रत्‍ननगर अस्पतालमा २ लाख बिरामीले लिए सेवा

हिमाल प्रेस १२ साउन २०८० १२:३५
6
SHARES
रत्‍ननगर अस्पतालमा २ लाख बिरामीले लिए सेवा

चितवन– पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा गत आर्थिक वर्ष ०७९/८० मा२ लाख ४ हजार ५ सय बिरामीले सेवा लिएका छन्।

सो अवधिमा १ हजार १ सय ४३ बिारमीको जटिल किसिमको तथा १ हजार ९ सय १३ जनाको सामान्य शल्यक्रिया गरिएको थियो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीका अनुसार सेवा लिएका मध्ये ७६ दशमलव ४ प्रतिशत स्वास्थ्य बीमामार्फत उपचार गराउने छन्। अघिल्लो आर्थिक वर्षमा सो अस्पतालले १ लाख ५२ हजार ४ सय ८४ जनालाई सेवा दिएको थियो। आव ०७७/७८ मा यो संख्या ८५ हजार ४ सय ५३ थियो।

बागमती प्रदेश सरकार मातहत रहेको ५० शय्या स्वीकृत पाएको उक्त अस्पतालमा हाल ९० शय्या सञ्चालनमा छन्।

अस्पतालले बहिरंगतर्फ विभिन्न विभागमार्फत सेवा दिँदै आएको छ। डा. ज्ञवालीका अनुसार अस्पतालले स्त्री तथा प्रसूति, हाडजोर्नी, सर्जरी, छाला, मनोरोग, बालरोग, नाक-कान-घाँटी, दन्त रोगलगायतको सेवा दिँदै आएको छ।

अस्पतालमा गत वर्षदेखि ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’समेत सञ्चालनमा छ। पछिल्लो समय एकाएक बिरामीको आकर्षण बढेको यस अस्पतालबाट पूर्वी चितवनका ४ नगरपालिकाका बासिन्दाले प्रत्यक्षरूपमा लाभ लिएका छन्।

यससँगै छाला, शल्यक्रिया र डायलाइसिसका लागि नवलपरासी, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट बिरामी आउने गरेका छन्।

अस्पतालमा कम जनशक्तिले धेरै बिरामीलाई सेवा दिनुपर्ने बाध्यता छ। हाल अस्पतालमा २५ विशेषज्ञ चिकित्सक, १८ मेडिकल अधिकृत, छ दन्त चिकित्सकसहित २ सय १० स्वास्थ्यकर्मी कार्यरत छन्।

कम जनशक्तिले धेरै सेवा दिएको उल्लेख गर्दै नगरपालिकाबाट पनि सक्दो सहयोग गरेको रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले बताए।

उनका अनुसार पार्किङ व्यवस्थापनका लागि नगर प्रहरी परिचालन गरी नगरपालिकाले सहयोग गर्दै आएको छ। नगरपालिकाले रु ३० लाखको विपन्न सहायता कोष निर्माण गरी अतिविपन्नलाई त्यसैमार्फत उपचार सेवा दिँदै आएको छ।

नगरपालिकाले नगरभित्रका ३ हजार२ सय विपन्न परिवारको स्वास्थ्य बीमा सोही अस्पताललाई पहिलो बिन्दु बनाएर गरेको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =