अपांगता भएका व्यक्तिलाई बर्दघाट नगरपालिकाद्वारा निःशुल्क स्वास्थ्य सेवा

हिमाल प्रेस ७ साउन २०८० ९:४३
अपांगता भएका व्यक्तिलाई बर्दघाट नगरपालिकाद्वारा निःशुल्क स्वास्थ्य सेवा

नवलपरासी– नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) बर्दघाट नगरपालिकाले पालिकाभित्र रहेका अपांगता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ।

निः शुल्क उपचारका लागि नगरपालिकाकाभित्रका २ सामुदायिक अस्पतालमा व्यवस्था मिलाएको मेयर शम्भुलाल श्रेष्ठले जानकारी दिए।

‘अपांगता भएकालाई स्वास्थ्योपचारमा सहज होस् भनेर निः शुल्क उपचारको सुरु गरेका हौं,’ उनले भने, ‘यसबाट उनहरूलाई सहज हुनेछ भन्ने विश्वास लिएको छु।’

नगर मातहतका अस्पतालले दिन भ्याउने सबै सेवा सुविधा निःशुल्क दिइनुका साथै अन्यत्र उपचार गर्न जानुपर्ने एम्बुलेन्स सेवासमेत छुट दिइने स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए।

यो सुविधा ०८० साल साउनदेखि लागू गरिएको उनले बताए। सामुदायिक अपांग सेवा केन्द्रका अध्यक्ष रमेश श्रेष्ठले अपांगता भएकालाई यसले थोरै भए पनि राहत पुर्‍याउने जनाउँदै नगरको निर्णय स्वागतयोग्य छ भने।

विशेषगरी निलो र सेतो परिचयपत्र भएका भत्ता नपाउने अपांगता भएकालाई यसले राहत मिल्ने उनको भनाइ छ।

नगरपालिकाभित्र ७ सय ७९ अपांगता भएका व्यक्तिमध्ये ४ सय ८७ जनाले परिचयपत्र लिएको नगरपालिकाको तथ्यांकमा उल्लेख छ।

सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र

बर्दघाट नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका भएको छ।

जनस्वास्थ्य तथा पोषणमा समेटिएको ८८ सूचकमध्ये ४४ प्राथमिक स्वास्थ्य सेवामध्ये समग्रमा सुरक्षित मातृत्वतर्फ आवश्यक सूचक पूरा भएको तथ्यांकका आधारमा दुवै नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त भएका हुन्।

बर्दघाटमा १६ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र र एक अस्पताल रहेको छ।

बर्दघाट मेयर श्रेष्ठले केही वर्षभित्रमै सबै आधारभूत स्वास्थ्य केन्द्रमा ‘बर्थिङ सेन्टर’को स्थापना र नगरवासीलाई प्रभावकारी स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने बताए।

नगर मातहतका स्वास्थ्य संस्थामा सेवा विस्तार गर्दै लगिने उनले जानकारी समेत दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eight =