सर्वोच्चकै फैसला किर्ते गर्ने शिक्षक परे प्रहरी फन्दामा

हिमाल प्रेस २६ साउन २०८० १७:२७ | Friday, August 11, 2023
सर्वोच्चकै फैसला किर्ते गर्ने शिक्षक परे प्रहरी फन्दामा

काठमाडौँ- सर्वोच्च अदालतकै फैसला किर्ते गरेको अभियोगमा सिन्धुपाल्चोकका एक शिक्षकलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दामा सफाइ पाएपछि शिक्षण पेसामा पुनर्बहाली हुन नपाउने फैसला आएको भए पनि सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ भालुखोपका जीतबहादुर कार्कीले फैसला नै किर्ते गरी पुनर्बहाली गर्नु भन्ने बनाएको खुलेपछि पक्राउ परेका हुन्।

कार्कीलाई प्रहरीले साउन २१ मा पक्राउ गरी लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद लिई अनुसन्धान गरिरहेको छ। कार्की सिन्धुपाल्चोककै एक विद्यालयमा अस्थायी शिक्षक कार्यरत हुँदा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा पक्राउ परेपछि मुद्दा चलेको थियो।

शिक्षक कार्कीविरुद्ध सिन्धुपाल्चोक जिल्ला अदालतमा सिन्धुपाल्चोककै रवीन्द्रकुमार खड्काले कर्तव्य ज्यानको मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्च अदालतबाट २०७२ पुस २२ गते फैसला भएको थियो। मुद्दामा सफाइ पाए पनि सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठमा भने शिक्षक पेसामा पुनर्बहाली नहुने उल्लेख थियो।

‘फैसलाअनुसार उनले सफाइ पाएको देखिन्छ। तर पूर्णपाठमा शिक्षकको रुपमा पुनर्बहाली नहुने भन्ने उल्लेख रहेछ। उनले आफूसँग भएको फैसलाको पूर्णपाठलाई नै किर्ते गरी पुनर्बहाली गर्नू भन्ने थपेको पाइयो’काठमाडौँ प्रहरी प्रवक्ता एसपी कुमोद ढुंगेलले भने।

उनले सर्वोच्चको फैसला नै किर्ते गरेको उजुरी परेपछि प्रहरीले उनले विद्यालयमा बुझाएको फैसलाको पूर्णपाठ र सर्वोच्चको सक्कली पूर्णपाठ दाँज्दा उनले पेस गरेको फैसला किर्ते गरेको खुलेको थियो।

उनले किर्ते गरेको अनुमान गरेकै आधारमा उनी कार्यरत विद्यालयले सर्वोच्च प्रशासनमा जानकारी गराएको थियो। विद्यालयको निवेदनपछि सर्वोच्च प्रशासनले काठमाडौँ प्रहरी परिसरलाई उनलाई पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिएको थियो।

प्रकाशित: २६ साउन २०८० १७:२७ | Friday, August 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast