 
                             
                                            काठमाडौँ- नेपालको विद्युत् व्यापार करिब ९ अर्ब रुपैयाँ घाटामा रहेको छ। नेपाल विद्युत् प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विद्युत् व्यापार घाटामा रहेको खुलेकाे हाे।
यअसघि राजनीतिक दल तथा विद्युत् सम्बद्ध सरकारी अधिकारीहरूले विद्युत् निर्यात गरेर मुलुकको व्यापार घाटा कम गर्ने बताउँदै आएका छन्। तर, बिहीबार आयोजित पत्रकार सम्मेलनमा गराइएको जानकारीअनुसार गत आर्थिक वर्षमात्रै नेपालले विद्युत् व्यापारमा ८ अर्ब ९९ करोड रुपैयाँ घाटा बेहोर्नु परेको छ।
नेपाल विद्युत् प्राधिकरणले बिहीबार गरेको पत्रकार सम्मेलनमा गराइएको जानकारीअनुसार गत आर्थिक वर्ष नेपालबाट १० अर्ब ४५ करोड रुपैयाँको विद्युत् भारत निर्यात गरिएको छ।
साेही वर्ष भारतबाट १९ अर्ब ४४ करोड रुपैयाँ बराबरको विद्युत् नेपाल आयात गरिएको छ। नेपालले बर्खाको समयमात्रै विद्युत् निर्यात गर्न सकेको र हिउँदा महँगोमा खरिद गरेर ल्याउनुपर्ने भएका कारण विद्युत् व्यापारमा भारतसँग घाटा बेहोर्नु परेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
निर्यातमै जोड
नेपालले सन् २०२१ नोभेम्बरमा पहिलोपटक भारतमा विद्युत् निर्यात गरेको थियो। पहिलोपटक ३९ मेगावाट विद्युत् निर्यात गरेको प्राधिकरणले हाल करिब ४५० मेगावाट निर्यात गरिरहेको छ। आन्तरिक बजारमा उद्योगी व्यवसायीले चाहेजति विद्युत् नपाएको गुनासो गरिरहेका बेला प्राधिकरणले निर्यातमै जोड दिइरहेको हो।
भारत निर्यातका लागि थप करिब ६०० मेगावाट विद्युत् बराबरका आयोजना भारतको विद्युत् मन्त्रालयलमा सहमतिका लागि पठाइएकाे छ। विहार र नेपालका विभिन्न स्थानमा जोडिएका १३२ केभी प्रसारण लाइनमार्फत विहारको ग्रीड हुँदै भारतको केन्द्रीय ग्रीड प्रणालीबाट करिब ३०० मेगावाट विद्युत् बिक्रीका लागि पीटीसी इण्डिया, विहार स्टेट पावर कर्पोरेसन र प्राधिकरणबीच त्रिपक्षीय सम्झौता भएको पनि प्राधिकरणले जानकारी दिएको छ।
त्यस्तै भारतको हरियाणा राज्यमा विद्युत् आपूर्ति गर्न भारतीय विद्युत् व्यापार कम्पनी एनभीभीएनसँग ५ वर्षका लागि २०० मेगावाटको मध्यकालीन विद्युत् बिक्री सम्झौता गरिएको पनि प्राधिकरणले जानकारी दिएको छ। त्यसको सहमतिका लागि ऊर्जा मन्त्रालयमा पठाइएको प्राधिकरणकाे भनाइ छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 