कागबेनीमा बाढीले बगायो १० घर, ३ पुलमा क्षति

हिमाल प्रेस २९ साउन २०८० ६:३२
6
SHARES
कागबेनीमा बाढीले बगायो १० घर, ३ पुलमा क्षति

पोखरा- मुस्ताङको कागबेनीमा आइतबार राति आएको बाढीले कम्तीमा १० घर बगाएको छ । यस्तै काठे र आरसिसी गरी ३ पुल बगेका छन्।

अविरल वर्षाका कारण मुक्तिनाथबाट बहने ठाडोखोलाको शाखा नदी र साङ्ता हुँदै बग्ने ठाडो खोला थुनिँदा बाढी आएको हो। यस्तै, वारागुङ–२ छेङगुर, झोङ र पुटाक गाउँको लेकको खहरेखोलामा बाढी आएको हो।

ती खोलाहरू कागबेनीमा आएर मिसिन्छन्। त्यहाँ मिसिएर बहने कागखोलाको दायाँबायाँ कागबेनी बजार पर्छ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ स्थित कागबेनीमा कच्ची र पक्की गरी कम्तीमा १० घर बगेको गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले जानकारी दिए।

उनका अनुसार काठे पुल तथा आरसिसी गरी ३ वटा पुल पनि बाढीले बगाएको छ। बाढी आएको तत्काल खबरपछि मानिसहरु घर छोडेर सुरक्षित स्थानमा लाग्दा मानवीय क्षति भने हुन पाएन।

उनले रातिको बेलामा उद्धार कार्यमा कठिनाइ भएको बताए। अविरल वर्षासँगै खोला थुनिँदा एक्कासि बाढी आएको आशंका छ । राति ७ बजेतिर आएको बाढी कागबेनी प्रवेश गर्दा साढे ७ बजेको थियो।

प्रमुख जिल्ला अधिकारी अनुप केसीले बाढीले कागबेनी गाउँको तटीय बस्ती जलमग्न भएको बताए। मानिसलाई सुरक्षित स्थानतर्फ सारिसकिएको उनले बताए।

कागबेनीमा ठाडो खोलाले श्राद्धस्थल, धर्मशाला र केही घरहरु जलमग्न भएका छन्। त्यहाँका गुम्बा, स्कुल, प्रहरी चौकीमा बाढी पसेको छ। राति भएकोले यकिन विवरण संकलनमा कठिनाइ भएको प्रजिअ केसीले बताए।

प्रकाशित: २९ साउन २०८० ६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =