मेची भन्सारको राजस्व संकलन लक्ष्यभन्दा कम

हिमाल प्रेस १ साउन २०८० १७:४४
4
SHARES
मेची भन्सारको राजस्व संकलन लक्ष्यभन्दा कम फाइल तस्बिर।

झापा- मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको तुलनामा ६९.४१ प्रतिशत राजस्व संकलन गरेको छ। प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार उक्त आर्थिक वर्षमा १४ अर्ब चार करोड ७५ लाख ३९ हजार रुपैयाँ राजस्व असुली भएको छ।

भन्सार कार्यालयले गत आर्थिक वर्षमा भन्सार संकलनको लक्ष्य २० अर्ब २४ करोड १८ लाख ३३ हजार रुपैयाँ राखेको थियो। पेट्रोलियम पदार्थको आयात कम भएको, सुपारीलगायत तेस्रो मुलुकबाट ठूलो परिमाणमा आउने वस्तुको आयात ठप्प रहेकाले राजस्व संकलनमा असर परेको रेग्मीको भनाइ थियो।

कोरोना महामारीपछिका तीन वर्षमा मेची भन्सार कार्यालयमार्फत हुने राजस्व संकलनमा लगातार कमी आइरहेको उनले बताए। मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा १७ अर्ब ५३ करोड १९ लाख २८ हजार रुपैयाँ र आर्थिक वर्ष २०७७/७८ मा १८ अर्ब ६९ करोड ९२ लाख ६४ हजार राजस्व संकलन गरेको थियो।

आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा तीन अर्ब ४८ करोड ४३ लाख ८९ हजार रुपैयाँ कम राजस्व संकलन भएको छ। पूर्वीनाका काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालयले भुटान र बंगलादेशसहित भारतको पश्चिम बंगाल, सिक्किम र आसामसबाट हुने व्यापारको राजस्व संकलन गर्दै आएको छ। तेस्रो मुलुकसँगको व्यापारसमेत यही नाकाबाट हुँदै आएको छ। रासस

प्रकाशित: १ साउन २०८० १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =