अलराउन्डर दीपेन्द्रसिंह ऐरीको टिमले जित्यो ग्लोबल टी २० क्यानडाको उपाधि

हिमाल प्रेस २२ साउन २०८० ७:४३
52
SHARES
अलराउन्डर दीपेन्द्रसिंह ऐरीको टिमले जित्यो ग्लोबल टी २० क्यानडाको उपाधि

काठमाडौँ- नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टेरियल टाइगर्सले ग्लोबल टी २० क्यानडा क्रिकेट-२०२३ को उपाधि जितेको छ।

नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुअर्सलाई ५ विकेटले हराउँदै मोन्टेरियलले उपाधि जितेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जगुअर्सले २० ओभरमा ५ विकेट गुमाउँदै १३० रन बनाएको थियो। जितका लागि १३१ रनको विजयी लक्ष्य पछ्याएको मोन्टेरियलले निर्धारित २० ओभरमा ५ विकेट नै गुमाएर पूरा गर्‍यो।

मोन्टेरियललाई जितका लागि अन्तिम ६ बलमा १३ रन चाहिएको थियो। आन्द्रे रसेलले अन्तिम ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै जितको सम्भावना बलियो बनाए। अन्तिम बलमा २ रन चाहिएको अवस्थामा रसेलले अर्को छक्का प्रहार गरे।

आन्द्रे रसेल ६ बलमा १ चौका र २ छक्कासहित २० रनमा नट आउट रहे। नेपालका अलराउन्डर दीपेन्द्रले १७ बलमा १ चौकासहित १६ रनमा रिटायर्ट हर्ट आउट हुँदै रसेललाई मौका दिएका थिए।

शेर्फान रदरफोर्ड २९ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा नट आउट रहे। रदरफोर्ड नै खेलको प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज दुबै चुनिए।

जगुअर्सबाट सन्दीप भने फाइनल खेलमा विकेटविहीन रहे। ३ ओभर बलिङ गरेका सन्दीपले २० रन खर्चिए।

जगुअर्सका इफ्तिखर अहमदले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको जगुअर्सले २० ओभरमा ५ विकेट गुमाउँदै १३० रन बनाएको थियो। जगुअर्सका ओपनर जतिन्दर सिंहले ५७ बलमा ३ चौकासहित सर्वाधिक ५६ रन बनाएर नटआउट रहे।

यस्तै, आयन खानले १५ बलमा २ छक्का प्रहार गर्दै २६ रन बनाएका थिए। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

जगुअर्सविरुद्ध मोन्टेरियलका आयन खानले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए। कार्लोस ब्रेथवेट, अब्बास अफ्रिदी र आन्द्रे रसेलले समान १–१ विकेट लिए।

प्रकाशित: २२ साउन २०८० ७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seven =