बुटवलमा शृंगारका सामान किन्नेहरूले सम्झिने नाम हो, सनम कस्मेटिक पसल। हिन्दू महिलाले प्रयोग गर्ने चुरा, पोते, टीकालगायत सिँगारपटारका सामान त्यहाँ पाइन्छन्। तीन दशकअघि सनम खातुनले बुटवल-४ बीपीचोकमा आफ्नो नाममा पसल थापेकी हुन्, ‘सनम कस्मेटिक पसल’। नामकै कारण पसललाई सम्झिने ग्राहक धेरै छन्। तर अचेल ग्राहकले सनमलाई पसलमा देख्दैनन्। दुई वर्षअघि ६४ वर्षको उमेरमा उनको निधन भयो।
पसल छोरा हारिस खातुनले सम्हाल्दै आएका छन्। ‘आमाले सानो छाप्रोबाट पसल सुरु गर्नुभएको हो,’ आमा सम्झिँदै हारिस भन्छन्, ‘अहिले यही पसल हाम्रो सहारा बनेको छ।’
हिन्दू नारीका शृंगारका सबै सामान त्यहाँ पाइन्छन्। आफ्नो धेरै ग्राहक हिन्दू महिला रहेको उनी बताउँछन्। ‘हाम्रा धेरै ग्राहक हिन्दू धर्म मान्ने महिला हुनुहुन्छ,’ हारिस भन्छन्।
बुटवलमा प्रायः कस्मेटिक पसलका सञ्चालक मुस्लिम समुदायका छन्। ‘हिन्दूका लागि मुस्लिमले व्यापार गर्नु झन् राम्रो हो। यो नेपालमा धार्मिक सहिष्णुता छ भन्ने एउटा नमुना हो’, हारिस भन्छन्।
पाल्पा तानसेनबाट बुटवल झरेका खातुन परिवारले कस्मेटिक पसललाई स्वदेशमै केही गर्न चाहनेका लागि राम्रो व्यापार मान्छन्। ‘आमाले यो पसल सञ्चालन नगरेको भए हामी बुटवलमा बसोबास गर्ने हैसियतमा नहुन सक्थ्याैँ?’ हारिस भन्छन्, ‘त्यही व्यापार हाम्रा लागि अहिलेसम्म गरिखाने भाँडो बनेको छ।’
पसल उकास्न आमा र दिदीको ठूलो योगदान रहेको उनी बताउँछन्। ‘अहिले पनि आमा र दिदीलाई खोज्दै ग्राहक आइरहनुहुन्छ,’ उनी भन्छन्, ‘मैले त पसलको ब्रान्ड टिकाउने काममात्र गरिरहेको छु।’ पसलमा हारिस र पत्नी सबनम बस्छन्। अन्य दुई जनालाई पनि रोजगारी दिएका छन्।
हारिसले नेपाली उत्पादित सामान प्रवर्धन गर्दै आएको बताए। केही वर्षअघिसम्म पोते, धागो, गहना र पञ्चधातु भारतबाटै ल्याउनुपर्ने बाध्यता थियो। तर अहिले स्थानीय उद्यमीले तयार पारेका पोते, धागो, गहना, पञ्चधातु र चुरा पसलमा खरिदबिक्री गर्ने गरेको उनको भनाइ छ। ‘पसलमा करिब ४० प्रतिशत सामान नेपालमा उत्पादित छ,’ उनी भन्छन्।
उनका अनुसार पछिल्लो समय भारतबाट सामान ल्याउन कडाइ गरिएकाले स्वदेशी सामानलाई प्राथमिकता दिन थालिएको हो। साउन लागेपछि शृंगार बजारले गति लिने उनको भनाइ छ। तर एक वर्षयता व्यापारमा कटौती भएको उनी सुनाउँछन्।
बुटवलको ट्राफिकचोक, बीपीचोक र अमपरपथ लाइनमा मुस्लिम समुदायले चलाएका कस्मेटिक पसल प्रशस्तै छन्। पसल सञ्चालक मुस्लिम महिला भने निकै कम भेटिन्छन्। त्यसो त पुस्तौँदेखि कस्मेटिक पसल गरिरहेका मुस्लिम पनि छन् यहाँ।
पहिलेदेखि सौन्दर्य सामग्रीका पसलमा मुस्लिम समुदायका मानिस बढी छन्। तर पसलमा मुस्लिम महिलाको सहभागिता कम रहेको नेपाल ब्युटिसियन संघकी केन्द्रीय उपाध्यक्ष विष्णु थापा बताउँछिन्। ‘कस्मेटिकमा पहिलेदेखि मुस्लिम समुदायको वर्चस्व हो,’ उनी भन्छिन्, ‘तर महिला भने पसलमा खासै बस्दैनन्।’
मुस्लिम समुदायका मानिसले हिन्दूहरूले प्रयोग गर्ने सामग्री बेच्दा त्यसले सामाजिक सद्भाव बढाउने नेपाल ब्युटिसियन संघ लुम्बिनी प्रदेश अध्यक्षसमेत रहेकी थापाको भनाइ छ।
०००
शृंगार सामग्रीकै व्यापार गरेर आत्मनिर्भर बनेकी छन्, टीका सुनार। उनी बुटवलमा रहेका ‘चाँद कस्मेटिक’ की सञ्चालक हुन्। दुई वर्ष अर्काको पसलमा काम गरी व्यापारको अनुभव बटुलेर उनी व्यापारमा लागेकी हुन्। ऋणधन गरेर सरिता थापा र अम्बिका सुनारसँग साझेदारीमा ब्युटिपार्लर सञ्चालन गरिन्। त्यसपछि ब्याग हाउस चलाइन्। सात वर्षयता भने सौन्दर्य सामग्रीकी व्यापार गर्दै आएकी छन्।
टीकाले १ लाख २० हजार रुपैयाँ लगानीमा पसल सुरु गरेकी हुन्। अहिले उनले साझेदारी र एकल लगानीमा बुटवल अमरपथ र हाटबजारमा गरी दुईवटा चाँद कस्मेटिक चलाउँदै आएकी छन्। उनी आफू अमरपथस्थित पसलमा बस्छिन्। ‘सुरुताका धेरै संघर्ष गरियो, अहिले व्यापारबाट सन्तुष्ट छु,’ उनी भन्छिन्।
उनको पसलमा चुरा, पोते, धागोलगायत सिँगारपटारका सामान पाइन्छन्। ‘जागिर गर्नुभन्दा व्यापार गर्ने सोचले यो काम सिकेँ,’ उनी भन्छिन्, ‘अहिले यसबाट राम्रो घरव्यवहार चलेको छ।’ पसलमा केही महिलाले रोजगारीसमेत पाएका छन्। ‘अमरपथ र हाटबजारमा गरी ४० लाख जतिको लगानी छ,’ उनी भन्छिन्, ‘मेहनत गर्ने हो भने व्यापारबाट मनग्गे कमाउन सकिन्छ। आत्मनिर्भर हुन सकिन्छ।’
साउन सुरु भएदेखि शृंगारका सामानको बिक्री बढ्ने उनी बताउँछिन्। ‘तीजमा पनि व्यापार बढी हुन्छ,’ उनी भन्छिन्, ‘विवाहजस्ता उत्सवमा पनि शृंगारका सामान बढी जान्छन्।’
टीकाले पनि पछिल्लो समय स्वदेशमै महिलाले उत्पादन गरेका धागो, पोते, टीका आदि शृंगारका सामग्री पसलमा राख्ने गरेकी छन्। ‘लिपस्टिक, क्रिमजस्ता सामान त काठमाडौँबाटै मगाउनुपर्छ,’ उनी भन्छिन्।
खुला सीमाका कारण आफूजस्ता कतिपय व्यापारी मर्कामा परेको उनको भनाइ छ। ‘अहिले सीमामा कडाइ भएको छ, यो राम्रो हो,’ उनी भन्छिन्, ‘तर कतिपय सामान नेपालमा नपाइने भएकाले वैधानिक रूपमा भारतबाट ल्याउन पनि झन्झटिलो छ। यसमा सुधार गर्न आवश्यक छ।’
व्यापारबाट भएको कमाइले उनले ‘लोटस ज्वेलर्स’ सञ्चालन गरेकी छन्। पति पुष्पकर विश्वकर्माले यो पसल चलाउँछन्। पत्नीको कमाइको ठूलो हिस्सा यो पसलमा छ,’ उनी भन्छन्।
बेरोजगारीको कथा सुनाउनेहरू धेरै भेटिन्छन्। बुटवलका यी सौन्दर्य सामग्रीका व्यापारी तिनका लागि उदाहरण हुन्। जो कस्मेटिक पसलबाट आत्मनिर्भर बनेका छन्।