कक्षा १२ सक्नेबित्तिकै अधिकांश विद्यार्थी विदेश जान्छन्, स्नातक भर्ना भएकामध्ये करिब ३० प्रतिशत पनि बीचमै उड्छन्।
रूपन्देही तिलोत्तमा-१७ गंगोलियाका १९ वर्षीय अपिल बस्यालले २०७८ सालमा ३.९ जीपीए ल्याएर एसईई उतीर्ण गरे। चार जीपीए नजिकको अंक ल्याएर उतीर्ण भएका उनी भलबारीस्थित सेन्ट जोसेफमा व्यवस्थापन संकायमा भर्ना भए।
कक्षा ११ को नतिजा पनि राम्रो अंकका साथ उतीर्ण गरे। तर कक्षा १२ को परीक्षाको नतिजा आउनासाथ उच्च शिक्षाका लागि अस्ट्रेलिया जाने तयारीमा छन्।
आईईएलटीएस अध्ययन गरिरहेका अपिल स्नातक नेपालमै पढ्दा भविष्य नबन्ने निष्कर्षसाथ अस्ट्रेलिया जाने तयारीमा लागेका हुन्। ‘नेपालमा पढेर क्षमताअनुसार काम पाइँदैन,’ उनी भन्छन्, ‘यहाँ स्नातक पढेर चार वर्ष बिताउनुभन्दा राम्रोसँग पढ्न अस्ट्रेलिया जान लागेको हुँ।’ परिवारको सरसल्लाहमै उनी अस्ट्रेलिया जाने तयारीमा लागेका हुन्। अपिलका बुबा पशुपति बस्याल लामो समयदेखि अटो व्यवसायमा सक्रिय छन्।
नेपालमा शिक्षामा गरेको लगानीअनुसार रोजगारी पाउने सम्भावना न्यून भएकाले उच्चशिक्षा अध्ययनका लागि छोरालाई अस्ट्रेलिया पठाउन लागेको उनी बताउँछन। ‘पढाइ राम्रो छ, तर स्नातकपछि फेरि के गर्ने भन्ने प्रश्न उठ्छ,’ बस्याल भन्छन्, ‘त्यसैले छोराको चाहनाअनुसार अस्ट्रेलिया पठाउन लागेको हुँ।’
पर्वत विहादी–३ थुम्का (हाल बुटवल) का ३९ वर्षीय अमृत पराजुली कोरिया उड्ने अन्तिम तयारीमा छन्। वैदेशिक रोजगारीका लागि उनी सन् २०११ देखि २०१९ सम्म दुबईमा थिए। ‘स्वदेशमै केही गर्छु’ भनेर फर्केका उनी फेरि बिदेसिने तयारीमा छन्। ‘स्वदेशमा बस्न चार वर्षसम्म अनेक संघर्ष गरेँ,’ उनी भन्छन्, ‘काठमाडौँमा होटल खोलेँ। तर कोरोनाले लेखट्यो। पर्वत फर्केर बाख्रा भैसीको कारोबार गरेँ। त्यहाँ पनि टिक्न सकिनँ। बुटवल झरेर पसल खोल्ने सोच बनाएँ। त्यो पनि गर्न सकिनँ।’
कुनै उपाय नलागेपछि पराजुलीले कोरियन भाषा परीक्षा उत्तीर्ण गरे। फेरि विदेश जाने तयारी गरे। सोमबार बिहान कोरियाका लागि उनको उडान छ। ‘देशमै रहर त छ तर रोजगारीकै कारण बिदेसिनु परेको छ,’ उनी भन्छन्।
भविष्यको खोजीमा उच्च शिक्षा अध्ययन र रोजगारीका लागि बिदेसिने युवाको संख्या दिनानुदिन बढ्दैछ। बुटवल, भैरहवा, दाङ र नेपालगन्जका कन्सल्ट्यान्सीमा आईईएलटीएस पढ्नेको घुइँचो लाग्न थालेको छ। कक्षा १२ सक्नेबित्तिकै कोही पनि देशमा बस्न चाहँदैनन्। जसले गर्दा स्नातक पढाउने कलेज रित्तिन थालेका छन्। उदाहरण- लुम्बिनी प्रदेशकै अग्रणी बुटवल बहुमुखी क्याम्पसमा स्नातक तहमा विद्यार्थी भर्ना दर क्रमशः ओरालो लागेको छ।
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमध्ये पुरानो र ठूलो क्याम्पसमा गत वर्ष स्नातक तह प्रथम वर्षमा ३ हजार ५ सय विद्यार्थी भर्ना भएकोमा यो वर्ष एक हजार विद्यार्थी कम भएका छन्। ‘गत वर्ष ३५ सय विद्यार्थी स्नातक प्रथम वर्षमा भर्ना भएका थिए,’ बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. खुमानन्द न्यौपाने भन्छन्, ‘यो वर्ष भर्नादर २५ सयको हाराहारीमा खुम्चिएको छ।’
उनका अनुसार एकातिर विद्यार्थीको भर्ना दर नै कम हुन थालेको छ भने अर्कोतर्फ चौथौ सेमेस्टरसम्म पुग्दा भर्ना भएकामध्ये ३० प्रतिशतले बीचमै छाड्ने गरेका छन्।
बुटवल बहुमुखीमा कुनै बेला १० हजारसम्म विद्यार्थी भर्ना हुन्थे। केही वर्षअघिसम्म गाउँगाउँमा क्याम्पस खुलेकाले पनि विद्यार्थी भर्ना घटेको हो भने पछिल्लो पाँच वर्षयता उच्च शिक्षा अध्ययनका लागि विदेश जानेको संख्या बढेपछि क्याम्पसमा विद्यार्थी घट्न थालेका हुन्।
केही ठूला क्याम्पसमा जेनतेन विद्यार्थी भर्ना भइरहेका छन्। ‘स्नातक तहमा विद्यार्थीको संख्या ह्वात्तै घटेको छ,’ लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्याय भन्छन्, ‘१२ पछि स्वदेशमा विद्यार्थीले भविष्य देख्नै छाडे। शिक्षा प्रणाली र राजनीतिक अवस्थामा सुधार नगरे बर्बादै हुन्छ।’
उपाध्यायका अनुसार स्नातक तह प्रथम वर्षमा अध्ययन गर्नेमध्ये २५ देखि ३० प्रतिशत बीचमै छाडेर विदेश पलायन भइरहेका छन्। विद्यार्थी र अभिभावकको अध्ययनपछि रोजगारी र भविष्य सुनिश्चित गर्ने चाहनाले अध्ययनको बहानामा विदेश जाने र उतै बस्ने क्रम बढेको उनको भनाइ छ।
नेपालकै स्वायत्त क्याम्पसका रूपमा परिचित लुम्बिनी वाणिज्य क्याम्पसले वार्षिक कार्यक्रमका कोर्स नराखेकाले विद्यार्थीको कमी नभएको बताएको छ। ‘हामीले विशिष्टीकृत कोर्स सुरु गरेकाले विद्यार्थी भर्ना ठीकै छ,’ उनी भन्छन्।
लुम्बिनी वाणिज्यमा ३५ सय विद्यार्थी अध्ययनरत छन्। तर वार्षिक कोर्स हुँदा लुम्बिनीमा पाँच हजारसम्म विद्यार्थी भर्ना हुन्थे। क्याम्पसले तीन वर्षयता विशिष्टीकृत कोर्समात्रै चलाएको छ। विशिष्टीकृत कक्षा सञ्चालन गरे पनि करिब १५ प्रतिशत विद्यार्थीले विदेशका लागि ‘नो अब्जेक्सन लेटर’ लिएर जाने गरेको क्याम्पस प्रमुख उपाध्याय बताउँछन्।
सहरका कलेजमा विद्यार्थी संख्या पातलिँदै गएको छ। गाउँका क्याम्पस विद्यार्थीको अभावमा बन्द हुन थालेका छन्। लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, दाङ, रुकुम, रोल्पा, प्यूठान, बाँके, बर्दियाका कलेजमा स्नातक तहका विद्यार्थी क्रमशः घट्दै गएका छन्।
किन बढ्दै छ विदेश मोह
लुम्बिनी प्रदेशका ठूला सहरका कन्सल्ट्यान्सीमा हिजोआज विद्यार्थीमात्रै होइन, अभिभावकसमेत विदेशका लागि परामर्श लिन आउने क्रम बढ्दो छ।
सामान्य मानिसदेखि प्रदेशका मन्त्री, सांसद, उच्च तहका सरकारी कर्मचारी, शिक्षक, व्यवसायीलगायत कक्षा १२ पछि छोराछोरी विदेश पठाउन कन्सल्ट्यान्सी धाउने गरेका छन्। ‘केही वर्षअघिसम्म विद्यार्थीमात्रै कन्सल्ट्यान्सीमा आउनुहुन्थ्यो,’ स्टडी वल्र्ड कन्सल्ट्यान्सीका सञ्चालक देवबहादुर कुँवर भन्छन्, ‘हिजोआज अभिभावक पनि छोराछोरी विदेश पठाउनुपर्यो भनेर आउनुहुन्छ।’
नेपाल शैक्षिक परामर्श संघ रूपन्देहीका अध्यक्षसमेत रहेका कुँवर अहिले विदेश जानका लागि आईईएलटीएस पढ्ने, भिसा प्रक्रिया लगायतका विषयमा मान्छेहरूको आकर्षण बढेको बताउँछन्। ‘अस्ट्रेलिया, क्यानडा, संयुक्त राज्य अमेरिका, जापानजस्ता देश जानका लागि कन्सल्ट्यान्सी धाउनेहरू धेरै छन्,’ उनी भन्छन्, ‘त्यसबाहेक भारत, बंगलादेश, चीनमा जाने विद्यार्थीको संख्या पनि उस्तै छ।’
पछिल्लो तीन वर्षमा अत्यधिक विद्यार्थी विदेश पठाएको कतिपय कन्सल्ट्यान्सीको अनुभव छ। ‘नेपालमा युवाहरूले भविष्य देखेका छैनन्, पढेर के गर्ने, आजको मूल प्रश्न यही हो,’ एक्सपर्ट एजुकेसन कन्सल्ट्यान्सीका सञ्चालक रोशन कँडेल भन्छन्।
देशमा रोजगारी नपाउनु, राजनीतिक अस्थिरता, गुणस्तरीय शिक्षाको अभाव यिनै कारणले विद्यार्थी विदेश जानुपरेको उनको भनाइ छ। ‘पछिल्लो समय विद्यार्थी भिसामा गएकाहरू पनि नेपाल कमै फर्किन्छन्,’ कँडेल भन्छन्।
एकातर्फ अध्ययनका लागि गएर उतै ‘सेटल’ हुने क्रम बढ्दो छ। अर्कोतर्फ कोरिया, जापानजस्ता देशमा रोजगारीका लागि जानेको संख्या पनि थामिनसक्नु छ। लुम्बिनी प्रदेशका कोरियन र जापानिज भाषा पढाइ हुने इन्स्टिच्युटमा विद्यार्थीको निकै भीड देखिन्छ।
बुटवलमा १५ वर्षदेखि कोरियन भाषा पढाउँदै आएका जेएन शर्मा न्यौपानेले स्वदेशमा सम्भावना खोजेर थाकेपछि कोरियन भाषा पढ्न आउने धेरै युवा भेटेको उनी बताउँछन्। ‘देशमा रोजगारी नपाएपछि त्यसका लागि युवा विदेश जानुपरेको हो,’ उनी भन्छन्।
रोजगार इन्स्टिच्युट बुटवलमा कोरियन भाषा पढाउँदै आएका उनले हालसम्म १८ सयभन्दा बढी विद्यार्थीलाई कोरियन भाषा पढाइसकेका छन्।
भविष्यको सुनिश्चितता नहुनु नै युवा बिदेसिनुको प्रमुख कारण रहेको प्राध्यापक डा. ताराप्रसाद उपाध्यायको बुझाइ छ। ‘नेपालमा पढेर उद्यमी बन्ने, राम्रो जागिर पाउने वा परिवार पाल्न सक्ने ल्याकत हुन्छ भन्ने ग्यारेन्टी नै भएन,’ उनी भन्छन्, ‘अब हामीले शैक्षिक सुधार गर्नुपर्छ। अर्को रोजगारी दिन सकिन्छ भनेर युवालाई सुनिश्चित गर्न सक्नुपर्छ। त्यसो नभए युवा नेपालमा कोही रहने छैनन्।’
कलेजले परम्परागत शैलीमा पढाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने, नयाँ प्रविधिको प्रयोग गर्ने, राजनीतिक रूपमा स्थिरता र स्वदेशमा आत्मनिर्भर हुन सक्ने वातावरण निर्माण गर्न राज्य संयन्त्र लाग्नुपर्ने प्राध्यापक डा. उपाध्यायको सुझाव छ।