छात्रवृत्तिका नाममा निजामती कर्मचारीका सन्तानलाई १८ करोड रुपैयाँ बाँड्दै सरकार

सन्तोष अधिकारी १८ असार २०८० १५:५८
128
SHARES
छात्रवृत्तिका नाममा निजामती कर्मचारीका सन्तानलाई १८ करोड रुपैयाँ बाँड्दै सरकार

काठमाडौँ- सरकारले निजामती कर्मचारीका छोराछोरीका लागि शैक्षिक प्रोत्साहन रकम बाँड्न लागेको छ। जसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ करोड ८१ लाख ८६ हजार ५८९ रुपैयाँ  छुट्याएको छ।

मन्त्रालयका अनुसार निजामती कर्मचारीका छोराछोरी जो स्नातक तहमा पढ्छन् उनीहरूका लागि यो रकम उपलब्ध हुनेछ। निजामती कर्मचारीका छोराछोरीमध्ये स्नातक तहमा अध्ययनरत ६८७ जनालाई रकम बाँड्न लागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव कमलप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार रकम वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको  छ।

‘निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति वितरण गर्ने एउटा समिति छ। समितिले कुन क्षेत्र अध्ययन गरिरहेका कति जनालाई रकम दिने भनेर टुंगो लगाइसकेको छ,’ भट्टराईले हिमालप्रेससँग भने, ‘मन्त्रालयले  छात्रवृत्ति पाउने विद्यार्थीसँग फोन सम्पर्क गरेर उनीहरूसँग खाता नम्बर, प्यान नम्बर माग्न थालेको छ।’

मन्त्रालयले मंगलबारदेखि विद्यार्थीको खातामा पैसा पठाउने जनाएको छ। ‘भोलि (मंगलबार) देखि विद्यार्थीको खातामा पैसा जान थाल्छ,’ भट्टराईले भने, ‘असार २४ गतेभित्र छात्रवृत्ति रकम सम्बन्धित विद्यार्थीले भुक्तानी लिई सक्नुपर्नेछ।’ सरकारले सामान्यतया आर्थिक वर्षको अन्तिम हप्ता आफ्नो खाताबाट रकम भुक्तानी गर्दैन।

कुन संकाय पढ्ने कति जनालाई रकम बाँडिँदैछ?

  • चिकित्साशास्त्र संकायका १४४ जनालाई ७ करोड १७ लाख
  • इन्जिनियरिङ संकायका २२९ जनालाई ५ करोड ६९ लाख ७ हजार ७५८ रुपैयाँ
  • व्यवस्थापन संकायका ११९ जनालाई एक करोड ४२ लाख ८५ हजार ५३१ रुपैयाँ,
  • सूचना प्रविधि संकायका ५२ जनालाई ९८ लाख २२ हजार ५ सय रुपैयाँ,
  • कृषि विज्ञान संकायका ३६ जनालाई ७७ लाख ६७ हजार २ सय रुपैयाँ
  • कानुन संकायका ४५ जनालाई ७६ लाख रुपैयाँ
  • स्वास्थ्य विज्ञान संकायका २९ जनालाई ६४ लाख ८० हजार
  • मानविकी संकायका ११ जनालाई १४ लाख ६२ हजार २९० रुपैयाँ
  • विज्ञान संकायका १२ जनालाई ११ लाख २० हजार २५० रुपैयाँ
  • वन विज्ञान संकायका ५ जनालाई ५ लाख रुपैयाँ
  • शिक्षा संकायका ४ जनालाई दुई लाख ४१ हजार ६० रुपैयाँ
  • आयुर्वेद संकायका १ जनालाई तीन लाख रुपैँया
प्रकाशित: १८ असार २०८० १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =