रोलक्रमबाहिरबाटै सेनाप्रमुख बनेका जुद्धशमशेरका दुई छोरा

सन्तोष खडेरी २४ असार २०८० ५:१४
2.4k
SHARES
रोलक्रमबाहिरबाटै सेनाप्रमुख बनेका जुद्धशमशेरका दुई छोरा पूर्वप्रधानसेनापतिहरू किरणशमशेर जबरा र नीरशमशेर जबरा। तस्बिर स्रोत :  सुबोधशमशेर राणा/विनयशमशेर जबरा

१०४ वर्षसम्म कायम राणाकालमा चलेका पारिवारिक षड्यन्त्रका कथा धेरै छन्। सन् १८४६ मा कोतपर्वबाट जंगबहादुर राणा नेपालको सत्ता राजनीतिमा उदाएका थिए। नेपालको सत्ता राजनीतिमा पकड जमाएर बसेका चौतारिया शाह, पाँडे, बस्न्यात र थापाहरूलाई पन्छाउँदै एकछत्र राज गर्न थालेका जंगबहादुरलाई अलौ पर्व र भण्डारखाल पर्वसम्म बचेखुचेका केही विरोधीहरूको सामना गर्नुपरेको थियो।

भण्डारखाल पर्वमा वीरध्वज बस्नेत नेतृत्वको समूहलाई सफाया गरी जंगबहादुरले रानीलाई समेत देशनिकाला गरेका थिए। रानीसँगै काशीवास गएका राजा राजेन्द्रले भारतमा रहेका शाह, पाँडे, बस्न्यात र थापाहरूलाई जम्मा गरी जंगबहादुरविरुद्ध आक्रमण प्रयास गरे। तर जंगबहादुरको सेनासँग टिक्न नसकी एकातिर विद्रोही समूहको नेतृत्व गरेका गुरूप्रसाद शाह आफैँ पछाडि हटे भने अर्कोतिर जंगबहादुरले राजा राजेन्द्रलाई काठमाडौँ भित्र्याएर कैद गरे।

त्यसपछि जंगबहादुर राणाले नेपाली सत्ता राजनीतिमा आफूलाई एकल नायकका रूपमा उभ्याएका थिए। त्यसपछिका दिनमा उनको सत्तालाई चुनौती दिने कुनै पनि बाह्य समूह थिएन। उनी सत्तामा आएको ५ वर्षमा उनका भाइ बद्रीनरसिंह कुँवर उनीविरुद्ध षड्यन्त्रमा लागेका थिए। राणा परिवारभित्र भएको त्यही नै पहिलो पारिवारिक षड्यन्त्र थियो। राजा सुरेन्द्रका भाइ उपेन्द्र र जंगबहादुरका भाइ बद्रीनरसिंहलगायतका अन्य भारदार षड्यन्त्रमा लागेको जानकारी पाएर जंगबहादुरले राजाका र आफ्ना भाइलाई ब्रिटिस भारतमा कैद गर्न पठाएका थिए।

जंगबहादुरको निधनपछि रणोद्वीप सिंहको समयमा तत्कालीन कमान्डर इन चिफ धीरशमशेरविरुद्ध अर्कोपटक एउटा षड्यन्त्र भएको थियो। जसलाई १९३८ सालको पर्व भनिन्छ। रणोद्वीप सिंहले धीरशमशेरलाई कायममुकायम छाडेर तराईमा सिकार खेल्न गएको समयमा धीरशमशेरलाई सिध्याउने षड्यन्त्र भएको थियो। तर धीरले भेउ पाउँदा राजा पृथ्वीवीरविक्रमका काका साहेबज्यू नरेन्द्रविक्रम शाह र दक्षिणतर्फका कमान्डिङ जनरल पद्मजंग राणा (जंगबहादुर राणाका छोरा) गिरफ्तार भएका थिए। त्यस षड्यन्त्रमा संलग्न रहेको आरोपमा ३० भन्दा बढी उच्चपदस्थ पक्राउ परेका थिए भने २० भन्दा बढी सैनिक काटिएका थिए। केहीलाई भने चारपाट मुडेर भारततर्फ खेदिएको थियो।

सन् १८८५ नोभेम्बरमा तत्कालीन प्रधानमन्त्री रणोद्वीप सिंहको हत्या गरी शमशेरहरू (धीरशमशेरका सन्तान) नेपालको सत्ता राजनीतिमा उदाए। त्यति बेला जंगबहादुर राणाका सन्तानसमेत केही काटिएका र धेरै देश छोडेर भारततर्फ पलायन भएका थिए। सन् १८८६ मा वीरशमशेरले रक्तपात बिना नै तत्कालीन प्रधानसेनापति खड्गशमशेरलाई काठमाडौँबाट निकाला गरी पाल्पा पठाएका थिए।

ब्रिटिस भारतबाट नेपालका विभिन्न स्थानमा सैन्य आक्रमण गरी जंगबहादुरका छोरा जनरल रणवीरजंगले वीरशमशेरको नेतृत्वलाई चुनौती दिएका थिए। उनी पक्राउ परेपछि भने वीरशमशेरलाई राहत भयो। भारत भ्रमणका क्रममा विद्रोहीबाट मारिने भयले वीरशमशेर गंगास्नान गर्न पनि डराएका थिए। सन् १८८५ मा रणोद्वीपको हत्यापछि भने ब्रिटिस सरकारबाट समेत राणाहरूलाई आगामी दिनमा त्यस्तै किसिमका हिंसाका घटना दोहोर्‍याएमा सत्तालाई मान्यता नदिने र नेपाललाई समेत हडप्ने चेतावनी दिएका थिए। अनि राणा परिवारभित्र सत्ता प्राप्तिका लागि हिंसाका घटना भएनन्। तर रक्तपातविहीन सैन्य ‘कू’ भने भएका थिए। सन् १९०१ जुनमा तत्कालीन प्रधानमन्त्री देवशमशेरलाई रक्तपात विना नै अपदस्थ गरी चन्द्रशमशेर सत्तामा पुगे।

वीरशमशेरको डेढ दशक लामो र चन्द्रशमशेरको झन्डै ३ दशक लामो शासनकालमा उनीहरूलाई चुनौती दिने कोही थिएन। राणा शासनमा राणा प्रधानमन्त्री र अन्य रोलवाला उच्च जनरलका विवाहिता-अविवाहिता-भित्रीनीपट्टिबाट जन्मिएका सन्तानलाई समेत रोलमा राख्न थालेपछि आन्तरिक असन्तुष्टि चुलिँदै थियो।

श्री ३ चन्द्रशमशेर। तस्बिर स्रोत : ब्रिटिस लाइब्रेरी

चन्द्रशमशेरले पहिलोपटक राणाहरूलाई ए, बी, र सी गरी तीन क्लास (श्रेणी) मा वर्गीकरण गरेका थिए। सन् १९२८ मा दुई भागमा प्रकाशित पर्सिभियल ल्यान्डनको पुस्तक नेपालमा पहिलोपटक राणाहरूलाई तीन भागमा वर्गीकरण गरिएको थियो। त्यसमा तीन श्रेणी (बाजा बजाएर सिन्दूर हालेर डोलीमा चढाई ल्याएका क्षेत्री ठकुर्नीपट्टिका स्वास्नीबाट जन्मेका सन्तान जति ‘ए’ क्लास, दियो-कलश पुजी विवाह गरेका ठकुरी क्षेत्रीका कन्या छोरीपट्टिका सन्तान ‘बी’ क्लास र ल्याइतेपट्टिबाट जन्मिएका सन्तानलाई ‘सी’ क्लास) मा वर्गीकरण गरिएको थियो।

वीरशमशेरको पालादेखि नै विवाहितापट्टिबाट मात्र नभई भित्रिनीपट्टिबाट जन्मिएकालाई समेत रोलक्रममा राख्ने अभ्यास भएको थियो। त्यसैअनुरूप वीरशमशेरले शाहज्यादीबाट जन्मिएका मात्र नभई आफूलाई मन परेकी भित्रिनी रानी तोपकुमारीबाट जन्मिएका रुद्रशमशेर, तेजशमशेर र प्रतापशमशेरलाई रोलक्रममा राखेका थिए।

भीमशमशेरले प्रधानमन्त्री भएपछि भित्रिनीका तर्फबाट जन्मिएका हिरण्यशमशेर र रामशमशेरलाई रोलमा समावेश गरे। उनीहरूका छोराहरूलाई मेजर जनरलको पद दिएका थिए। भित्रिनीतर्फका छोराहरूलाई रोलक्रममा राख्दा विवाहितातर्फबाट जन्मिएकामा असन्तुष्टि बढ्दै थियो। चन्द्रशमशेरले क्लास विभाजन मात्रै गरे तर त्यसलाई कार्यान्वयन गरेनन्।

भीमशमशेरले रोलक्रममा आफ्नै भित्रिनीतर्फका छोराहरूलाई समावेश गरे। सन् १९३२ को १ सेप्टेम्बरमा भीमशमशेरको निधन भयो। जुद्धशमशेर प्रधानमन्त्री भए। उनले पनि रोलक्रम यथावत् राखे। त्यसअनुरूप जुद्धशमशेरपछिका दोस्रो वरीयतामा रुद्रशमशेर कमान्डर इन चिफ थिए। ए क्लासका भीमशमशेरका छोरा पद्मशमशेर र चन्द्रशमशेरका छोराहरू मोहनशमशेर र उनका भाइहरूभन्दा भित्रिनीतर्फका वीरशमशेर र भीमशमशेरका छोराहरू अगाडि थिए। पद्मशमशेरभन्दा रुद्रशमशेर अगाडि, मोहनशमशेरभन्दा रुद्र र तेजशमशेर अगाडि त्यस्तै बबरशमशेरभन्दा हिरण्य, प्रताप, तेज र रुद्रशमशेर अगाडि थिए।

जुद्धशमशेर प्रधानमन्त्री भएको करिब डेढ वर्षभित्रमा सन् १९३४ को १८ मार्चमा उनले सी क्लास राणाहरूलाई रोलबाट हटाउने र काठमाडौँ उपत्यकाबाट बाहिर पठाउने निर्णय गरेका थिए। रक्तपातबिना नै उनले सी क्लास वर्गीकरण गरी तत्कालीन कमान्डर इन चिफ रुद्रशमशेर, कमान्डिङ जनरलहरू तेजशमशेर र हिरण्यशमशेर तथा जनरलहरू प्रतापशमशेर र रामशमशेरलाई रोलबाट निष्कासन गरी काठमाडौँ बाहिर पठाएका थिए।

उनीहरूका छोराहरूसमेत निष्कासनमा परे। जुद्धले उनीहरूलाई रोलबाट निष्कासन गर्दा सम्पत्ति साथमा लैजान र उक्त ओहदा र त्यसबराबरको तलब, भत्ता र खान्कीको सुविधा कायमै राखिदिएका थिए। पाल्पा पठाइएका कमान्डर इन चिफ रुद्रशमशेरलाई पश्चिमी कमान्डर इन चिफको पद दिइएको थियो। वीरगन्ज पठाइएका कमान्डिङ जनरल हिरण्यशमशेरलाई बडाहाकिमको पदसहित कमान्डिङ जनरलको दर्जा कायमै थियो। जनरल प्रतापशमशेरलाई इलामको बडाहाकिम बनाएर पठाइएको थिए। भारतबाट पक्षघातको उपचार गरी फर्किएपछि तेजशमशेर रानीगन्जमा बसेका थिए।

दोस्रो वरीयताका बहालवाला कमान्डर इन चिफ, कमान्डिङ जनरलसहित उच्चपदस्थ राणाहरूलाई रोलबाट अपदस्थ गरी उपत्यकाबाहिर धपाउने जुद्धशमशेरको कदमबारे अन्तर्राष्ट्रिय छापामा प्रशस्त ठाउँ पाएको थियो। सी क्लास राणाहरूलाई रोलबाट हटाएपछि जुद्धशमशेरले आफ्ना अविवाहिताबाट जन्मिएका छोराहरूलाई मेजरको दर्जा दिएनन्। रोलमा समेत समावेश गराएनन्। उनलाई अन्य रोलवाला राणाहरूको दबाब थियो। फेरि आफैँले रोलक्रममा शुद्धीकरणको नेतृत्व लिएकाले छोराहरू समावेश गर्न सहज थिएन। पछि दुई बेरोलवाला छोराहरूलाई मेजर जनरलसम्मको दर्जा दिए पनि रोलमा भने समावेश गरेनन्।

राणाहरूमा जंगबहादुर, रुद्रशमशेर र जुद्धशमशेरका धेरै श्रीमती र सन्तान थिए। जुद्धशमशेरका नाति नरशमशेरका अनुसार जाउलाखेल दरबार ३०० रोपनी क्षेत्रफलमा फैलिएको थियो। तीनतले उक्त दरबारमा ४०० कोठा थिए। त्यहाँ जुद्धका रानीहरू, छोराछोरी र नातिनातिना गरी १२० जना जतिको विशाल परिवार थियो। तिनलाई स्याहारसुसार गर्न ३०० जति नोकरचाकर र ८० जना जति तालिमे थिए। जुद्धशमशेरका एक बडामहारानी, दुई महारानी, चार रानी र अन्य नानीहरू थिए। विवाहिता रानी पद्मकुमारी जसलाई उनले बडामहारानीको दर्जा दिएका थिए। तिनीबाट ६ भाइ छोरा र ८ छोरी जन्मिएका थिए। (जनरल नरशमशेर जंगबहादुर राणाको जीवनी उहाँकै जुवानी, प्रस्तुतकर्ता – हेमन्तशमशेर राणा, २०५८ काठमाडौँ।)

पद्मकुमारीबाट जन्मिएका ६ मध्ये एक जना सानैमा बितेका थिए। अन्य छोराहरूमा बहादुरशमशेर, अग्निशमशेर, हरिशमशेर, सूर्यशमशेर र नारायणशमशेर थिए। अन्य रानीबाट जन्मिएका छोराहरूमा विक्रमशमशेर, चेतशमशेर, ध्रुवशमशेर, किरणशमशेर, नीरशमशेर, सुरेन्द्रशमशेर, शान्तशमशेर, रविशमशेर, मीनशमशेर, शशिशमशेर र विनोदशमशेर थिए।

विवाहिताबाट नजन्मिएका भए पनि जुद्धशमशेरका मनपर्ने रानीहरूबाट जन्मिएका किरणशमशेर र नीरशमशेर उनका मनपर्ने छोरा थिए। प्रथम विश्वयुद्धमा जस्तै द्वितीय विश्वयुद्धमा समेत नेपालले ब्रिटिस सरकारलाई सैन्य सहयोग गरेको थियो। युद्ध सुरु हुनासाथ नेपालले ८ हजार नेपाली सेनालाई ग्यारेसन ड्युटीका लागि भारतमा पठाएको थियो।

नीरशमशेर र किरणशमशेरलाई मेजर जनरलको दर्जा दिइएको विषयमा गोरखापत्र साप्ताहिकको २००० साल साउन २९ गते प्रकाशित समाचार अंश र जुद्धशमशेर।

दल प्रमुख भएर जुद्धशमशेरकै छोरा कमान्डिङ जनरल बहादुरशमशेर दिल्लीमा खटिएका थिए। भारत पठाइएका ८ बटालियनमध्ये ४ बटालियन मेजर जनरल एकराजशमशेरको नेतृत्वमा अवोटाबादमा र ४ बटालियन मेजर जनरल ब्रह्मशमशेरको नेतृत्वमा देहरादुनमा तैनाथ थियो। दिल्लीमा रहने दलप्रमुख सँगसँगै अवोटाबाद र देहरादुनमा समेत कमान्डर फेरिएका थिए। जसमा दिल्लीमा बहादुरशमशेरको ठाउँमा लेज कृष्णशमशेर र अवोटाबादमा मेज नीरशमशेर र देहरादुनमा मेज किरणशमशेर फेरिएका थिए। किरणशमशेर र नीरशमशेर दुवैजना सन् १९४० को सुरुदेखि भारतमा खटिएका थिए। तर सन् १९४३ अगस्टदेखि उनीहरूलाई ४-४ बटालियनको नेतृत्व दिइएको थियो। बटालियनको नेतृत्व गर्नुअघि दुवै जना कर्नेल थिए।

सन् १९३४ अर्थात् वि.सं. १९९० सालमा सी क्लास राणाहरूलाई रोलबाट निष्कासित गरेपछि प्रधानमन्त्री जुद्धशमशेरले बेरोलवाला अर्थात् सी क्लासका राणाहरूलाई पहिलोपटक मेजर जनरलको दर्जा दिएका थिए। सन् १९४३ को ८ अगस्टमा प्रधानमन्त्री जुद्धशमशेरले मन परेका दुई बेरोलवाला छोराहरूलाई मेजर जनरलको दर्जा दिए।सँगसँगै दोस्रो दर्जाको नेपाल तारा तक्मा प्रदीप्त मान्यवर नेपाल ताराको तक्मा प्रदान गरेका थिए। (गोरखापत्र साप्ताहिक २०००-४-२९)

उनीहरूलाई मेजर जनरलको दर्जा दिएपछि भारतमा ४/४ बटालियनको नेतृत्वको जिम्मेवारी सुम्पिएको थियो। नेपालस्थित ब्रिटिस मिनिस्टर लेफ्टिनेन्ट कर्नेल जीएल बेथमले आफ्नो सरकारलाई पठाएको एक गोप्य रिपोर्टमा यस्तो उल्लेख गरेका थिए-

सन् १९३४ मा सी क्लासहरूलाई निष्कासन गरेपछि पहिलोपटक प्रधानमन्त्रीका अविवाहितापट्टिका नीरशमशेर र किरणशमशेरले मेजर जनरलको दर्जा पाए। मेजर जनरलको दर्जा पाए पनि प्रधानमन्त्रीको रोलक्रममा भने उनीहरू समावेश हुने छैनन्। (नेपालस्थित ब्रिटिस मिनिस्टर लेफ्टिनेन्ट कर्नेल जीएल बेथमले दिल्लीस्थित एक्स्टर्नल डिपार्टलाई पठाएको रिपोर्ट, राष्ट्रिय अभिलेखागार, नयाँदिल्ली)

त्यसको करिब ७ वर्षमा नेपालमा राणा शासन अन्त्य भयो। प्रजातन्त्र आउँदा तेस्रो वरीयताका जंगीलाठ केशरशमशेर नेपाली सेनाका कमान्डर इन चिफ थिए। उनीपछि सन् १९४३ मा मेजर जनरलको दर्जा पाएका किरणशमशेर सन् १९५२ मा ३६ वर्षको कलिलो उमेरमा सेनाको कमान्डर इन चिफ नियुक्त भए।

जुद्धशमशेरको समयमा सन् १९४४ नोभेम्बरमा बहादुरशमशेरको कडा निगरानीमा राजा त्रिभुवनले आगरा, दिल्ली, जगन्नाथपुरी र कलकत्ता भ्रमण गर्दा त्यहीँ पूर्वी कमान्ड प्रमुख रहेका किरणशमशेरले राजालाई रिझाएका थिए। किरणशमशेरले राजालाई नाइट क्लबदेखि अन्य मनोरञ्जनात्मक क्षेत्रको भ्रमण गराए। राजा उनीसँग प्रभावित भएका थिए। नेपालमा प्रजातन्त्र आएपछि किरणशमशेर प्रजातन्त्र पक्षधर भएकाले राणा कांग्रेस संयुक्त सरकारको समयमा बीपी कोइरालामाथि भरतशमशेरको गोर्खा दलले आक्रमण गरेकै दिन उनी केशरशमशेरभन्दा पछिको दोस्रो वरीयतामा उपकमान्डर इन चिफ नियुक्त भएका थिए।

यसरी उनी अग्रज राणा जनरलहरूलाई उछिन्न सफल भए। किरणशमशेर सन् १९५६ मा कमान्डर इन चिफबाट अवकाश पाएपछि उनी योजना तथा विकास राज्यमन्त्री र सन् १९५७ मा नवगठित योजना आयोगको उपाध्यक्ष भए। २०२० सालमा राजसभा सदस्य हुँदै सन् १९७४ मा राजा वीरेन्द्रको समयमा बेलायतका लागि नेपाली राजदूत भएका थिए।

मेजर जनरलको दर्जा पाउने अर्का नीरशमशेर सन् १९६० अप्रिलमा नेपाली सेनाको कमान्डर इन चिफ नियुक्त भएका थिए। २०१७ सालमा राजा महेन्द्रले सैन्य बलमा बीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गर्दै पञ्चायत व्यवस्था सुरु गर्दा उनी कमान्डर इन चिफ थिए। उनी उक्त पदमा सन् १९६५ अप्रिलसम्म रहे। अवकाशपछि राजा महेन्द्रले उनलाई फिल्ड मार्सलको दर्जा दिएका थिए। सन् १९१३ मा ललितपुरमा जन्मिएका उनको १०० वर्षको उमेरमा सन् २०१३ मा वीरेन्द्र सैनिक अस्पतालमा निधन भएको थियो।

जुद्धशमशेरले मेजर जनरलको दर्जा दिएका उनका दुवै छोराहरू समयक्रममा नेपाली सेनाको सर्वोच्च पदसम्म पुग्न पाए। झन्डै ४ वर्षसम्म किरणशमशेर र ५ वर्षसम्म नीरशमशेरले नेपाली सेनाको नेतृत्व गर्दा त्यो संक्रमणकालीन समयमा नेपाली सेनाको संगठन निर्माण र विस्तारमा केही राम्रा कार्य भएका थिए। आफूहरू नेपाली सेनाको प्रमुख छँदा बदलिएको फरकफरक परिस्थितिमा उनीहरूले भारतीय सेनासँग नेपाली सेनाको सम्बन्ध विस्तार एवं सुदृढ गरेका थिए।

प्रकाशित: २४ असार २०८० ५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =