युवा संघको अधिवेशनमा कुटाकुट, समानान्तर कमिटी गठन

हिमाल प्रेस २८ साउन २०८० ८:५९
16
SHARES
युवा संघको अधिवेशनमा कुटाकुट, समानान्तर कमिटी गठन युवा संघ कञ्चनपुर अधिवेशनको उद्घाटन समारोह र कुटपिटबाट घाइते भएका भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटा।

धनगढी- नेकपा एमाले निकट युवा संघ कञ्चनपुरमा विवाद उत्कर्षमा पुगेको छ। युवा संघको १० औँ जिल्ला अधिवेशनमा नयाँ कमिटी गठनलाई लिएर विवाद भएको हो। विवादका क्रममा एक जनामाथि कुटपिटसमेत भएको छ। जिल्लाको भीमदत्त नगरपालिका-१८ का वडाध्यक्ष रवीन्द्र देवकोटामाथि कुटपिट भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले राष्ट्रिय युवा संघ नेपालको आन्तरिक किचलोका कारण देवकोटामाथि कुटपिट भएको जानकारी दिए। उनका अनुसार युवा संघको जिल्ला अधिवेशनमा विवाद भएपछि कुटपिट भएको हो।

देवकोटाको टाउकोमा चोट लागेको छ। देवकोटालाई भने धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका लागि लगिएको छ। एसपी थापाले देवकोटाका पक्षबाट ८ जनाविरुद्ध उजुरी आएको र उनीहरुको खोजी सुरु गरिएको बताए। संगठनभित्रको विवादका कारण कुटपिट भएको भनिए पनि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

समानान्तर कमिटी गठन

नेकपा एमाले पोलिटब्युरो सदस्य तथा युवा फाँट इन्चार्ज महेश बस्नेतले घोषणा गरेको युवा संघको नयाँ कमिटीको काउन्टरमा समानान्तर कमिटी गठन गरिएको छ। युवा संघका नेता नवीन चन्दको नेतृत्वमा ५१ सदस्यीय समानान्तर कमिटी गठन गरिएको हो। कमिटीको उपाध्यक्षमा लेखान्त बुढा, सचिवमा यज्ञराज नाथ, सहसचिवमा गंगा राना, सरोज बैज र कोषाध्यक्ष वसन्त बुढा छन्।

यस्तै युथ फोर्सतर्फ प्रमुखमा लेखान्त बुढा, उपप्रमुखमा सुवास कुँवर, सचिवमा नरेश चन्द र सहसचिवमा सुजल खड्का चयन भएका छन्। १० औँ जिल्ला अधिवेशनमा युवा संघको नयाँ कमिटी चयन गर्दा पार्टीले एकलौटी गरेकोले बहुमत सदस्यको भेलाबाट कमिटी बनाइएको युवा संघका केन्दीय सदस्य रोहितजंग कुँवरले बताए।

‘प्रतिनिधि छनोटमा पार्टीले हस्तक्षेप गर्‍यो, आफ्नै लेटर प्याडमा प्रतिनिधि नामावली पठाइयो, अध्यक्ष र निर्वाचन मण्डल गठनमा हाम्रो आग्रह सुनुवाइ भएन,’ उनले भने, ‘त्यसैले बहुमत प्रतिनिधिको छुट्टै भेला राखेर कमिटी बनाएका छौँ।’

यसअघि बस्नेत सहभागी अधिवेशनको बन्दसत्रले दिनेश बिष्टको अध्यक्षतामा ४५ सदस्यीय कमिटी घोषणा गरेको थियो।

कमिटीको उपाध्यक्षमा अशोक सार्की, सचिव वीरेन्द्रबहादुर महरा, सहसचिव नरेन्द्र विष्ट, शिवा बस्नेत र कोषाध्यक्षमा मुकेश सिंह चयन भएका छन्। उनीहरूलाई बस्नेतले शनिबारै शपथ खुवाएका थिए।

बिष्ट नेतृत्वको कमिटी घोषणापछि त्यसको काउन्टरमा चन्दको नेतृत्व युवा संघको अर्को कमिटी गठन गरिएको हो। चन्द नेतृत्वको जिल्ला कमिटीलाई युवा संघ केन्द्रीय लेखा आयोगका सचिव प्रवीण बोगटीले शपथ खुवाएका छन्।

युवा संघका इन्चार्ज महेश बस्नेतले अधिवेशनमार्फत विधिवत् रुपमा कमिटी घोषणा गरेको नेकपा एमाले कञ्चनपुरका उपसचिव कर्णबहादुर चन्दले बताए।

‘युवा संघका इन्चार्ज बस्नेत सहभागी भएर घोषणा गरिएको कमिटी आधिकारिक हो,’ उनले भने, ‘यो कमिटी विधिवत् रुपमा गठन भएको छ, अन्यत्र गएर बनाइएको कमिटी मान्य हुदैन।’ शुक्रबार युवा संघका इन्चार्ज बस्नेतले अधिवेशन उद्घाटन गरेका थिए।

प्रकाशित: २८ साउन २०८० ८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eleven =