मकवानपुर पहिरो अपडेट : बेपत्ता दुईको शव भेटियो, तीन अझै बेपत्ता

हिमाल प्रेस २४ साउन २०८० १०:४८
6
SHARES
मकवानपुर पहिरो अपडेट : बेपत्ता दुईको शव भेटियो, तीन अझै बेपत्ता

मकवानपुर- मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा पहिरोमा परी बेपत्ता भएकामध्ये आज बिहान थप दुई जनाको शव फेला परेको छ।

मंगलबार बिहान वर्षासँगै आएको बाढी तथा पहिरोले घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरीको शव फेला परेको हो। यससँगै उक्त पहिरामा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ।

सिन्धुली हरिहरपुर गाउँपालिका–१ कोकटीका १७ वर्षीय पासाङ घिसिङको भने मंगलबार साँझ जीवितै उद्धार गरिएको थियो।

उनको करिब सात किलोमिटर तल बागमती खोलाको किनारबाट उद्धार गरिएको हो। घिसिङको खुट्टामा समस्या देखिएको र हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

यस्तै उक्त पहिरोमा परेर तीन जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा मृतक अक्कलबहादुरका ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी र नातिनी डेढ वर्षीया दिव्या पहरी छन्।

प्रहरी र स्थानीयको सहयोगमा बेपत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। पहिरोमा परेकामध्ये अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमायाको भने मंगलबार नै मृत्यु भएको थियो।

प्रकाशित: २४ साउन २०८० १०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =