महाकाली सिँचाइ : मुख्य नहरमा पानी आएन, शाखा नहर धमाधम निर्माण

हिमाल प्रेस २५ वैशाख २०८० २१:२३
14
SHARES
महाकाली सिँचाइ : मुख्य नहरमा पानी आएन, शाखा नहर धमाधम निर्माण

महेन्द्रनगर- आयोजना सुरु भएको डेढ दशकपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत २२ किलोमिटर शाखा नहर निर्माण थालिएको छ। राष्ट्रिय गौरवको आयोजनामा रहेको कञ्चनपुरस्थित महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत आगामी असारसम्म कूल २८ किलोमिटर मूल नहर निर्माण सकिँदैछ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-९ ब्रह्मदेव क्षेत्रमा २०६४ सालमा निर्माण सुरु भएको मुल नहरको काम हाल शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म पुगेको छ।

कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको समेत कूल ३३ हजार ५ सय हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले सुरु गरिएको आयोजनाको अहिले १५ किलोमिटर मूल नहर निर्माण ३ प्याजेकमा भइरहेको छ।

तर निर्माणमा आउने प्राविधिक कठिनाइ हल गर्न आयोजनाका कर्मचारीले ढिलासुस्ती गरेकै कारण निर्माणको काम समयमा हुन सकेको छैन। ‘मूल नहरअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा करिब ८ सय मिटर क्षेत्रमा पानीको मूल फुट्ने समस्याले निर्माण ढिलाइ भइरहेको छ,’ महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनियर शम्भू पण्डितले भने।

उनका अनुसार आगामी असारभित्र निर्माणाधीन काम सकिनेछ। २०७५ अघिसम्म मुआब्जा विवाद, रुख कटान अनुमति आउन ढिलाइ, बजेट अभावलगायत समस्याले जेलिएको आयोजनाले महाकाली नदीबाट पाउनुपर्ने पानी अझै पाएको छैन। इञ्जिनियर पण्डितका अनुसार २८ किलोमिटर मूल नहरको क्षेत्रमा अहिले दुई प्याकेजमा ठेक्का सम्झौता गरेर शाखा नहर निर्माण भइरहेको छ।

यहाँ २२ वटा शाखा नहर निर्माणका लागि १ अर्ब बढीको लागतमा काम अघि बढेको छ। ‘१ किलोमिटरदेखि १४ किलोमिटरसम्म पहिलो र १४ देखि २२ किलोमिटरसम्म दोस्रो गरी दुई प्याकेजका शाखा नहर निर्माण हुँदैछन्,’ उनले भने, ‘अब चाँडै नै हामी स्याली नदीसम्म मूल नहरमा पानी ल्याउन सक्ने अवस्थामा पुग्दैछौँ।’

शाखा नहरको पहिलो प्याकेज राजेन्द्र निर्माण सेवा र दोस्रो प्याकेज केएस निर्माण सेवाले काम गरिरहेको उल्लेख गर्दै पण्डितले सो कामको अवधि दुई वर्षको रहेको बताए।

२८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको २० किलोमिटर मूल नहर निर्माणको प्रक्रिया अघि बढाइएको छ। ‘मूल नहर निर्माणको आवश्यक योजना बनाएर सिँचाइ विभाग पठाएको छौँ,’ उनले भने, ‘ठेक्का पूरा हुन आगामी असोजसम्म लाग्न सक्छ।’ रासस

प्रकाशित: २५ वैशाख २०८० २१:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =