ललिता निवास प्रकरण : पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

हिमाल प्रेस ५ साउन २०८० २१:३१
12
SHARES
ललिता निवास प्रकरण : पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आज (शुक्रबार) अनुमति दिएको छ।

उक्त प्रकरणमा पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज प्रहरीलाई म्याद दिइएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताए।

‘पक्राउ परेकालाई सरकारी छाप र दस्तखत कीर्ते लिखतसम्बन्धी कसुर र स‌ंगठित अपराध कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्नका लागि पाँचौँ पटक आज पाँच दिन म्याद थप भएको हो,’ उनले भने।

उक्त प्रकरणमा हालसम्म १९ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। उनका अनुसार कलाधर देउजालाई आजै पक्राउ गरी अनुसन्धान थालिएको छ।

यसअघि गत असार ३१ गते पनि अदालतले पाँच दिन म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरी अनियमितता गरेका भन्दै सीआईबीले सरकारी छापा, दस्तखत, कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ।

ललितानिवासको एक सय ४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरज‌ंग कम्पनी थियो। तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ। -रासस

प्रकाशित: ५ साउन २०८० २१:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =