चाइना जर्नल

ग्रेटवाल र रञ्जना लिपि

अजय अलौकिक २७ साउन २०८० १८:४१
156
SHARES
ग्रेटवाल र रञ्जना लिपि

ग्रेटवाल चीनको प्रतीक हो। ग्रेटवाल मानव इतिहासमा मानिसले नै बनाएको अहिलेसम्मकै विशाल संरचना हो। विभिन्न कालखण्डमा चिनियाँ सम्राट्हरूले आफ्नो भूभाग रक्षाका लागि यस पर्खालको निर्माण गरेका थिए। सुरक्षा कवचका रूपमा निर्माण गरिएका किल्लाको एउटा शृंखला हो यो। जो चीनको पूर्व पोहाई समुद्रदेखि बेइजिङ हुँदै मध्यपश्चिमसम्म फैलिएको छ। सात हजार किलोमिटरभन्दा लामो यो पर्खालले दुई हजार वर्षभन्दा लामो इतिहास बोकेको छ।

ग्रेटवाल पूर्वको छिङह्वाङ ताउ सहरदेखि कान्सु प्रान्तसम्म फैलिएको छ। बेइजिङमा मात्रै चार-पाँचवटा ठाउँबाट ग्रेटवाल चढ्न सकिन्छ। बेइजिङको पातालिङ ग्रेटवाललाई मुख्य पर्यटकीय गन्तव्य बनाइएको छ। त्यसबाहेक मुथ्येन्यु, चिनसालिङ, समाथाई, चुयोङक्वानजस्ता ठाउँबाट पनि ग्रेटवालमा पाइला टेक्न सकिन्छ।

यस आलेखमा चुयोङक्वान ग्रेटवालको चर्चा गरिएको छ। चुयोङक्वान पातालिङ ग्रेटवाल जाँदा बाटैमा देखिने दुईतिर लामालामा बाहु फैलाएजस्तो देखिने पर्खाल हो। यो पर्खाल बेइजिङको केन्द्र भागबाट लगभग ६० किलोमिटरको दूरीमा अवस्थित छ।

हरेक क्षेत्रका ग्रेटवालको आआफ्नै इतिहास रहेजस्तै चुयोङक्वानको पनि नहुने कुरै भएन। त्यसबाहेक यहाँ नेपाल र नेपालीले गौरव महसुस गर्ने अवसर पनि पाइन्छ।चुयोङक्वान प्राचीन कालदेखि सामरिक दृष्टिले महत्त्वपूर्ण मानिन्थ्यो। यहाँ मानिस ओहोरदोहोर गर्न र घोडालगायत सवारीसाधनका लागि ढोकाको व्यवस्था गरिएको थियो।

पहिलोपटक वसन्त र शरद ऋतु अवधि (ईसा पूर्व ७७०-४७६) र युद्धरत राज्य अवधि (ईसा पूर्व ४७६-२२१) मा यान राज्यद्वारा एक किल्लाका रूपमा निर्माण गरिएको थियो। दक्षिणी र उत्तरी राजवंश (३८६-५८९) मा चीनको ग्रेटवालसँग जोडिएको थियो। मिङ राजवंशकालीन (१३६८-१६४४) का प्रथम सम्राट् चू युआनचाङले उत्तरी सीमालाई मंगोल आक्रमणबाट जोगाउन यो पासको पुनःनिर्माण गर्न आदेश दिएका थिए। यो पास लगभग ४१४२ मिटर लामो परिधिको छ। पर्खालको सबैभन्दा चौडा भाग १६.४५ मिटर र सबैभन्दा साँघुरो भाग १.२ मिटर छ।

पूर्वतिर समुद्र सतहबाट १५० मिटर उचाइको छुइफिङ पहाडमा १५०० मिटर पर्खाल निर्माण गरिएको छ भने पश्चिममा ३५१ मिटर उचाइको चिनक्वी पहाडमा १२०० मिटर लामो पर्खाल छ। यी दुई पहाडमा यो पर्खाल विशाल हातजस्ता देखिन्छन्।

यसरी दुईतिर फैलिएको ग्रेटवालको फेदमा क्लाउड टेरेस (चिनियाँमा युनथाई) भनिने प्लेटफर्म छ। यो प्रस्तर ढुंगा (संगमरमर) बाट निर्माण गरिएको छ। भनिन्छ, पहिले यस प्लेटफर्ममाथि प्यागोडा थिए। तर ती सबै आगोले नष्ट भए। यो संगमरमरको आधारमात्र बाँकी रह्यो।

यो प्लेटफर्म एउटा अर्ध आकारको ढोका पनि हो। ढोका वरपर तथा भित्री भित्ता र सिरानमा बुद्ध र बौद्ध धर्मसम्बन्धी मूर्ति, पशुपक्षी र सूत्र कुँदिएका छन्। युआन वंशकालको एउटा सुन्दर ढुंगा कुँदाइका रूपमा यसलाई लिइन्छ।

