निर्माण व्यवसायी गौचन हत्या प्रकरण : गुण्डा नाइके समिरमान र अम्बरबहादुरलाई जन्मकैद

हिमाल प्रेस २० असार २०८० १७:०५
72
SHARES
निर्माण व्यवसायी गौचन हत्या प्रकरण : गुण्डा नाइके समिरमान र अम्बरबहादुरलाई जन्मकैद

काठमाडौँ- अदालतले निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न ठहर गर्दै गुण्डा नाइके समिरमानसिंह बस्नेतविरुद्ध जन्मकैदको फैसला सुनाएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बुधबार बस्नेतसहित अभियुक्तहरूको सजाय सुनाएको हो।

अदालतले हत्यामा मुख्य योजनाका रहेका भनिएका बस्नेतसहित काले भनिने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला सुनाइएको छ। त्यस्तै गौचनमाथि गोली प्रहार गर्ने लोप्साङ लामा भनिने सोम तामाङलाई १५ वर्षको जेल सजाय सुनाएको छ।

त्यस्तै माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैँया जरिवाना सजाय तोकिएको छ। अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार धनराज योङहाङ, गुम्बी भनिने श्यामबहादुर गुम्बी, कालेदारी भनिने रोशन बुढाथोकी, राजीव तामाङ भनिने राजीव स्याङताङ जनही पाँच वर्ष कैद सुनाइएको छ।

यो हत्या प्रकरणमा मुछिएका बसन्त थेबे, मनोज पुन भनिने मनोज बुढामगरको मृत्यु भइसकेकोले उनीहरूविरुद्धको दाबी खारेज भएको दाहालको भनाइ छ।

त्यस्तै फरार रहेको सात जना गंगाप्रसाद लिम्बु, अजय थापा, समीकला राई, प्रवेश नायब, सुजाथक्सु बाजी, सुधीरकुमार साह, प्रदीपकुमार झाविरुद्धको मुद्दा तामेलीमा राखिएको छ।

आजको फैसलासँगै सात जनाले सफाइ पाएका छन्। प्रकाश बुढाथोकी, सन्तोष गुरुङ, शिवजी महतो कमकर, सूर्यबहादुर बाजी, राजकुमार साह, मुकेशकुमार पाण्डे र श्याम गुप्ताले सफाइ पाएका हुन्।

यो विवादमा असार १२ गते जिल्ला अदालतले फैसला सुनाएको थियो। जिल्ला अदालतले १८ जनालाई दोषी ठहर गरेको थियो। २०७४ असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका गौचनमाथि काठमाडौँको प्रयागचोकमा गोली प्रहार गरी हत्या गरिएको थियो।

सो घटनामा बस्नेतसहित २४ जनाविरुद्ध कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो। सुरुमा प्रहरीले २३ जनालाई मात्र प्रतिवादी बनाएर मुद्दा दायर गरेकोमा अनुसन्धान हुँदै जाँदा बस्नेतकी श्रीमतीको पनि संलग्नता पछि पूरक अभियोग दर्ता गरिएको थियो। १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना सजाय तोकिएकी माया शेरचन समिरमानकी श्रीमती हुन्।

प्रकाशित: २० असार २०८० १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + two =