुवा विभागीय क्षेत्रमा इन्चार्ज भएको एक वर्षपछिमात्रै गरिन्छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणको अनुसन्धानको नेतृत्व गरिरहेका ज्ञवालीलाई सरुवा गर्न कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आईजीपी कुँवरलाई दबाब दिएको थियो। शरणार्थी प्रकरणको अनुसन्धानलाई दोस्रो चरणमा पनि अघि बढाउने तयारी गरिरहेको प्रहरीलाई राजनीतिक नेतृत्वले सरुवा गराएर नकरात्मक दबाब दिएको हो।

पछिल्लो समय एआईजीहरूको सरुवाका लागि सत्ता साझेदार दल नेपाली कांग्रेसको नेतृत्व सक्रिय थियो। यस पटकको एआईजीको सरुवाको तयारी भने नेपाली कांग्रेसकै कारणले गरिएको हो। केही दिनअघि प्रहरी प्रधान कार्यालय स्रोतले हिमालप्रेससँग भनेको थियो, ‘ज्ञवालीको मात्रै सरुवा निकाल्दा राम्रो सन्देश नजाने भयो। बाहिर सन्देश नराम्रो नजाओस् भन्नकै लागि पनि अरू केहीको जिम्मेवारी हेरफेर तथा सरुवा गरिँदैछ।’

नक्कली सुन प्रकरण र ललिता निवास जग्गा प्रकरणको अनुसन्धानको नेतृत्व गरिरहेकी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)की एआईजी किरण बज्राचार्यकै नेतृत्वमा भइरहेको गियो अहिले उनको पनि सरुवा निकालियो। ललिता निवास प्रकरणमा आफ्ना पार्टीका नेताहरू पनि जोडिएपछि कांग्रेस उनलाई यहाँबाट फेर्न खोजेको थियो।

कांग्रेसले त नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा आफ्ना सांसद सुनिल शर्मालाई पक्राउ गरेको भन्दै बज्राचार्यको कार्यशैलीमाथि नै प्रश्न उठाएको थियो। त्यस्तै कांग्रेसले नक्कली डाक्टर पक्राउ गर्नुपर्नेमा सक्कली डाक्टरलाई पक्राउ गरेको कारण पनि देखाएर ब्रजाचार्यलाई सरुवा गर्न दबाब बढाइरहेको बताइएको थियो।

गृहको उच्च स्रोतले पनि कांग्रेसले एआईजी फेर्नका लागि चर्को दबाब दिइरहेको स्वीकारेको थियो।

एआईजीको सरुवा गर्न गृहमन्त्री र आईजीपीलाई कांग्रेसको दबाब, कसलाई कहाँ पठाउने चलखेल?

 

प्रकाशित: २ भदौ २०८० १८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 4 =