त्यो समय यसको आसपास मन्दिर पनि थिए। युआन, मिङ र छिङ वंशकालमा आगजनीजस्ता घटनाका कारण यसको असली स्वरूप कस्तो थियो हाल यकिन गर्न कठिन छ। यद्यपि सन् १९९२ मा यस चुयोङक्वान क्षेत्रका समग्र वास्तु विषयक भवनको मर्मत गरिएको थियो जसले यसको भव्यतालाई पुनःजीवित गरेको थियो।

तत्स्थानमा राखिएको सूचनापाटीअनुसार युआन वंशकालीन यो क्लाउड प्लेटफर्म सन् १३४५ मा निर्माण गरिएको हो। संगमरमरबाट निर्मित यसको उचाइ साढे ९ मिटर छ। उहिले यस क्लाउड प्लेटफर्ममाथि सडक पार गर्ने (दोबाटो) प्यागोडा तथा थाइ आन मन्दिर थियो। अहिले यो क्लाउड प्लेटफर्म अर्थात् प्रवेशद्वारमात्र बाँकी छ।

संगमरमरबाट निर्मित प्रवेशद्वार भित्रका भित्ता र माथिल्लो भागमा बुद्धमूर्ति, बौद्ध धर्मसम्बन्धी चित्रण र सूत्र कुँदिएका छन्। यी भित्तामा नेपाली शैलीका पञ्चबुद्धका मूर्ति छन्।
त्यसैगरी द्वारको बाहिर दुईतिर पशुपक्षी, वज्रमण्डल तथा द्वारको सिरानको मध्यभागमा गरुडको चित्रसमेत बनाइएको छ। यो गरुडको मूर्तिले पनि नेपालीलाई एकपटक नेपाल पुर्‍याउँछ।

यो प्रवेशद्वारको ढाँचा र शैली, त्यहाँका कलाकृति र स्वरूप अरनिकोद्वारा निर्मित बेइजिङको श्वेतचैत्यमा भएका कलाकृतिसँग मिल्दोजुल्दो पनि छ। त्यसकारण अरनिकोले चुयोङक्वान प्रवेशद्वार र प्यागोडाको डिजाइन तयार गरेका हुन् कि भन्ने सम्भावना खोज्ने ठाउँ पनि छ। वा उनका छोरा अथवा शिष्यले बनाएका पनि हुन सक्छन्। किनभने यसको निर्माण अरनिकोको मृत्यु (सन् १३०६) पछि भएको हो। तर यो प्रवेशद्वारको अग्रभागको तोरणले नेपाली परम्परा र शैली बोकेको छ।

यस सम्बन्धमा शताब्दी पुरुष सत्यमोहन जोशी र उनका कृतिलाई साभार गर्न उचित हुने देखिन्छ। चुयोङक्वान ग्रेटवालमा भएको कला र रञ्जना लिपिबारे २०४४ सालमा प्रकाशित सत्यमोहन जोशीको कृति ‘कलाकार अरनिको’ मा तथ्यगत विश्लेषणसहित उल्लेख छ। ‘….(कलाकार अरनिको)… विशाल पर्खाल (ग्रेटवाल) हेर्न जाने बाटोमा पातालिङ डाँडोको फेदीमा ग्रेटवालनेर पुग्न लाग्दा चुयुङक्वानमा देखापर्ने युनथाइ (क्लाउड टेरेस) को प्रवेशद्वार, जुन प्रस्तरद्वारा निर्मित छ, यसको उपल्लो मण्डपमा तीनवटा श्वेतचैत्य पनि थिए’ भन्ने कथन छ। उहिले यस ठाउँको नाम चौबाटोको श्वेतचैत्य रहेको थियो।

‘यसको निर्माण अरनिकोका नाम चलेका चेला ल्यु युआन अथवा छोराहरूले बनाएको हुनुपर्छ। किनभने यो प्रस्तरद्वारको अग्रभागको तोरण हुबहु नेपाली परम्परा र नेपाली शैलीमा बनिएको छ।’ (सत्यमोहन जोशी)

१२४३ मा जन्मेका अरनिको सन् १२६० मा नेपालबाट तिब्बत गएका थिए। सन् १२६४ मा तत्कालीन चिनियाँ सम्राट् कुब्लाई खाँको निमन्त्रणामा राजधानी बेइजिङमा बसेर श्वेतचैत्यको निर्माण गरेका थिए। यसै क्रममा उनले आफ्ना सन्तान र चिनियाँलाई समेत आफ्नो सीप सिकाएका थिए। यो चुयोङक्वाङ ग्रेटवालको प्रवेशद्वार निर्माण अरनिकोको मृत्युको लगभग ४० वर्षपछि सन् १३४५ मा भएको थियो।

