युवा पलायन

रोजाइ सीपमूलक शिक्षा र रोजगारी

विवेक विवश रेग्मी २४ असार २०८० १०:३८
78
SHARES
रोजाइ सीपमूलक शिक्षा र रोजगारी

इटहरी– इटहरीकी निरुता गुरुङ अस्ट्रेलिया जाने तयारीमा छिन्। आईईएलटीएस पास गरेकी उनी नेपालमा पढेर पनि रोजगारी नपाइने भएकाले पढ्नै उतै जान लागेको बताइन्। विदेशमा गएर पढेमा तत्काल जागिर मिल्ने उनको विश्वास छ।

उनी भन्छिन्, ‘विदेश जान चाहनुको एउटा कारण हो, यहाँ पढेको विषयमा काम नपाउने चिन्ता।’ शिक्षा व्यावहारिक नहुँदा प्रयोगविहीन बनेको उनको बुझाइ छ। गुरुङ भन्छिन्, ‘११ कक्षा मैँ चाहेको विषय पढ्न पाइएन।’ उनी कम्प्युटर र गणित पढ्न चाहन्थिन्। तर स्कुलमा ती विषय राखिएको छैन। त्यस्ता विषय हटाएर राखिएको सामाजिक पढेर काम पाइहाल्ने अवस्था नरहेको उनको बुझाइ छ।

‘मैले चाहेको विषय पढ्न पाउने र पढेको विषयले राम्रो कमाउने भएपछि पो जीवन सहज हुन्छ,’ उनले थपिन्, ‘पढेको कुरालाई प्रयोगमा ल्याउन सक्नुपर्छ।’ गुरुङजस्ता हजारौँ युवकयुवती बिदेसिनका लागि इटहरी क्षेत्रका कन्सल्टेन्सी धाइरहेका छन्। कतिपय भाषा परीक्षाको तयारीमा छन्।

धेरैजसोको रोजाइ अस्ट्रेलिया छ। विकल्पमा क्यानडा, बेलायत, अमेरिका, न्युजिल्यान्ड, जापानलगायतका देशमा जाने पनि छन्। विद्यार्थी मात्रै नभई बैँक र अन्य सेवाप्रदायक कम्पनीमा जागिर खाइरहेकाहरू पनि सन्तुष्ट छैनन्। उनीहरू अध्ययन भिसा लिएर विदेश जाने तरखरमा छन्।

इटहरीस्थित ‘इटहरी जेन्युन एजुकेसन सर्भिस’ का प्रबन्ध निर्देशक अर्जुन उप्रेतीका अनुसार भाषा परीक्षाका लागि तयारीका लागि आउने युवा पढेका कुराले जीवन चलाउन सकियोस् भन्ने पक्षमा हुन्छन्।

‘विद्यार्थीँ समुद्रमा कुद्ने माछाजस्तै हुँदारहेछन्,’ उप्रेती भन्छन्, ‘कतिपयले त जसरी पनि विदेश जाने भन्छन्। आजको भोलि नै देश छाड्नु छ भन्ने पनि धेरै छन्।’ किन धेरै विद्यार्थी विदेश जान चाहिरहेका छन् भन्ने जिज्ञासामा उनले भने, ‘विद्यार्थीबाट कलेज पढ्न जाऊँ पढाइ हुँदैन, पढाइ भइहाले परीक्षा हुँदैन। परीक्षा भइहाले रिजल्ट आउँदैन भनेको सुनिन्छ।’

पेसा व्यवसाय गर्न राज्यको नीति झन्झटिलो भएकाले पनि अधिकांश युवा स्वदेशमा बस्न नरुचाउने उनको बुझाइ छ। ‘अहिलेको पुस्ताले काम गरेर स्वतन्त्रतापूर्वक खानबस्न चाहिरहेका छन्,’ जनता बहुमुखी क्याम्पसमा प्राध्यापन गर्दै आएका उप्रेती भन्छन्, ‘पढेको कुराले जीवन चल्नुपर्‍यो। ब्याचलर सकेका विद्यार्थी अब सर्टिफिकेट कहाँ काम लाग्छ भनेर हामीलाई सोध्छन्, के जबाफ दिनु?’

पछिल्लो पुस्ताले ‘लाइफ स्किल एजुकेसन’ खोवजेको उनी बताउँछन्। उनी भन्छन्, ‘अहिलेका पुस्तालाई कसरी सजिलै र चाँडै पैसा कमाऊँ भन्ने छ।’ प्रविधिको पहुँचले अचेल विद्यार्थीले घरमै बसेर कुन देशको कुन कलेज आफ्ना लागि उपयुक्त हुन्छ भनेर रोजिसक्छन्। त्यसैले विद्यार्थीलाई यो वा त्यो देशमा जाऊ भनेर परामर्श आवश्यक नहुने व्यवसायीहरू बताउँछन्। उप्रेती पनि कन्सल्टेन्सीमा आउने ९० प्रतिशत विद्यार्थी पहिल्यै कुन देश जान भनेर तयारीसाथ आउने गरेको बताउँछन्।

‘युवा पुस्ताले विश्वस्तरको शिक्षा खोज्न थालेका छन्,’ उप्रेती भन्छन्, ‘केही प्रतिशत देखासिखीमा पनि जान्छन्। धेरै भने काम गरेर स्वतन्त्रतापूर्वक बाँच्न पाउने र पढेको कुराले जीवन चलाउन सजिलो होस् भनेर बिदेसिने आकर्षण छ।’

इटहरीकै ट्रान्जिट एजुकेसनका सञ्चालक हरि कट्टेलले आफैँ बाँच्ने कला सिक्नका निम्ति धेरैजसो विद्यार्थी बाहिरिने बताए। ‘विद्यार्थीले कामसँगै अध्ययन पनि कसरी गर्ने भनेर सिक्छ,’ उनले भने, ‘आंशिक समय का गर्दा पैसा कमाइ पनि हुन्छ, त्यही पैसा बचत गर्दा अध्ययन गर्न सहयोग पुग्छ।’ उनी पनि कतिपय विद्यार्थी देखासिखीका कारण विदेश गइरहेको र कतिपय दक्ष बन्नका लागि विदेश जाने गरेको बताउँछन्।

अभिभावकको सोचाइ पनि सफलता भनेको विदेश जानु रहेको देखिन्छ। उनले भने, ‘धेरैजसो विद्यार्थी जसरी पनि विदेश नै जानु छ, विदेश जाँदा सफल भइन्छ भनेर सुनाउँछन्। यसमा अभिभावकको पनि साथ र सहयोग हुन्छ।’

नेपालमा व्यवसाय गर्न सहज छैन। एउटा व्यवसाय दर्ता गर्दा नै राज्यका तीन निकायमा कर बुझाउनुपर्ने अवस्था छ। ‘व्यवसाय गर्न खोज्नेलाई राज्य उदार छैन। ऋण पाउन कठिन छ। पाए पनि ब्याज महँगो छ।’

यस्तो अवस्थामा नेपालमा झन्झट व्यहोर्नुभन्दा विदेश नै उपयुक्त हुने युवा पुस्ताको बुझाइ छ। त्यसो त लामो समय जोखिम लिएर काम गर्ने स्वभाव युवा पुस्तामा छैन। उनी भन्छन्, ‘जोखिम लिन सक्ने क्षमता समुदायमा छैन।’

कतिपय युवा भने स्नातक सकिसक्दा चिठी लेख्न, बैंकको भौचर भर्न र इमेल लेख्न सक्दैनन्। विश्वविद्यालयका सबै संकायमा यस्ता विषयमा सिकाइ नहुने भएकाले पनि विद्यार्थीमा यस्तो समस्या दखिएको हो। सोही कारण कतिपय युवा आफूलाई कमजोर महसुस गर्न पुग्छन्। कट्टेल भन्छन्, ‘डिग्री सकेकाहरूमा पनि यिनै कारणले डिप्रेसन हुन्छ भने क्षमता भएकाहरूले अवसर पाउँदैनन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =