उत्तराखण्डमा पहिरो : एकै परिवारका सात नेपाली बेपत्ता

हिमाल प्रेस १९ साउन २०८० १८:३५
48
SHARES
उत्तराखण्डमा पहिरो : एकै परिवारका सात नेपाली बेपत्ता रुद्रप्रयाग जिल्लाको मन्दाकिनी नदीमा बेपत्ताको खोजीमा खटिएका उद्धारकर्ता। तस्बिर साभार : जागरण

काठमाडौँ- भारतको उत्तराखण्ड राज्यमा पर्ने रुद्रप्रयाग जिल्लामा शुक्रबार गएको पहिरोमा परी एकै परिवारका सात जना नेपाली बेपत्ता भएका छन्। पहिरोमा जुम्लाको पातारासी गाउँपालिकाका वडा नम्बर २ र ३ का १२ जनाभन्दा बढी बेपत्ता भएको खबर आएको गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले टेलिफोनमा बताइन्। उनका अनुसार ३ नम्बर वडाका बोहोरा परिवारका सात जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा पतिपत्नी र उनीहरूका तीन छोरी र दुई छोरा छन्।

रोकायाले २७ वर्षका उम्मिद बोहोरा, उनकी पत्नी अनिता बोहोरा तथा छोरीहरू ११ वर्षीया सलिना बोहोरा, ९ वर्षीया पिंकी बोहोरा, ६ वर्षीया सलिना बोहोरा, चार वर्षीय छोरा जर्तिल बोहारा र १४ महिनाका छोरा वकिल बोहोरा बेपत्ता भएको खबर आएको जानकारी दिइन्। अन्य बेपत्ताको विवरण आउन बाँकी रहेको उनले बताइन्। उनले भनिन्, ‘२५ जना पहिरोमा बेपत्ता भएको खबर आएको छ। १२ जनाको पुष्टि भएको छ।’

बेपत्ता भएका अधिकांश मानिस होटल व्यवसायमा संलग्न रहेको रोकायाले जानकारी दिइन्। अविरल वर्षाका कारण गौरीकुण्ड पोस्ट पुलनजिकैको पहिरोले तीन पसलमा क्षति पुर्‍याएको छ।

भारतीय सञ्चारमाध्मका अनुसार रुद्रप्रयागका प्रहरी उपरीक्षकले बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको जनाएका छन्। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी घटनाबारे जानकारी लिएको बताइएको छ। ‘हिजो राति १३ जना बेपत्ता भएको जानकारी पाएका थियौँ, खोजी कार्य भइरहेको छ आवश्यक सहयोग गरिरहेका छौँ,’ मुख्यमन्त्री धामीले भनेका छन्, ‘बेपत्ता भएकाहरूको आफन्तलाई पनि सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ। उद्धार कार्य गरिरहेका छौँ।’

विपद् व्यवस्थापन अधिकृत दलीपसिंह राजवारले जिल्ला प्रशासनको टोली, विपद् व्यवस्थापन टोली र प्रहरी टोली, राज्य प्रकोप उद्धार बल र राष्ट्रिय प्रकोप उद्धार बललगायत टोली घटनास्थलमा भएको जानकारी दिएका छन्। ‘तर भीषण वर्षाका कारण उद्धार टोलीले पसलभित्र फसेका मानिसहरूलाई खोज्न सकिरहेको छैन,’ उनले भने।

त्यस्तै बेपत्ता हुनेमा केही नेपाली पनि रहेको भारतीय सञ्चारमाध्यम दैनिक जागरणले लेखेको छ। बेपत्ता भएकाहरूको नाम खुले पनि ठेगाना खुल्न नसकेको जागरणले जनाएको छ।

प्रकाशित: १९ साउन २०८० १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =