अप्ठ्यारोमा आँचल

हिमाल प्रेस २४ असार २०८० १६:१३
96
SHARES
अप्ठ्यारोमा आँचल

काठमाडौँ- अभिनेत्री आँचल शर्मा हिजोआज चर्चामा छिन्। फिल्म, म्युजिक भिडियोको छायांकन वा प्रमोसनका लागि होइन उनी आफ्नो बोलीका कारण विवादमा तानिएकी हुन्। जबकि उनी बोल्न सिपालु अभिनेत्रीमा गनिन्छिन्। तैपनि बेलाबेला बोल्दा चिप्लिन्छिन्। अनि बोलीकै कारण विवादमा पर्ने गर्छिन्। यसपटक पनि त्यही भएको छ। बोलीले नै उनलाई विवादमा तानेको छ।

‘आईईसी डिजाइनर्स रनवे’ मा निर्णायक बनेकी उनले एक प्रतियोगी युवकको दुब्लो शरीरबारे गरेको टिप्पणीको भिडियो बाहिरिएपछि आँचलको आलोचना हुन थालेको हो। प्रायः अन्तर्वार्तामा शरीरबारे सकारात्मक टिप्पणी गर्ने उनले कसरी कसैको शरीरमाथि नकारात्मक टिप्पणी गर्न सक्छिन् भनेर सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि खनिएका हुन्।

त्यतिमात्र नभई उनले अभिनेता दयाहाङ राईलाई मन पराउनेहरू अशिक्षित र मूर्ख हुन् भन्दै अन्तर्वार्ता दिएको भनेर उनीमाथि चौतर्फी अनलाइन आक्रमण पनि भएको छ। ‘एनईबी रिजल्ट एन्ड अपडेट’ फेसबुकमा पोस्ट भएको सो कुरा सेयर गरेकी छन्। आफूले गर्दै नगरेको कुराका लागि सामाजिक सञ्जालमा गाली खाइरहेको बताएकी छन्।

उनले स्ट्याटस लेखेकी छन्, ‘गर्दै नगरेको र भन्दै नभनेको कुरालाई लिएर दुईतीन दिनदेखि मैले सामाजिक सञ्जालमा गाली खाइरहेको छु। यस्ता कुरामा धेरै रियाक्ट नगरुँ भन्दाभन्दै पनि अबचाहिँ सहनै नसक्ने भएको छु। जजसले जसको उक्साहटमा यो सब गरिरहनुभएको छ, तपाईंहरूको समय सकियो। म कानुनी कारबाहीको बाटोमा जान बाध्य भएकी छु। मलाई यातना दिएर सामाजिक सञ्जालमा मानसिक स्वास्थ्यको भाषण दिन कृपया बन्द गर्नुस्।’

उनको बचावमा अभिनेता दयाहाङ राई पनि उत्रिएका छन्। उनले पनि फेसबुकमा सो पोस्ट सेयर गर्दै स्ट्याटस लेखेका छन्, ‘अभिनेत्री आँचल शर्माले ‘दयाहाङ राईलाई त्यसले मात्र मन पराउँछ जो अशिक्षित र मूर्ख छ’ भन्दै अन्तर्वार्ता दिएको भन्दै सामाजिक सञ्जालमा राखिएको पोस्टमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आँचलले अहिलेसम्म मेरो बारेमा कतै पनि त्यस्तो बोलेको मैले सुनेको छैन। एउटा कलाकारले गर्दै नगरेको कुरा गर्यो भन्नु र बुझ्दै नबुझी गाली गर्नु दुवै चेतनशील मान्छेले गर्ने कर्म होइनन्।’

सत्यतथ्य नबुझी आँचल वा जोसुकै कलाकारलाई पनि गालीगलौज नगर्न र त्यस्ता भ्रमपूर्ण सामग्री प्रसार गर्न नहुने दयाहाङले लेखका छन्। सामाजिक सञ्जालमा आफूलाई गालीगलौज गर्नेविरुद्ध आँचलले साइबर ब्युरोमा उजुरी दिइसकेकी छन्। उनले दुइटा फेसबुक पेजविरुद्ध उजुरी हालेकी छन्। निवेदनमा ‘मेरो अनुमतिबिना मेरो फोटोसहित मेरो चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानुनबमोजिम हदैसम्मको कारबाही गरिपाउँ’ भनेर लेखिएको छ।

सार्वजनिक व्यक्तित्व भएकाले आफूले खाँदै नखाएको विष आइलागेको आँचलको भनाइ छ। सञ्चारमाध्यमसँग कुराकानी गर्दा उनले आफूलाई ‘टार्गेट’ गरिएको बताएकी छन्। ‘मिडियामा मबारे कहिले पनि राम्रो खबर आउँदैन,’ उनले भनेकी छन्, ‘जहिल्यै पनि टार्गेट नै गरिन्थ्यो। अहिले पनि त्यही भयो। मेरो कुरै नसुनी दर्शकले पनि टार्गेट गर्नुभयो।’

फेसन शोमा भाग लिएका ती युवकमाथि आफूले व्यक्तिगत रूपमा टिप्पणी नगरेको उनको भनाइ छ। आफ्ना निजी कुरा भइरहँदा सन्दर्भवश कुरा निस्किएको आँचलले बताएकी छन्। ‘त्यहाँ त मेरो आफ्नो निजी कुरा भइरहेको थियो,’ उनले भनेकी छन्, ‘क्लिप काटेर उहाँलाई भनेको हो भनेर मात्र राख्दा दर्शकले पनि नकारात्मक सोच्नुभयो।’
‘बडी सेमिङ’ युवकको नभई आफ्नो भइरहेको अभिनेत्रीले बताएकी छन्। ‘मेरो नाकबारे चर्चा हुँदा खोइ त कसैले बोलेको?’ उनले प्रश्न गरेकी छन्, ‘म मोटाउँदा वा दुब्लो भएका समाचार आउँदा त कसैलाई मतलब भएन! बडी सेमिङ त ममाथि भइरहेको छ। मलाई बुलिङ गरिएको छ।’

चौतर्फी अनलाइन आक्रमण गरेर आफूलाई यातना दिइएको उनको भनाइ छ। ‘वास्तविक पीडित म हुँ,’ उनले भनेकी छन्, ‘मैले भोलि आत्महत्या गरेँ भने ‘रिप’ लेख्ने अनि बुझ्ने मलाई?’

विवाद बढ्न थालेपछि ‘एनईबी रिजल्ट एन्ड अपडेट’ पेजले स्पष्टीकरण दिएको राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर नामको फेसबुक पेजमा सेयर गरिएको थियो।
एनईबी रिजल्ट एन्ड अपडेटका एक सदस्यले गलत स्रोतबाट सूचना प्राप्त गरी पोस्ट गरेको त्यसमा उल्लेख गरिएको छ।

लेखिएको छ, ‘पोस्ट गलत रहेछ। हामीले त्यो पोस्ट डिलिट गरिसकेका छौँ।’ साथै पोस्ट गर्ने सदस्यलाई पेजबाट हटाइएको र अबदेखि यस्तो गतिविधि नहुने पेजले लेखेको छ।

 

प्रकाशित: २४ असार २०८० १६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 3 =