ट्रान्सजेन्डर ‘रोल मोडल’ सोफी

संगीता श्रेष्ठ २ भदौ २०८० ९:०२
36
SHARES
ट्रान्सजेन्डर ‘रोल मोडल’ सोफी

नेपालकी पहिलो ट्रान्सजेन्डर मेकअप आर्टिस्ट हुन्, सोफी सुनुवार। उनी आफूलाई ‘ड्रिमर’ भन्न रुचाउँछिन्। अर्थात् सपना देख्ने मान्छे। भन्छिन्, ‘म सपना देख्छु, योजना बनाउँदिनँ।’

उनले त्यसो भन्नुको कारण हो- ‘योजना बनाएपछि काम गर्नैपर्छ। चाहेको कुरा पाउनैपर्छ भन्ने हुन्छ। त्यो पूरा भएन भने मन उदास हुन्छ। डिप्रेस्ड भइन्छ।’

त्यसैले उनी भविष्यका लागि योजना बनाउँदिनन्। तर सपना भने मनग्गे देख्छिन्। उनले उहिल्यै एउटा सपना देखेकी थिइन्। ‘ट्रान्सजेन्डर (पारलैंगिक) हरूका लागि रोल मोडल’ बन्ने। दुई दशकअघि देखेको उनको त्यो सपना पूरा भएको छ। उनी मेकअप आर्टिस्टका रूपमा थुप्रै पारलैंगिक महिलाका लागि प्रेरणाको स्रोत बनेकी छन्।

उनको पाइला पछ्याउँदै थुप्रै पारलैंगिक महिलाले सौन्दर्यकला पेसा अपनाएका छन्। यस क्षेत्रमा काम गरिरहेका छन्।

सोफीलाई प्रेरणाको स्रोत मान्नेमध्येकी एक हुन् ट्रान्स मेकअप आर्टिस्ट नीलम पौडेल। ‘सोफी दिदी मेरो रोल मोडल हुन्,’ एक अन्तर्वार्तामा नीलमले भनेकी छन्।

सोफीबाट प्रभावित भएर नीलमजस्तै थुप्रै पारलैंगिक महिलाले सौन्दर्यकलासम्बन्धी तालिम लिएका छन्। कतिलाई सोफी आफैँले पनि तालिम दिएकी छन्।

‘मेरा लागि कुनै बेन्चमार्क थिएन,’ सोफी सुनाउँछिन्, ‘मैले कसैलाई फलो गर्न पाइनँ। त्यही अभाव अरूले महसुस नगरून् भनेर रोल मोडल बन्ने सपना लिएकी हुँ।’

उतिखेर ट्रान्सजेन्डर भन्नेबित्तिकै धेरैले सम्झिने भनेको ठमेलको बाटो हो। जहाँ ट्रान्सजेन्डरलाई यौनकर्मीका रूपमा हेरिन्थ्यो। ‘म सजिलै पैसा कमाउने कुरामा विश्वास गर्दिनँ,’ उनी भन्छिन्, ‘मेहनतमा विश्वास गर्छु।’

मेहनत त गर्ने तर कहाँ गर्ने? कसरी गर्ने? कुन काममा गर्ने? अन्योलमा थिइन्। उमेर थियो २०-२१ वर्ष। उनलाई बाटो देखाइदिने कोही थिएन।

एक दिन आफ्ना कुरा नीलहीरा समाजका संस्थापक सुनीलबाबु पन्तलाई सुनाइन्।

‘मलाई मेकअपमा रुचि छ, त्यस क्षेत्रमा केही गर्न पाए हुन्थ्यो भनेर उहाँलाई भनेँ,’ उनी भन्छिन्। कुरा २००५ को हो। ठीक त्यही बेला बेल्जियमबाट एकजना मेकअप आर्टिस्ट नेपाल आए। सुनीलबाबुले ती आर्टिस्ट र सोफीलाई रात्रिभोजको निम्तो दिए। ‘डिनरमा हाम्रो भेट भयो, उहाँले मेकअपसम्बन्धी तालिम लिन चाहने भए केही साथीहरूको समूह बनाऊ भन्नुभयो,’ उनी सम्झिन्छिन्।

सोफीले तालिमका लागि १५-२० जना पारलैंगिक महिला जम्मा गरिन्। तालिम लिन उत्साहित थिइन्। त्यसैले अरू साथीलाई पनि तालिमका लागि ‘कन्भिन्स्ड’ गरिन्। आफूजस्ता (पारलैंगिक) महिला कि त फेसन डिजाइनिङमा देखेकी थिइन्, कि मेकअप आर्टिस्ट भएको। त्यसैले यी दुई पेसाले उनको ध्यान ताने।

तालिमपछि सोफीलाई बाटो पाएझैँ लाग्यो। उनी यसमै केही गर्न हौसिइन्। दुईतीन साता सिकेको सीप परिस्कृत बनाउन लागिन्। मेकअपसम्बन्धी थप अभ्यास गर्दै गरिन्। ‘पत्रपत्रिकामा हिरोइनको मेकअप हेरेर सिक्ने प्रयास गर्थेँ,’ उनी भन्छिन्।

यही बेला सौन्दर्यकला प्रतियोगिता भयो। त्यसमा भाग लिन मेकअपअघि र पछिको तस्बिर पठाउनुपर्ने थियो। एकजना साथीले फोटोग्राफर राजीव श्रेष्ठसँग परिचय गराए। राजीवलाई उनको काम मन पर्‍यो। मेकअप मन पर्‍यो। अनि उनी बनिदिए सोफीलाई बाटो देखाउने मान्छे।

ब्युटी, फेसन र लाइफ स्टाइल पत्रिकाका लागि फोटोसुट गर्ने राजीवले सोफीलाई त्यहाँ चिनाइदिए। सोफीले पत्रिकामा छापिने मोडल र अभिनेत्रीको मेकअप गरिदिन थालिन्।

‘सुरुसुरुमा त पत्रिकामा नाममात्र आए नि ठूलै कुरा लाग्थ्यो,’ उनी भन्छिन्, ‘पत्रिकाले मेकअप गरेबापत पैसा दिएपछि त ओहो भन्ने लाग्यो।’

बिस्तारै विभिन्न पत्रिकाबाट कामको प्रस्ताव आउन थाल्यो। आम्दानी बढ्न थाल्यो। आर्थिक रूपमा सबल भएपछि अबचाहिँ आफ्नै काम गर्नुपर्छ भन्ने लाग्यो। काठमाडौँ, नक्सालमा मेकअप स्टुडियो खोलिन्।

नेपालको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’मा २०१५, २०१६ र २०१७ गरी तीन वर्ष सोफी आधिकारिक मेकअप आर्टिस्ट थिइन्। ‘त्यो मेरा लागि सबैभन्दा राम्रो प्लेटफर्म थियो,’ उनी भन्छिन्। तर त्यो ठाउँमा उनी यसै पुगेकी होइनन्। त्यहाँसम्म पुग्ने बाटो पनि आफैँ खोजेको उनी बताउँछिन्।

‘हाम्रो टोलका एकजना ब्युटिसियन दिदी मिस नेपालमा मेकअप गर्ने टोलीमा हुनुहुन्थ्यो,’ उनी सम्झिन्छिन्, ‘उहाँसँग आफूलाई पनि लग्न आग्रह गरेँ। बरु मलाई पैसा चाहिँदैन। तपाईँसँग लग्नुस् मात्र भनेँ।’

छिमेक दिदीले सोफीलाई पत्याइन्। उनले मिस नेपालका प्रतियोगीहरूको मेकअप गर्ने मौका पाइन्। अनि अवसरको नयाँ ढोका खुल्यो। राम्रो काम देखाएर नै सोफीले तीन वर्ष लगातार आधिकारिक मेकअप आर्टिस्ट भएर काम गरिन्।

ख्याति बढ्दै गयो। नाम चलेपछि देशमा मात्र नभई विदेशमा भएका नेपालीले पनि चिन्न थाले। कतिपय साथीभाइले विदेशमा आउने सल्लाह पनि दिए। ‘विदेशमा मेकअप आर्टिस्टको कमाइ राम्रो छ, आऊ यतै काम गर’ भन्थे। बिदेसिन हौस्याउँथे। तर सोफीलाई नेपालमै केही गर्नु थियो। त्यसैले त्यसबारे सोचिनन्।

नेपालका सफल मेकअप आर्टिस्टमा गनिएकी उनको कोरोनाकालमा सोच बदलियो। ‘त्यतिखेर आफू अचकल्टो अवस्थामा भएको महसुस गरेँ,’ उनी भन्छिन्, ‘न राहत माग्न सक्थेँ, न दिन। धन्न त्यतिखेर केही भएन। कोरोना लागेन। हस्पिटल जानुपरेन। अप्ठ्यारो भएको भए उपचार खर्च कहाँबाट ल्याउँथेँ?’

कोराना भाइरसबाट झस्किएकी सोफीमा त्यसपछि विदेश जाने सोच पलायो। घरसल्लाह गरिन्। परिवारका सदस्यले उनको निर्णयमा सहमति जनाएपछि त्यतातिर लागिन्।

१० महिनायता उनी अमेरिकाको न्युयोर्कमा छिन्। नेपालका लोकप्रिय मेकअप आर्टिस्टमा दरिएकी उनी  त्यहाँ आफ्नो सीप, दक्षता देखाइरहेकी छन्। ‘अर्काको देशमा अलि गाह्रो त हुन्छ तर सीप भएपछि हरेक चुनौतीलाई अवसरमा बदल्न सकिँदो रहेछ,’ उनी भन्छिन्, ‘त्यसैले योजना बनाउँदिनँ। जे आउँछ त्यसैमा रमाउँछु।’

सौन्दर्य क्षेत्रमा लामो समय बिताएकी सोफी काम गर्दा आइलागेका हरेक चुनौतीलाई अवसरमा रूपमा लिने गरेको बताउँछिन्। नेपालमा हुँदा म्युजिक भिडियो, टीभी सो र फिल्ममा समेत मेकअप आर्टिस्टका रूपमा काम गरेकी छन्। नेपालका चर्चित सेलिब्रेटीको मेकअप गरिसकेकी छन्। न्युयोर्कमा पनि नेपालीहरूले बनाउने म्युजिक भिडियोलगायत विभिन्न प्रोजेक्टमा उनी जोडिने गरेकी छन्।

यूएनडीपीको ‘सफल महिला’ सिरिजमा अटाएकी सोफी आफ्नो कामबाट खुसी भएको बताउँछिन्। ‘आफ्नो कामबाट सन्तुष्ट छु,’ उनी भन्छिन्, ‘मेकअप गर्नु कामजस्तै लाग्दैन। यो त मेरा लागि ध्यानजस्तै हो। खेलिरहेको जस्तो। खेल्दाखेल्दै पैसा कमाइरहेको जस्तो।’

नेपालको फेसन र मनोरञ्जन उद्योगमा सक्रिय उनी ट्रान्सजेन्डरप्रति नेपाली समाजको दृष्टिकोण पूर्ण रूपमा नबदलिएको बताउँछिन्। ‘सीप र क्षमता अभिवृद्धि गरेर आफ्नो काममा सफल बनेर मात्र समाजको दृष्टिकोण बदल्न सकिन्छ,’ उनी भन्छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 11 =