गोमा तन्डुकार दुई दशकयता सौन्दर्य सामग्री व्यापारमा संलग्न छन्। ४४ वर्षीया उनको काठमाडौँ, बुद्धनगरमा कस्मेटिक पसल छ। चुरापोतेदेखि महिला शृंगारका हरेक सामान पाइन्छन् उनको पसलमा।
२०५८ सालमा तुना चप्पल राखेर व्यापार सुरु गरेकी उनी अहिले सौन्दर्य सामग्री पसलकी साहू भएकी छन्। ‘उतिखेर १२ हजार ऋण गरेर पसल थापेकी हुँ,’ उनी भन्छिन्। अहिले पसलमा लगभग १५ लाख रुपैयाँजतिको सामान छ।
‘त्यो १२ हजारमा तीन बोरा चप्पल आयो,’ उनी सम्झिन्छिन्, ‘एक जोर चप्पलको १५ रुपैयाँ जति पर्थ्यो।’ सुरुमा अलि गाह्रो भयो उनलाई। दिनभरिमा एकदुई जोरमात्र चप्पल बिक्री हुन्थ्यो। बिस्तारै व्यापार बढ्यो। दिनमा १०-२० जोरसम्म चप्पल बिक्री हुन थाल्यो। ‘व्यापार राम्रो हुन थालेपछि सबैभन्दा पहिले ऋण तिरेँ,’ उनी सुनाउँछिन्।
बिहे सानै उमेरमा भएको थियो। रामेछापमा जन्मिएकी उनको कर्मथलो बन्यो काठमाडौँ। घरमा केही काम गर्ने सल्लाह भयो। ‘सुरुमा होटल गर्ने कि भन्ने कुरा भयो तर मलाई भान्साको काम आउँदैनथ्यो,’ उनी भन्छिन्, ‘त्यसैले पसल गर्छु भनेँ।’ एसएलसीसम्म पढेकी गोमा व्यापार सुरु गर्दा २२ वर्षकी थिइन्।
केही वर्ष उनले चप्पलको व्यापार गरिन्। फेन्सी, हात्तीछाप, जाली भएको चप्पल त्यतिबेला चल्तीमा थिए। ‘ती चप्पल हामीले किन्दा १५ देखि २० रुपैयाँ पर्थ्यो,’ उनी सुनाउँछिन्, ‘२५ देखि ३५ रुपैयाँसम्म बेच्ने गर्थेँ। पछि दाम बढ्न थालेपछि ४० रुपैयाँसम्ममा बेचेँ। सबैभन्दा महँगो चप्पल एक सय रुपैयाँमा आउँथ्यो।’
टोलमा अरू पसल थिएन। ‘अहिले पो घर नै घर भए, बाटोसमेत देखिँदैन,’ उनी भन्छिन्, ‘वरिपरि खेतैखेत थिए। घर टाढाटाढा थिए।’ पसलको सामान छिट्टै सकिने उनी सम्झिन्छिन्।
बिस्तारै व्यापार बढाउनुपर्छ भन्ने सोच पलायो। ५० हजार ऋण गरेर पसलमा सामान थपिन्। भित्तामा सामान राख्ने दुईवटा र्याक बनाइन्। त्यसमा केही सौन्दर्य सामग्री राखिन्। ‘३५ हजारको सामान किनेँ,’ उनी भन्छिन्, ‘अहिले दर्जनको ५०-६० पर्ने सादा चुरा मैले ५/६ रुपैयाँमा बेचेकी थिएँ। सामान महँगो थिएन। थोरै पैसामा धेरै सामान आउँथ्यो। तर अहिले सामान महँगो भयो पैसा सस्तो।’
सामान लिन उनी असन, इन्द्रचोक पुग्थिन्। भन्छिन्, ‘अहिले त हरेक सामान कम्पनीले घरमै ल्याइदिन्छ। पैसा भएपछि सबै घरमै आइपुग्छ। पैसाको मुठा पारेर राख्नुपर्छ सबै पसल खोज्दै आउँछन्।’ पसलका लागि चुरापोते लिन अचेल पनि उही मासंगल्ली नै पुग्छिन्।
कोरोना भाइरसको महामारीपछि व्यापार घटेको छ। व्यापार नहुँदा दिक्क लाग्ने उनी बताउँछिन्। ‘अहिले व्यापार नभएको देख्दा छोड्दिऊँ कि भन्ने पनि लाग्छ,’ उनी भन्छिन् ‘व्यापार छैन। यतिका वर्ष चलाएँ। अब बन्द गरिदिऊँ कि भन्ने लाग्छ। एकछिनपछि सोच्छु- व्यापार छोडेर पनि के गर्नु? यो कामबाहेक अरू केही आउँदैन।’
आफ्नै घरमा पसल भएकाले भाडा तिर्नुपर्ने झन्झट छैन उनलाई। ‘यो मेरो आफ्नै घर हो,’ उनी भन्छिन्, ‘सटर भाडा तिर्नुपर्ने भए त पसल पहिले नै बेचिसक्थेँ होला।’
पछिल्लो समय पसल बढी भएकाले पनि व्यापारमा कमी आएको उनी सुनाउँछिन्। भन्छिन्, ‘अहिले सहरमा पसल र मान्छे धेरै छन्। महँगीले गर्दा मान्छेलाई छाक टार्न धौधौ छ। कस्मेटिक कसले किनोस्?’
उहिल्यै पसलमा साउन, तीज, दसैँ, तिहारलगायत चाडपर्वमा घुइँचो हुन्थ्यो। दशैँमा घर जानेले छ/सात हजारको कस्मेटिक सामान किनेर लाने गरेको दुई सन्तानकी आमा गोमा बताउँछिन्। तर अहिले पसल सुनसान छ। एकैपटक ७०/८० हजार रुपैयाँको व्यापार हुने पसलमा अहिले त्यसको एक तिहाइ हुन पनि मुस्किल परेको उनले अनुभव गरिरहेकी छिन्। भन्छिन्, ‘लगानी उठाउन गाह्रो भइसक्यो।’
चाडपर्वमा उनलाई भ्याइनभ्याइ हुन्थ्यो। सामान सकिँदा पसल अरूको जिम्मा लगाएर जान्थिन्। ‘अहिले त भएकै सामान बिक्री हुन मुस्किल छ,’ उनी भन्छिन्, ‘पहिलेजस्तो व्यापार छैन।’