धनगढीमा फोहरलाई माेहर बनाउने अभियान सुरु, फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा

हिमाल प्रेस ३२ साउन २०८० १९:१३
6
SHARES
धनगढीमा फोहरलाई माेहर बनाउने अभियान सुरु, फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा

धनगढी- कैलालीस्थित धनगढी उपमहानगरपालिकाले फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ। उपमहानगरको वडा नम्बर २ सरस्वती नगरमा निर्माण गरिएको फोहरमैला व्यवस्थापन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको हो।

नगर क्षेत्रबाट संकलन भएको नकुहिने प्लास्टिकजन्य, फलाम, रबर, कागज र शिशाजन्य फोहर संकलन गरेर सुक्ष्म वर्गीकरण केन्द्रमा अलगअलग राखिने उपमहानगरका फोहरमैला परामर्शदाता कृष्ण भण्डारीले बताए। ‘हामीले नगर क्षेत्रबाट संकलन गरेर नकुहिने फोहरमैलामात्रै सुक्ष्म वर्गीकरण केन्द्रमा ल्याउनेछौँ,’ उनले भने, ‘यहाँ वस्तुको प्रकृतिअनुसार अलगअलग छुट्याएर भण्डारण गरिनेछ। नकुहिने फोहर यहाँ ल्याइने छैन।’

धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ देखि ८ सम्मको फोहर संकलन गर्दा स्रोतमै कुहिने र नकुहिने फोहर अलगअलग संकलन गर्ने गरेको छ। कुहिने फोहर संकलन गरेर वडा नम्बर २ मै रहेको वायो ग्यास प्लान्टलाई दिने गरिएको छ।

नकुहिने फोहर सुक्ष्म व्यवस्थापन केन्द्रमा ल्याएर वर्गीकरण गरिनेछ। हाल धनगढीबाट दैनिक ३० टन फोहरमैला संकलन भइरहेको छ। जसमध्ये १२ देखि १५ टन कुहिने फोहर छ भने बाँकी नकुहिने फोहर उपमहानगरले संकलन गर्दै आएको छ।

नकुहिने फोहर संकलनपछि वर्गीकरण गरिने र त्यसपछि फोहर बिक्रीबाट आम्दानी गर्ने योजना रहेको वातावारण अधिकृत अशोक अवस्थीले बताए। ‘हामीले नगर क्षेत्रबाट दैनिक संकलन गरेको नकुहिने मोहरमैला यहाँ ल्याएर वर्गीकरण गर्नेछौँ। वर्गीकरण गरिएको फोहरमैला बिक्रीबाट आम्दानी गर्ने योजना छ,’ उनले भने।

फोहरमैला बिक्रीबाट फोहरमैला व्यावस्थापनको खर्च उठाउने लक्ष्य छ। नगर क्षेत्रबाट संकलन गरिएको नकुहिने फोहर सुक्ष्म व्यवस्थापन केन्द्रमा पुर्‍याएर फोहरको प्रकृतिअनुसार छुट्टाछुट्टै वर्गीकरण गरेर भण्डारण गरिनेछ।

नकुहिने फोहर र कुहिने फोहर अलगअलग राख्ने विषयमा समुदायस्तरमा जानकारी गराइएको छ। फोहरमैलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्दै फोहरलाई मोहरमा रूपान्तरण गर्ने अभियानको सुरुवात भएको उपप्रमुख कन्दकलाकुमारी रानाले बताइन्। ‘धनगढी उपमहानगरपालिकालाई स्वच्छ र स्वस्थ बनाउने अभियानअन्तर्गत आजबाट फोहरमैला वर्गीकरण केन्द्र सञ्चालनमा आएको छ,’ उनले भनिन्, ‘सुक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा आएसँगै फोहरलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनेछ। उपमहानगरले फोहरलाई मोहरमा रूपान्तरण गर्ने अभियान थालेका हो।’

धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ देखि ८ सम्मको फोहरमैला दैनिक तालिका बनाएर संकलन गर्ने गरिएकको छ। उपमहानगरले कुहिने फोहर वायो ग्यास प्लान्टलाई दिने गरेको छ भने नकुहिने फोहर वर्गीकरण गरेर बिक्री गर्ने योजना कार्यान्वयनमा ल्याएको छ।

प्रकाशित: ३२ साउन २०८० १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =