महाकाली सिँचाइ : तेस्रो चरणमा २८ किलोमिटर नहर निर्माण

हिमाल प्रेस २ साउन २०८० १५:५९
10
SHARES
महाकाली सिँचाइ : तेस्रो चरणमा २८ किलोमिटर नहर निर्माण महाकाली सिचाँइ आयाेजना तेस्रो चरणअन्तर्गत मूल नहरको खण्ड।

महेन्द्रनगर- आयोजना सुरु भएको डेढ दशकपछि महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत २८ किलोमिटर मूल नहर निर्माण सकिएको छ। सोमार्फत थप साढे ६ सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ पुर्‍याउन सकिने आयोजनाले जानकारी दिएको छ।

राष्ट्रिय गौरवको आयोजनाको महाकाली नदीमा नेपालतर्फ सिँचाइका लागि पानी उपलब्ध गराउन बनेको मूल नहरको इन्टेक (गेट) परीक्षणदेखि निर्माण भएको मूल नहरमा पानी परीक्षणसमेत भइसकेको आयोजनाले जानकारी दिएको छ।

आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इन्जियिनर शम्भु पण्डितले मूल नहर निर्माण भएको क्षेत्रसम्म पानी परीक्षण गरिएको जानकारी दिए। ‘नेपाल–भारत सीमानाकासम्म महाकाली सन्धिअनुसार भारतले एक हजार दुई सय मिटर मूल नहर बनाएपछि गत वर्ष असारमा पानी परीक्षण समेत गरेको थियो,’ इन्जिनियर पण्डितले भने, ‘हामीले पनि अहिलेसम्म बनेको नहर परीक्षण गरिसकेका छौँ।’

पानी परीक्षणका क्रममा आयोजना कार्यालयले शुक्लाफाँटा नगरपालिकाको सुनबरा नदीसम्म पानी ल्याएको थियो। इन्जिनियर पण्डितका अनुसार हाल निर्माणाधीन २२ वटा शाखा नहरमध्ये दुईवटा शाखा नहर तयार भइसकेका छन्। ‘२० र २१ नं शाखा नहर तयार भएर साढे ६ सय हेक्टरमा सिँचाइ पुर्‍याउन सकिने भएको छ,’ उनले भने, ‘अब महाकाली नदीबाट नियमित पानी ल्याउने विषयमा पहल गर्नेछौँ।’

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा विसं २०६४ देखि सुरु भएको मूल नहर निर्माणको थप काम अगाडि बढाउने प्रक्रिया रहेको आयोजनाले बताएको छ। आयोजनाले कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कूल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिएको छ।

यहाँ २२ वटा शाखा नहर निर्माणका लागि एक अर्ब रुपैयाँ बढीको लागतमा काम भइरहेको छ। त्यस्तै २८ किलोमिटर (शुक्लाफाँटाको फुलेली) देखि ४८ किलोमिटरसम्मको २० किलोमिटर मूल नहर निर्माणको प्रक्रिया सिँचाइ विभागमा पेस गरिएको इन्जिनियर पण्डितले बताए। रासस

प्रकाशित: २ साउन २०८० १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nineteen =