ठेक्का लागेको ३ वर्षमा पनि कालोपत्रे भएन लम्की-टीकापुर सडक

हिमाल प्रेस १० साउन २०८० ९:२२
8
SHARES
ठेक्का लागेको ३ वर्षमा पनि कालोपत्रे भएन लम्की-टीकापुर सडक

टीकापुर– पूर्व-पश्चिम राजमार्गबाट १४ किलोमिटरभित्र पर्ने लम्की-टीकापुर सडकखण्ड समयमै निर्माण हुन नसक्दा सर्वसाधारणलाई सास्ती भएको छ।

सम्झौता सकिँदा पनि सडक निर्माणको जिम्मा लिएको कम्पनीले काम अधुरै छाडेको छ। सडक हिलाम्य भएको छ। यात्रुलाई हिँड्दा हैरानी भएको छ।

‘दैनिक हिँड्नुपर्छ। खाल्डाखुल्डी, धुलो र हिलोले सास्ती भएको छ,’ स्थानीय नरेन्द्र चौधरीले भने, ‘सडक बन्ला र आवागमनमा सहज होला भन्दाभन्दै वर्षौँ बित्यो, तर सडक बनेन।’

हुलाकी सडक आयोजना कार्यालयले यसअघि उक्त सडक कालोपत्र गरेको थियो। तर १ वर्षमै भत्कियो। सडक कालोपत्र हुँदा लम्कीबाट टीकापुर पुग्न आधा घण्टा लाग्थ्यो

तर अहिले टीकापुर पुग्न १ घण्टाभन्दा बढी लाग्ने गरेको स्थानीयको गुनाासो छ।

लम्की-टीकापुर-खक्रौरा सडकको काम समयमै सम्पन्न गर्न ३ भागमा विभाजन गरी कामको बाँडफाँड गरिएको थियो। ३ वटा निर्माण कम्पनीलाई कामको जिम्मा लगाइए पनि २ वटाको काम अधुरै छ।

३० किलोमिटर सडकखण्ड निर्माणका लागि ३ भागमा विभाजन गरिए पनि लम्कीबाट जानकी गाउँपालिकाको पथरैयासम्मको काम मात्र सम्पन्न भएको छ।

पथरैयाबाट टीकापुर नगरपालिका-४ अस्नेहरीसम्मको सडक निर्माणको जिम्मा एपेक्स कृष्ण खड्का जेभीले पाएको छ।

अस्नेहरीबाट खक्रौलासम्मको बाँकी सडक निर्माणको जिम्मा रायमाझी गाल्भा जेभीले पाएको छ।

हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीले कालोपत्रका लागि ०७७ जेठमा सम्झौता गरेको हो।

पहिलो खण्डको ८ किलोमिटरको काम ४० करोड १९ लाख ९१ हजारमा कुमार कालिका जेभीले पूरा गरेको हुलाकी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी दीपक सुनारले जानकारी दिए।

उक्त कम्पनीले लम्की क्षेत्रको साढे ३ किलोमिटर ४ लेनको सडक निर्माण सम्पन्न गरेको छ।

‘दुई भागको ३५ प्रतिशत मात्र काम भएको छ,’ उनले भने, ‘एउटा निर्माण कम्पनीले ठेक्काको जिम्मा लिएर अर्कोलाई काम गर्न लागएका कारण काममा ढिलाइ भएको हो।’

दोस्रो खण्डसडक निर्माणको सम्झौता ०७७ जेठमा भएको थियो।

१० किलोमिटर सडक निर्माणका लागि ४० करोड ९९ लाखमा ठेक्का सम्झौता भएको थियो। चालु आर्थिक वर्षको पुससम्म समयावधि रहेको उक्त खण्डको ३५ प्रतिशत मात्र काम भएको छ।

पहिलो चरणको सम्झौताको समयावधि गत वर्ष मंसिरमा सकिएपछि १ वर्ष म्याद थप गरिएको सूचना अधिकारी सुनारले बताए।

तेस्रो खण्डको साढे ११ किलोमिटरको काम हुँदैछ। ३३ करोड २० लाख ६६ हजारमा सम्झौता गरिएको तेस्रो खण्डको पनि ३५ प्रतिशत मात्र काम पूरा भएको छ। सो कार्य आगामी पुससम्म सम्पन्न गर्नुपर्ने समयावधि छ।

सम्झौताको समय सकिन ६ महिनामात्र बाँकी रहेका बेला ६५ प्रतिशत काम अझै बाँकी छ।

सडकको काम समयमै सम्पन्न गर्नका लागि आयोजना कार्यालय र निर्माण कम्पनीलाई ताकेता गर्दै आएको टीकापुर नगरपालिकाका उपप्रमुख खडक शाहले बताए।

सडककै समस्याका कारण टीकापुरले कयौं सम्भावनासमेत गुमाएको उनको गुनासो छ। ‘ताकेता गर्दै आएका छौं। सुनवाइ भएको छैन। टीकापुर आउने व्यक्ति सडकको अवस्था देखेरै फर्कने गरेका छन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =