अब टनकपुरबाट विद्युत् निर्यात पनि

हिमाल प्रेस ७ फागुन २०७९ १९:१८
10
SHARES
अब टनकपुरबाट विद्युत् निर्यात पनि

काठमाडौँ- नेपालले अब टनकपुरबाट विद्युत् निर्यात पनि गर्न पाउने भएको छ। नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकबाट उक्त निर्णय गरिएको हो। यसअघि टनकपुरबाट नेपालले विद्युत् आयात गर्दै आएको थियो। ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकबाट निर्णय गरिएसँगै निर्यात पनि गर्न पाउने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

बैठकबाट टनकपुर–महेन्द्रनगर १३२ केभी सिंगल सर्किट प्रसारण लाइनबाट अप्रिलबाट जुनसम्म ७० मेगावाट र जुलाइबाट मार्चसम्म ८० मेगावाट विद्युत् दुवैतर्फ प्रवाह गर्ने सहमति भएको घिसिङले बताए। ‘यसबाट सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लास्थित जलविद्युत् आयोजनाको विद्युत् बर्खाको समयमा भारतको केन्द्रीय प्रसारण प्रणालीमा निर्यातका लागि बाटो खुलेको छ’ घिसिङले भने, ‘साथै हाल रहेको प्रसारण लाइनको क्षमता विस्तार गर्ने वा २०० केभीको नयाँ प्रसारण लाइन निर्माण गर्ने भन्नेबारे सम्भावित विकल्पहरू खोज्न संयुक्त प्राविधिक समूहलाई निर्देशन दिइएको छ।’

दुई मुलुकको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले विद्युत् प्रसारण लाइन विस्तार र व्यापार प्रबद्र्धनका लागि अन्य निर्णय पनि गरिएका प्राधिकरणले जानकारी दिएको छ। त्यस्तै नेपालले १३२ केभी तथा त्यसभन्दा कम क्षमताका प्रसारण लाइनमार्फत भारतीय बजारमा विद्युत् निर्यातका लागि प्रस्ताव गरेको थियो।

सो प्रस्ताव अन्तरराज्य प्रणाली कारोबारको भएको र प्रसारण शुल्क, चुहावट आदि विषय रहेकोले केन्द्रीय विद्युत प्राधिकरणले भारतका निकायहरूसँगको समन्वयमा टुङ्गो लगाउने निर्णय गरेको प्राधिकरणको भनाइ छ। त्यस्तै नेपाल र भारतबीच विद्युत् आयात निर्यातका लागि इनरुवा पूर्निया र नयाँ लम्की (दोदोधारा) र बरेली ४०० केभी प्रसारण लाइन क्रमश: सन् २०२७/२८ र २०२८/२९सम्म सम्पन्न गर्ने गरी कार्यान्वयमा लैजाने निर्णय भएको छ।

समितिको बैठक शनिबार राजस्थानमा सम्पन्न भएको थियो। बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालका सचिव दिनेशकुमार घिमिरे, नेपाल दूरसञ्चार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र भारतीय विद्युत् मन्त्रालयका सचिव आलोक कुमारलगायतको सहभागिता थियो।

प्रकाशित: ७ फागुन २०७९ १९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 6 =