यसरी अरनिकोको त्यो स्वर्णकालीन युगपछि पनि नेपाली कलाको यहाँ विस्तारका साथै रुचाइएको देखिन्छ। यहाँ नेपाली कलामात्रै होइन सात सय वर्षदेखि नेपालीको लिपिसमेत रहेको पाइएको छ। माथि नै धेरैपटक चर्चा गरिएको प्रवेशद्वारको भित्री भागका भित्तामा कुँदिएका बौद्ध सूत्र छन्। ती रञ्जना लिपिमा छन्। रञ्जना लिपिसहित छवटा भाषामा बौद्ध सूत्र कुँदिएका छन्।

यो युनथाई अगाडिको सूचनापाटी पढ्ने हो भने यहाँ हान चिनियाँ, तिब्बती, युगुर, मंगोलियाली, ताङ्गुट र संस्कृत भाषामा बौद्ध सूत्र कुँदिएका छन्। तर यो संस्कृत नभई रञ्जना लिपि रहेको जानकारहरू बताउँछन्। संस्कृतका श्लोकलाई रञ्जना लिपिमा कुँदिएका हुन्। यसरी भित्री भागका भित्तामा रञ्जना लिपिमा कुँदिएका बौद्ध सूत्र सिताती पत्रोष्णीय धारणी हो।

विश्व सम्पदा सूचीमा सूचीकृत तथा विश्वप्रसिद्ध मानवनिर्मित चीनको ग्रेटवालमा रञ्जना लिपि पाइनु नेपाल र नेपालीका लागि गर्वको विषय हो। जो नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धमा निकै अर्थपूर्ण रहेको छ। साथै यसले स्पष्ट रूपमा प्राचीनकालदेखि नै नेपाल र चीनबीच सांस्कृतिक सम्बन्ध सुमधुर रहेको दर्शाउँछ।

‘दुई प्राचीन सभ्यताबीचको सांस्कृतिक आदानप्रदानले दुई देशबीच मेलमिलापका साथै समृद्ध भविष्यका लागि दिशानिर्देश गरेको हुन्छ’, गत वर्षको नेपालको संविधान दिवसका अवसरमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै चिनियाँ राष्ट्रपति सी चिनफिङले यसो भनेका हुन्।

चिनियाँ राष्ट्रपति सीका अनुसार पहाड र पानीद्वारा जोडिएको असल छिमेकी मुलुक चीन र नेपाल आपसी सम्मान तथा विश्वास गर्ने साथी, आपसी हितका साझेदारी, आपसमा सिक्ने छिमेकी र सहयोग गर्ने दाजुभाइ हुन्।

सभ्यता आदानप्रदानबाट नै मानव समाज अगाडि बढेको छ। विश्वका सबै मानिसको चाहना शान्ति र समृद्धि भएकाले विश्व मानव समुदायमाथि आइपर्ने चुनौतीको सामना गर्न सभ्यताबीच मेलमिलाप आवश्यक रहेको चीनले दोहोर्याउँदै आएको छ। साथै चीनले समग्र विश्वका लागि वैश्विक सभ्यता पहलको अवधारणा पनि अघि सारेको छ।

यसैबीच अघिल्लो साता नेपाल र चीनबीच स्थापित दौत्य सम्बन्ध ६८ औँ वर्षमा प्रवेश गरेको छ। सन् १९५५ अगस्ट १ तारिख दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको हो। त्यहाँदेखि दुई देशबीचको सम्बन्धले नयाँ आयाम पाएको छ।

दौत्य सम्बन्धले दुई देशको आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक आदानप्रदानको विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। पछिल्लो समय ऐतिहासिक उपलब्धिको रूपमा सन् २०१९ मा भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हो। भम्रणले नेपाल चीन बीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ। यसबाहेक नेपालको चिनियाँ बीआरआईमा संलग्नता र सर्वोच्च शिखर सगरमाथाको दुई पक्षबाट संयुक्त रूपमा उचाइको घोषणा पछिल्ला उपलब्धिहरू हुन्।

दुवै देशले वैज्ञानिक अवधारणाअनुसार संयुक्त रूपमा सन् २०२० डिसम्बर ८ (२०७७ मंसिर २३) सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर घोषणा गरेको थियो। हालै पोखरामा चिनियाँ त्वान ऊ चे पर्वको अवसरमा ड्रागन बोट फेस्टिभल आयोजना भएको थियो। चिनियाँ लगानी र चिनियाँ पर्यटकको आगमनले दुई देश बीचको सांस्कृतिक, आर्थिक क्षेत्रलाई सबल बनाउन मद्दत गर्‍यो।

प्रकाशित: २७ साउन २०८० १८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =