खरिद ऐन संशोधन नभए रासायनिक मल पाउन कठिन हुन्छ : कृषि मन्त्री भुसाल

हिमाल प्रेस २१ असार २०८० १५:०७
2
SHARE
खरिद ऐन संशोधन नभए रासायनिक मल पाउन कठिन हुन्छ : कृषि मन्त्री भुसाल फाइल तस्बिर।

काठमाडौँ- कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्न आवश्यक रहेको बताएका छन्।
बिहीबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले रासायनिक मल खरिद प्रक्रियाको टेण्डर ४५ दिन रहेकोमा अब १५ दिन राख्नेगरी मन्त्रालयले प्रस्ताव अघि बढाएको बताए।

उनले जीटूजी प्रक्रियाबाट नै मल खरिद गर्नुपर्ने र जीटूजीका लागि बजेटको अग्रीम सुनिश्चिततालाई जोड दिन आवश्यक रहेको बताए। उनले छोटो समयमा नै मल खरिद गरी समयमा नै किसानलाई आपूर्ति गर्ने व्यवस्था गर्नुपर्ने बताए।

उनले भने, ‘४५ दिनको टेण्डरको जुन समय छ, १५ दिन प्रश्तावित गरौँ भनेका छौँ। यसमा तपाईहरुले सहयोग गर्नुपर्नेछ। त्यसमा मान्यज्युहरूको सहयोग चाहिन्छ, छोटो बनाउनको लागि। तदनुरूप नियमावलीमा पनि संशोधन गरौँ भन्ने हाम्रो प्रश्ताव छ, हामीले औपचारिकरूपमा प्रस्ताव मन्त्रालयबाट अघि बढाइसकेका छौँ। राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकबाट नै एउटा के निर्णय गरेका छौँ भने नियमित गर्नका लागि जीटूजीमा नै जानुपर्छ। तब मात्र मल पाउन सहज हुन्छ।’

मन्त्री भुसालले रासायनिक मलमा मात्रै निर्भर नभइ प्रांगारिक र जैविक मलमा निर्भर हुनेकुरामा जोड दिन आवश्यक रहेको बताए।

प्रकाशित: २१ असार २०८० १५:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 15 =