प्रचण्डको दबाबमा ज्वाइँलाई फेरि मन्त्री बनाउने तयारी

हिमाल प्रेस २३ असार २०८० १३:१४
28
SHARES
प्रचण्डको दबाबमा ज्वाइँलाई फेरि मन्त्री बनाउने तयारी

काठमाडौँ- कोशी प्रदेशमा माओवादी केन्द्रका सांसद जीवन आचार्य फेरि मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दबाबमा आचार्यलाई मन्त्री बनाउन लागिएको हो। आचार्य प्रचण्डका छोरीज्वाइँ (गंगा दाहालका पति) हुन्। गंगा प्रधानमन्त्री प्रचण्डकी स्वकीय सचिवका रूपमा कार्यरत छिन्।

माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्र आङ्बोले अब सरकार विस्तार हुँदा आचार्य मन्त्री बन्ने बताए। आचार्य यसअघि हिक्मत कार्की नेतृत्वको सरकारमा पर्यटन र वनमन्त्री थिए।

माओवादी निकट स्रोतका अनुसार आचार्यलाई पहिलो चरणमा मन्त्री बनाउनुपर्ने दबाब थियो। तर मन्त्रीका आकांक्षी बढी भएपछि आचार्यको नाम परेको थिएन।

‘पुरानालाई नदोहोर्‍याउने सहमति थियो। केन्द्रबाट आचार्यलाई बनाउनैपर्ने दबाब आएको छ,’ माओवादीका एक नेताले हिमाल प्रेससँग भने, ‘मन्त्री बन्नेमा गणेश उप्रेती र उहाँ (जीवन आचार्य) को नाम थियो। तर आचार्यलाई बनाउनुपर्ने भयो।’

माओवादी स्रोतका अनुसार आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।

कार्की सरकारमा पनि प्रचण्डकै दबाबमा आचार्यलाई मन्त्री बनाइएको नेताहरू बताउँछन्। त्यसबेला संसदीय दलका नेता आङ्बो र आचार्यबीच दरार आएको थियो।मा‌ओवादीबाट मुख्यमन्त्री बन्नुपरे आफू तयार रहेको आचार्यले बताएका थिए।

आङ्बोसमेत मुख्यमन्त्रीको दौडमा रहेका थिए। आचार्य मोरङ ६ ‘क’बाट निर्वाचित भएका मा‌ओवादी केन्द्रका कान्छा सांसद हुन्।

मुख्यमन्त्री उद्धव थापाले कांग्रेसका प्रदीप सुनुवार र एकीकृत समाजवादीका कमलप्रसाद जवेगुलाई बिनाविभागीय मन्त्रीका रूपमा शपथ गराएका छन्। माओवादी केन्द्र सरकारबाहिरै छ।

प्रकाशित: २३ असार २०८० १३:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =