६३ वर्षमा ४० हेलिकप्टर दुर्घटना, ९२ जनाको मृत्यु, ११ बेपत्ता

मस्त केसी २६ असार २०८० १९:०७
84
SHARES
६३ वर्षमा ४० हेलिकप्टर दुर्घटना, ९२ जनाको मृत्यु, ११ बेपत्ता सोलुखुम्बुको लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर। तस्बिर स्रोत : नेपाल प्रहरी

नेपालमा हेलिकप्टर सेवा सुरु भएको ६३ वर्ष भयो। यसबीचमा ४० वटा दुर्घटना भएका छन् भने एक सय हाराहारीले ज्यान गुमाएका छन्।

सोलुखुम्बुको लामजुरा क्षेत्रमा मंगलबार बिहान भएको हेलिकप्टर दुर्घटनामा ६ जनाले ज्यान गुमाए। दुई महिनाअघि मात्रै संखुवासभामा अर्को हेलिकप्टर दुर्घटना भएको थियो। २०२३ मे ५ मा संखुवासभाको भोटेखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो।

नेपालमा हवाई दुर्घटना ‘नियति’जस्तै बन्न पुगेको छ। सन् १९६० मा हेलिकप्टर सेवाको सुरुवात भएको थियो। सन् ०६० मा अमेरिकामा बनेको बेल हेलिकप्टर पहिलो पटक नेपाल भित्रिएको थियो। त्यसपछि रसियामा बनेका मि-४ मोडलका दुई हेलिकप्टर नेपाल भित्रिएका थिए।

२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना  भएपछि चाहिँ निजी क्षेत्रका हेलिकप्टर कम्पनी खुल्न थाले। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को तथ्यांकअनुसार सन् १९७९ डिसेम्बर २७ मा नेपालमा पहिलो हेलिकप्टर दुर्घटना भएको थियो। लाङटाङ क्षेत्रमा भएको अति विशिष्ट उडानको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको तथ्यांक छ।

सन् १९९३ अप्रिल २७ मा पुनः लाङटाङ क्षेत्रमै अर्को हेलिकप्टर दुर्घटना भयो। यो हिमालयन हेलिकप्टरको दुर्घटना थियो। यसको तीन वर्षपछि सन् १९९६ जनवरी २४ मा सोलुखुम्बुको सोताङमा तेस्रो हेलिकप्टर दुर्घटना भयो। यी दुई दुर्घटनामा भने मानवीय क्षति भएन।

क्यानका अनुसार सन् १९९७ सेप्टेम्बर ३० मा खुम्बु क्षेत्रमा कर्णाली एयरको हेलिकप्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो। यसको तीन महिनापछि १९९७ डिसेम्बर १३ मा कालिकोटमा गोर्खा एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा पर्‍यो। १९९८ जनवरी ४ मा दिपायलमा अर्को हेलिकप्टर दुर्घटनामा परेको थियो।

१९९८ अक्टुबर २४ मा ओखलढुंगाको मूलखर्कमा भएको एसियन एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको क्यानको तथ्यांकमा उल्लेख छ।  १९९९ अप्रिल ३० मा सिन्धुपाल्चोकको लिसंखुमा कर्णाली एयरको हेलिकप्टर दुर्घटना भयो। ठीक एक महिनापछि मे ३१ मा रामेछापमा मनकामना एयरवेजको हेलिकप्टर दुर्घटनामा पर्‍यो।

२००१ सेप्टेम्बर ११ मा एयर आन्याको हेलिकप्टर हुम्लाको मिमी गाउँमा दुर्घटनामा परेको थियो। क्यानका अनुसार यसको दुई महिनापछि नोभेम्बर १२ मा फिस्टेल एयरको हेलिकप्टर मुगुको रारा ताल क्षेत्रमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका थिए।

सन् २००२ को मेमा मकालु आधार शिविरमा कर्णाली एयरको हेलिकप्टर दुर्घटनामा पर्‍यो। यसको चार महिनापछिको अर्को दुर्घटनामा ११ जनाको ज्यान गयो। २००२ सेप्टेम्बर ३० मा सोलुखुम्बुमा एसियन एयरको एमआई-१७ हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो।

२००२ देखि हालसम्म मकालु आधार शिविरमा भएका हेलिकप्टर दुर्घटनामा चार जना ‘क्रु मेम्बर’ र सात जना यात्रु गरी ११ जना हराइरहेका छन्। सन् २००३ मे २८ मा सगरमाथा आधार शिविरमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको क्यानको तथ्यांकमा उल्लेख छ।

संखुवासभाको भोटेखोलामा दुर्घटना भएको सिम्रिक एयरको हेलिकप्टर। तस्बिर स्रोतः वाङ छेदर लामाको फेसबुक।

२००५ को जनवरी ४ मा रामेछापको ठोसेमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भयो। दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो। २००५ कै जुन २ मा श्री एयरलाइन्सको हेलिकप्टर सगरमाथा आधार शिविरमा दुर्घटनामा पर्‍यो। यसको एक वर्षपछि २००६ मे ७ मा धौलागिरि आधार शिविरमा हेलिहन्सा सर्भिसको हेलिकप्टर दुर्घटनामा परेको थियो।

२००६ अगस्ट ८ मा कर्णाली एयरको हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटनामा परेको थियो। एक महिनाभित्रै सेप्टेम्बर ३ मा एयर डाइनेस्टीको हेलिकप्टर धौलागिरि आधार शिविरमा दुर्घटना भयो। दुवै दुर्घटनामा मानवीय क्षति भएन।

२००६ सेप्टेम्बर २३ मा ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा २४ जनाले ज्यान गुमाए। एमआई-१७ मोडलको उक्त हेलिकप्टर श्री एयरलाइन्सको थियो। २००६ नोभेम्बर २३ मा जुम्लाको रारालिहीमा सिम्रिक एयरको र २००८ जुन २९ मा अन्नपूर्ण आधार शिविरमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा परेका थिए। यी दुई दुर्घटनामा मानवीय क्षति भने भएन।

२०१० नोभेम्बर ७ मा फिस्टेल एयरकै हेलिकप्टर दुर्घटनामा पर्‍यो। आमादब्लम हिमाल क्षेत्रमा भएको उक्त दुर्घटनामा दुई जनाको ज्यान गएको थियो। २०११ नोभेम्बर २९ मा सोलुखुम्बुमा फिस्टेल एयरको अर्को हेलिकप्टर दुर्घटना पर्‍यो। २०१३ जुन १९ मा फिस्टेलकै हेलिकप्टर हुम्लाको सिमिकोटमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको क्यानले जनाएको छ।

फिस्टेलकै हेलिकप्टर २०१४ अगस्ट ३ मा सिन्धुपाल्चोकमा दुर्घटना हुँदा अर्का एक जनाको ज्यान गयो। एक वर्ष नपुग्दै सिन्धुपाल्चोकको यमुनाडाँडामा माउन्टेन एयरको हेलिकप्टर दुर्घटनामा पर्‍यो। २०१५ जुन २ मा भएको उक्त दुर्घटनामा चार जनाको ज्यान गएको तथ्यांक छ।

ठीक २० दिनपछि गोरखाको साम्दो क्षेत्रमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा पर्‍यो। २०१६ मार्च १७ मा लाङटाङ क्षेत्रमा पुनः फिस्टेल एयरको हेलिकप्टर दुर्घटना भयो। दुवै दुर्घटनामा मानवीय क्षति भएन।

यसको पाँच महिनापछि २०१६ अगस्ट ८ मा भएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा सात जनाको मृत्यु भयो। यो दुर्घटनामा नुवाकोटको बेतिनीमा भएको थियो। सन् २०१८ मा तीन हेलिकप्टर दुर्घटना भएका थिए। जुन ३० मा ग्रान्डी अस्पतालको छतमा अवतरण गर्ने बेला सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परे पनि मानवीय क्षति भएन।

अगस्ट १४ मा हुम्लाको हिल्सा क्षेत्रमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा पर्‍यो। उक्त दुर्घटनामा एक जनाको ज्यान गयो। ०१८ कै सेप्टेम्बर ८ मा धादिङमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाए।

२०१८ फेब्रुअरी २७ मा एयर डाइनेस्टीकै हेलिकप्टर दुर्घटना भयो। ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको दुर्घटनामा सात जनाको ज्यान गएको थियो। उक्त घटनामा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीको समेत मृत्यु भएको थियो। २०१९ को अप्रिल १४ मा मनाङ एयरको हेलिकप्टर लुक्ला एयरपोर्टमा दुर्घटनामा परेको थियो।

२०२० नोभेम्बर २९ मा नुवाकोटको ककनीमा सामान्य दुर्घटनामा पर्‍यो। हेलिकप्टरमा चरा ठोक्किँदा सिसामा पूर्ण क्षति पुगेको थियो भने सवार सबै सकुशल रहे।

प्रकाशित: २६ असार २०८० १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =