मापदण्डविपरीत सञ्चालित व्यावसायिक फार्म कारबाहीमा

हिमाल प्रेस ८ साउन २०८० १६:१६
8
SHARES
मापदण्डविपरीत सञ्चालित व्यावसायिक फार्म कारबाहीमा

वीरगञ्ज- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग मातहतकाे पर्सा कार्यालयले आर्थिक वर्ष २०७९/८० मा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने र अनुमति नलिएका ७६ व्यावसायिक फार्ममाथि कारबाही गरेको छ।

आव २०७९/८० मा पाँच सय २७ व्यावसायिक फार्मको अनुगमन गरेकाे कार्यालयले म्याद गुज्रेका सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने, खरिद बिल नकाट्ने र इजाजत नलिएका ७६ व्यावसायिक फार्मलाई कारबाही गरेकाे हाे।

कार्यालयका अनुसार आव २०७९/८० मा पर्साका ४१, बारा र सिरहाका १०-१०, मकवानपुरका पाँच, सर्लाहीका चार, सप्तरी र चितवनका तीनतीन व्यावसायिक फार्ममाथि कारबाही गरिएको छ।

व्यावसायिक फर्ममाथि गरिएको कारबाहीबाट १७ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन भएको छ। अनुगमनका क्रममा विभिन्न व्यावसायिक फर्मबाट म्याद गुज्रेको बियर, रेडबुल, स्प्राइट, कोक, भुजा, चिउरा, मह, दालमोठ, पापड, बेसनलगायत ६४ लाख १८ हजार ९ सय ६७ रुपैयाँ बराबरका सामान नष्ट गरिएको छ।

त्यस्तै सोही आवमा प्राइभेट र साझेदारी फार्म गरी एक हजार तीन सय ४७ व्यावसायिक फार्म दर्ता भएका छन्। सो अवधिमा प्राइभेट फार्म एक हजार तीन सय २३, साझेदारी फार्म २४ दर्ता भएका छन्।

त्यस्तै ११ कम्पनी दर्ता भएका छन्। सो अवधिमा दुई हजार एक सय ३२ प्राइभेट फार्म र ६७ साझेदार फार्मको नवीकरण गरिएको र एक हजार तीन प्राइभेट तथा २१ साझेदार फर्म संशोधन गरिएको छ।

साे अवधिमा तीन सय ३४ प्राइभेट र ११ साझेदार फर्मको दर्ता खारेज गरिएको छ। ती सबै शीर्षकबाट एक करोड १० लाख ६९ हजार दुई सय ४० रुपैयाँ राजस्व संकलन भएको छ। म्याद गुज्रिएको सामान बिक्री गर्ने, खरिद र बिक्री बिल नकाट्ने तथा मूल्यसूची नराख्ने प्रवृत्ति बढेकाले बजार अनुगमनलाई निरन्तता दिइएको कार्यालय प्रमुख सुरेशकुमार रेग्मीले बताए।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले मधेश प्रदेशका आठ र बागमती प्रदेशका मकवानपुर तथा चितवन जिल्लाका व्यावसायिक फार्मको अनुमति दिने, नवीकरण गर्ने र बजार अनुगमन गर्ने काम गर्दै आएको छ। रासस

प्रकाशित: ८ साउन २०८० १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − two =