सडक सञ्जाल पुगेसँगै कर्णालीका धेरैजसो गाउँ बिस्तारै सहरसँग जोडिन थालेका छन्। गाउँका उत्पादन सहरबजार पुग्दैछन्। कर्णालीका ‘अर्गानिक’ उत्पादनले सहरियालाई लोभ्याउँदैछन्।
सडक सञ्जालले गाउँलाई मात्र सहर पुर्याएको छैन। सहर पनि गाउँ पसिरहेको छ। सहरिया जीवनशैलीबाट गाउँले पनि आकर्षित भइरहेका छन्। त्यसैले पहिले छिटपुट रूपमा रहेको सौन्दर्य व्यवसाय दिनानुदिन झांगिँदै गएको छ।
पछिल्ला दिनमा सौन्दर्यकला व्यवसाय अपनाउने महिलाको संख्या बढ्दो छ। कर्णालीका गाउँगाउँमा ब्युटिपार्लर आयआर्जनको गतिलो माध्यम बन्न थालेका छन्। यसबाट स्वरोजगार बन्नेहरू पनि थुप्रै छन्।
ब्युटिपार्लर चलाएर आर्थिक रूपमा आत्मनिर्भर हुने महिलामध्ये एक हुन्, अञ्जु महर्जन। कालिकोट मान्ममा उनको ‘रूप ब्युटिपार्लर’ छ। व्यवसाय राम्ररी फस्टाइरहेको उनी बताउँछिन्। भन्छिन्, ‘राम्रो देखिने चाहना सबैको हुन्छ। पछिल्लो समय यहाँका महिलामा पार्लरप्रति आकर्षण बढेको छ।’
पार्लरमा किशोरीदेखि अधबैँसे महिला पुग्ने गरेका छन्। थ्रेडिङ, फेसियल, क्लिन्जिङ, हेयर कटिङ, हेयर कलरिङ र मेकअपका लागि आउनेहरूको संख्या बढ्दै गएको महर्जन बताउँछिन्। महिलामा ‘राम्री बन्ने’ चेत बढ्दै गएपछि कालिकोटमा पनि ब्युटिपार्लर थपिँदै गएका छन्। पार्लरले ब्युटिसियनहरूको घरखर्चको जोहोमात्र गरेको छैन, उनीहरूमा बचत गर्ने बानीको विकास पनि गरेको छ। आर्थिक रूपमा सबल हुन मद्दत गरेको छ।
हुम्ला, सिमकोटमा संगीता तामाङको ‘एप्लिना ब्युटिपार्लर एन्ड कस्मेटिक’ पसल छ। ‘थ्रेडिङदेखि सनब्लक क्रिममा समेत महिलाले चासो दिइरहेका छन्,’ उनी भन्छिन्, ‘किशोरी र महिला सौन्दर्यप्रति सजग हुँदै गएका छन्।
दैनिक २५ सयदेखि तीन हजारसम्म कमाउने तामाङ बताउँछिन्। भन्छिन्, ‘कमाइ राम्रै छ। सौन्दर्यमा मानिसको आकर्षण बढेकाले नै यति कमाइ भइरहेको छ।’
जुम्ला सदरमुकाममा ब्युटिपार्लर चलाइरहेकी निर्मला बुढाले अरूको भन्दा केही फरक अनुभव बटुलेकी छन्। पार्लरकै कारण कैयौँ दम्पतीको सम्बन्ध सुमधुर बनेको उनी बताउँछिन्। भन्छिन्, ‘ब्युटिपार्लर आउन थालेपछि पतिले आफूलाई राम्रो व्यवहार गर्न थालेको कतिपय महिलाले बताउने गर्छन्। यसो हुँदा यो व्यवसाय पतिपत्नीबीच राम्रो सम्बन्ध बनाउने माध्यम पनि बनेको छ।’
सिर्जना केसीले दैलेखमा ब्युटिपार्लर सञ्चालन गरेको १८ वर्ष भयो। अहिले दैलेखबजार क्षेत्रमा मात्रै उनका आठवटा पार्लर छन्। ती सबै पार्लर राम्रोसँगै चलेको उनी बताउँछिन्।
१७ वर्षअगाडि सुर्खेत झरेकी थिइन्, कल्पना थापा। ब्युटिपार्लरसम्बन्धी ६ महिने तालिम लिएपछि अरूको पसलमा केही समय काम गरिन्। पछि बिस्तारै आफ्नै पार्लर खोल्ने आँट पलायो। अनि पार्लर खोलिन्। ‘ब्युटिपार्लर मेरा लागि कमाइ गर्ने राम्रो स्रोत बन्यो,’ उनी भन्छिन्। फेसियल, क्लिन्जिङ, थ्रेडिङ, हेयर कट, कलरिङ, कपाल स्टेट गर्न आउनेहरूको संख्या बाक्लिन थालेको उनी बताउँछिन्।
वीरेन्द्रनगर–४ मा आफ्नै घरमा उनले ६ वर्षयता ब्युटिपार्लर सञ्चालन गर्दै आएकी छन्। दैनिक पाँच–छ हजारजति कमाउने उनी बताउँछिन्। ‘ब्युटिपार्लरबाटै घरखर्च टरेको छ,’ उनी भन्छिन्, ‘छोरीलाई बोर्डिङमा पढाएकी छु। केही रकम बचत पनि गर्छु। काममा रमाएकी छु। सन्तुष्ट छु।’
वीरेन्द्रनगरमा ‘टच एन्ड ग्लो ब्युटिपार्लर’की सञ्चालक हुन्, सुनीता रायमाझी। विगत सात वर्षदेखि उनले पार्लर चलाउँदै आएकी छन्। ‘विवाहको सिजनमा त एक दिनमा २० हजारभन्दा बढी पनि कमाइ हुन्छ,’ उनी भन्छिन्। उनी प्रशिक्षकसमेत हुन्। ब्युटिपार्लरसम्बन्धी प्रशिक्षण दिने गर्छिन्। तालिम लिई दक्षता हासिल गरेर यस क्षेत्रमा प्रवेश गर्नु उचित हुने उनको सुझाव छ। ‘ब्युटिपार्लर महिला स्वरोजगारको गतिलो माध्यम बनेको छ,’ उनी भन्छिन्, ‘सीप र तालिमबाट महिलाहरू आत्मनिर्भर बन्न सक्छन्।’
समाजशास्त्री पीताम्बर ढकाल नयाँ पुस्ताबीच सौन्दर्य कलाको ज्ञान आवश्यक बनेको बताउँछन्। ‘व्यक्तित्व विकासका लागि पहिरनसँगै सौन्दर्य चेत हुन पनि जरुरी छ,’ उनी भन्छन्, ‘त्यसप्रति अहिलेको पुस्ता सचेत छ।’
सौन्दर्यकलाले यस क्षेत्र काम गर्नेहरूलाई आत्मनिर्भर बनाएको छ। ‘सौन्दर्यकलाका प्रयोगकर्ता महिला हुन भने व्यवसायी पनि धेरैजसो महिला छन्,’ समाजशास्त्री ढकाल भन्छन्, ‘यसले महिलालाई आत्मनिर्भर हुन सहयोग गरेको छ। आर्थिक रूपमा सबल बनाएको छ।’