माओवादी मन्त्री फिर्ता बोलाएर जनमतलाई सरकारमा सहभागी गराउँदै प्रचण्ड

हिमाल प्रेस २८ असार २०८० १३:१८
60
SHARES
माओवादी मन्त्री फिर्ता बोलाएर जनमतलाई सरकारमा सहभागी गराउँदै प्रचण्ड

काठमाडौँ- पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् फेरि विस्तार हुँदैछ। जनमत पार्टी सरकारमा सहभागी हुन लागेको हो। केही दिनअघि जनमत अध्यक्ष सीके राउत र प्रधानमन्त्री प्रचण्डबीच सरकारमा सहभागिताबारे छलफल भएको थियो।

त्यसै क्रममा राउतले पार्टीबाट मन्त्री हुनेको नाम  प्रधानमन्त्रीलाई बुझाएका थिए। जनमत निकट स्रोतका अनुसार अनितादेवी साहलाई मन्त्री बनाउने तयारी छ। यसपटक महिलालाई प्राथमिकता दिएर साहको नाम बुझाएको जनमतका केन्द्रीय सदस्य बीपी साहले बताए।  यसअघि जनमत सरकारमा सहभागी हुँदा अब्दुल खान खानेपानीमन्त्री बनेका थिए।

आफूले मागेको कृषि वा उद्योग मन्त्रालय नपाएपछि असन्तुष्ट बन्दै जनमत सरकारबाट बाहिरिएको थियो। अहिले रोजेकै मन्त्रालय दिने आश्वासन पाएपछि जनमत सरकारमा सहभागी हुन तयार भएको हो। ‘हामीले उद्योग वा कृषि मन्त्रालयमा दाबी गरेका छौँ। कुन दिने प्रधानमन्त्रीको हातमा छ,’ साहले भने।

प्रचण्ड पारिवारिक शोकमा परेकाले सरकार विस्तारमा केही ढिलाइ हुन सक्छ। यस्तै प्रचण्डले असार मसान्तसम्म राजनीतिक कार्यक्रम नगर्ने उनको सचिवालयले जनाएको छ। जनमत भने प्रधानमन्त्रीले सहभागी गराएपछि सरकारमा जाने तयारीमा छ।

 ‘हामी प्रधानमन्त्रीले डाकेपछि सरकारमा सामेल हुन्छौँ। कुन दिन हुन्छ टुंगो छैन। अन्य कुरामा सहमति भइसकेको छ’, जनमतका महासचिव चन्दन सिंहले भने। कुन मन्त्रालयमा दाबी छ भन्ने विषयमा महासचिव सिंहले त्यसबारे अध्यक्ष नै जानकार रहेको बताए।

अहिलेको अवस्थमा जनमतले मागेको मन्त्रालय दिन प्रचण्डलाई सजिलो छैन। जनमतले मागेको कृषि मन्त्रालय एकीकृत समाजवादीसँग छ भने उद्योग मन्त्रालय कांग्रेसको हातमा छ। त्यसैले प्रधानमन्त्री प्रचण्डले जनमतलाई सरकारमा सहभागी गराउन माओवादीकै मन्त्री फिर्ता बोलाउनुपर्ने हुन सक्छ।

माओवादीसँग गृह, सञ्चार, पर्यटन र सामान्य प्रशासन मन्त्रालय छ। गृह र सञ्चारबाहेक अन्य मन्त्री मात्र फेर्ने तयारीमा प्रचण्ड रहेको नेताहरू बताउँछन्।

‘गृहमन्त्री (नारायणकाजी श्रेष्ठ) फेर्न सकिने अवस्था छैन। सञ्चारमन्त्री (रेखा शर्मा) प्रवक्ता पनि हो। अरू पार्टीलाई दिन सकिने अवस्था छैन।’

माओवादीका एक नेताले भने, ‘अन्य मन्त्रालय भने फेर्न सकिन्छ।’ यस्तै माओवादीबाट संघीय मामिला मन्त्रालयमा अमनलाल मोदी र संस्कृति मन्त्रालयमा सुदन किराँती छन्।

प्रकाशित: २८ असार २०८० १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =