देवदह खयरडाँडामा भेटियो प्राचीन इनार र मध्यकालीन संरचना

विनोद परियार २२ असार २०८० ११:४७
26
SHARES
देवदह खयरडाँडामा भेटियो प्राचीन इनार र मध्यकालीन संरचना कपिलवस्तुको देवदहस्थित खयरडाँडामा उत्खनन गरिँदै। तस्बिर : हिमाल प्रेस

लुम्बिनी- लुम्बिनी विकास कोषले पुरातत्त्व विभागसँग समन्वय गरेर देवदह नगरपालिका-९ खयरडाडाँमा गरेको उत्खननमा प्राचीन इनार र मध्यकालीन भवनको अवशेष फेला परेको छ।

गौतम बुद्धको मावली प्राचीन कोलीय गणराज्यको राजधानी देवदहको दरबार क्षेत्र अनुमान गरिएको खयरडाँडामा प्राचीन इनार, मध्यकालीन भवनको अवशेष र माटोका दियो भेटिएका हुन्।

जेठ १७ गतेदेखि सुरु गरी असार १५ गतेसम्म करिब एक महिनासम्म गरिएको उत्खननबाट प्राचीन इनार र धार्मिक प्रयोजनका लागि निर्माण गरिएको हुनसक्ने सभाहलमा प्रयोग गरिएका इँट्टा, माटोको दियो प्रशस्त भेटिएको लुम्बिनी विकास कोषका पुरातत्त्व महाशाखा प्रमुख हिमाल उप्रेतीले जानकारी दिए।

‘प्राचीन इनारको प्रस्ट आकार देखिएको छ। धर्मदेशना गर्न निर्माण गरिएको हुन सक्ने भवनको संरचनामा प्रयोग गरिएको २ साइजका इँट्टा भेटिएको छ’, उप्रेतीले भने, ‘मध्यकालीनजस्तो देखिने इँट्टा भेटिएको हो। काल निर्धारण परीक्षणपछि मात्र पुष्टि हुनेछ।’

उत्खननमा भेटिएका अवशेषका आधारमा खयरडाँडा पुरातात्त्विक क्षेत्रका रूपमा पुष्टि भएको उनले बताए। उत्खननमा ठूलो पर्खालको संरचना, माटोका दियोको पिँध, इट्टाहरू भेटिएका छन्। पुरातत्त्वविद् उप्रेतीका अनुसार भेटिएका संरचनाका आधारमा खयरडाँडामा कुनै समयमा धार्मिक प्रयोगका लागि ध्यानकेन्द्र वा कुनै ठूलो भवन भएको अनुमान गर्न सकिन्छ।

स्थानीयले भने देवदह-९ घोडाहास्थित खयरडाँडा क्षेत्र गौतम बुद्धको मावली कोलीय गणराज्यको राजधानीको दरबार भएको बताउँदै आएका छन्। उत्खननमा केही प्राचीन इनारसँगै ध्यानकेन्द्र जस्तो देखिने भवनको पर्खाल, पूजाका लागि राखिएका दियो भेटिएकाले स्थानीयको दाबीलाई बल पुगेको छ।

तर प्राचीन कोलीय गणराज्यको राजधानी देवदह क्षेत्रको यकिन पुष्टिका लागि भने अझै उत्खनन आवश्यक हेको विज्ञहरू बताउँछन्। लामो समयपछि कोषका तर्फबाट उत्खनन सुरु भएकाले देवदहको खोजीका लागि बृहत् तरिकाले उत्खनन आवश्यक पर्ने उप्रेतीको भनाइ छ।

लामो समयदेखि देवदह क्षेत्रमा उत्खननको माग भए पनि हुन सकेको थिएन। देवदह क्षेत्रबाटै लुम्बिनी विकास कोषको कोषाध्यक्षमा सिद्धिचरण भट्टराई नियुक्त भएपछि उत्खननलाई विशेष महत्त्व दिइएको हो।

प्राचीन इनार र भग्नावशेष पत्ता लागेकाले देवदहको थप खोजीका लागि महत्त्वपूर्ण प्रमाण फेला परेको कोषाध्यक्ष भट्टराईले बताए। उनले स्थानीयले दरबार नै खयरडाँडा क्षेत्रमा भएको बताए पनि उत्खननले प्राचीन क्षेत्रका रूपमा पुष्टि गरेको बताए।

देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालीन पुरातात्त्विक स्थलका रुपमा विगतको उत्खननले प्रमाणित गरेको छ। त्यहाँका पुरातात्त्विक स्थलहरूको संरक्षण गर्दै पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने कोषाध्यक्ष भट्टराईले बताए।

देवदह नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बुद्ध सम्बद्ध विषयवस्तुको खोज, उत्खनन तथा अनुसन्धान गरिने, लुम्बिनी विकास कोषसँगको सहकार्यमा पुरातात्त्विक क्षेत्रको उत्खननलाई निरन्तरता दिने उल्लेख छ।

उत्खननबाट प्राप्त भएका पुरातात्त्विक वस्तुहरुलाई संरक्षण गर्नका लागि संग्रहालय निर्माण गरिने देवदह नगरपालिकाका नगरप्रमुख धु्रव खरेलले बताए।

उत्खननमा लुम्बिनी विकास कोषका पुरातत्त्व शाखा प्रमुख उप्रेतीको नेतृत्वमा पुरातत्त्व विभागका हरि भुसाल, कोषका नवराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तर हुसेन मुसलमान, शुभेच्छा पोखरेल, निशा पन्थी र अम्बिका सुब्बा खटिएका थिए। यसअघि कोषले बैरीमाई, कन्यामाई र पुरातत्त्व विभागले भवानीपुरमा उत्खनन गरेको थियो। कोषले आर्थिक वर्षको वार्षिक कार्यक्रमअनुसार कपिलवस्तुको गोटिहवामा गत चैत २५ गतेदेखि जेठ ३ गतेसम्म उत्खनन गरेको थियो।

प्रकाशित: २२ असार २०८० ११:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =