पोखरामा व्यवसाय परिचय पत्रबिना मासु बेच्‍न नपाइने

हिमाल प्रेस १८ असार २०८० ९:३७
6
SHARES
पोखरामा व्यवसाय परिचय पत्रबिना मासु बेच्‍न नपाइने

पोखरा– पोखरा महानगरपालिकाले मासु पसललाई व्यवस्थित गर्न सुरु गरेको छ। महानगरले मासु पसल सञ्चालनका लागि तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका पसललाई एकै प्रकारका बोर्ड तथा व्यवसाय परिचय पत्र वितरण गरेको हो।

महानगरको पशु सेवा शाखाले आइतबार आयोजना गरेको कार्यक्रममा महानगरका मेयर धनराज आचार्यले व्यवसायीलाई परिचय पत्र प्रदान गरेका हुन्।

पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले पशुबध तथा मासु जाँच ऐन २०५५, नियमावली २०५७ तथा महानगरको मासु जाँच निर्देशिकाअनुसारको मापदण्ड पालना गरेका ७४ पसललाई परिचय पत्र र बोर्ड प्रदान गरिएको जनाए।

उनका अनुसार महानगर क्षेत्रमा करिब ६ सयको हाराहारीमा ठूला तथा साना मासु व्यवसायी छन्।

महानगरले पसलको एकरूपताका लागि सबै पसललाई एकै आकार र बनोटको बोर्ड हस्तान्तरण गरेको छ। पोखरामा अब मापदण्डविपरीतका फ्रेस हाउस बन्द गरिने मेयर आचार्यले बताए।

महानगरबाट अनुमति प्राप्त गरेको पसल हो भनेर चिनाउने गरी बोर्ड प्रदान गरिएकाले मान्यता प्राप्त पसलबाट मात्र मासु खरिद गर्न उनले उपभोक्तालाई आग्रह गरेर

‘अब केही समयपछि महानगरको बोर्ड नभएको पसलमा मासु खरिद बिक्री नगर्नका हामी सार्वजनिक सूचना जारी गर्नेछौं, महानगरबाट मान्यता प्राप्त गरेको र व्यवस्थित पसलमा स्वच्छ र स्वस्थ मासु उपलब्ध गराउनुपर्दछ,’ उनले भने।

महानगरले पोखरामा व्यवस्थित र सुविधासम्पन्न पशुबधशाला स्थापनाका लागि काम अघि बढाएको उनको भनाइ छ।

महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले स्वच्छ र सफा मासु खान पाउनु उपभोक्ताको अधिकार भएको बताइन्।

मापदण्ड पालना नगरेका अन्य पसललाई समेत पूरा गरेर महानगरमा दर्ता भएर परिच पत्र लिन आग्रह गरिन्।

मासु पसललाई बोर्ड र व्यावसायिक परिचय पत्र वितरणको काम नेपालमै पहिलो पटक सुरु भएको पशु सेवा शाखा प्रमुख अधिकारीको दाबी छ।

मापदण्ड पूरा नभएका पसल केही दिनको समय दिएर बन्द गराइने उनले चेतावनी दिए।

‘महागनरले मापदण्डविपरीतलाई बन्द गरेर पालना भएकालाई मात्र सञ्चालन गर्नेछ। बाँकी पसलसमेत केही समयपछि मापदण्ड पालनामा आउने विश्वास लिएका छौं,’ उनले भने।

यस्तै महानगरले विभिन्न ५ विधाका उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गरेको छ। गाई, भैंसी, कुखुरा, बँगुर र बाख्रा पालनमा उत्कृष्ट कृषकलाई जनही १० हजारसहित पुरस्कृत गरिएको महानगरले जनाएको छ।

उत्कृष्ट कृषक सम्मान प्राप्त गर्नेमा पोखरा १५ का भैंसीपालक कृषक दीपक तिमिल्सिना, पोखरा-२५ का गाईपालक कृषक घनश्याम तिमिल्सिना, पोखरा-१७ का कुखुरापालक कृषक चन्द्रकान्त बराल, पोखरा-२० का बाख्रापालक कृषक दुर्गा गुरुङ र पोखरा-१९ का बंगुरपालक कृषक सरस्वती बस्ताकोटी छन्।

यस्तै लामो समय कृषि तथा पशुपालनमा लागेकालाई ज्येष्ठ प्रवर्द्धक कृषकको सम्मान प्रदान गरिएको छ। महानगरले पाडीबाच्छी आफैं हुर्काएर माउ बनाउने ५ सय कृषकलाई ३ हजार र १ हजार पाडीबाच्छी हुकाउनेलाई ४ हजारका दरले अनुदान उपलब्ध गराइएको छ।

महानगर क्षेत्रका अपांगता भएका व्यक्तिलाई ८ हजारका दरले ५० जनालाई बाख्रा खरिदका लागि अनुदानसमेत प्रदान गरिएको छ।

प्रकाशित: १८ असार २०८० ९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seven =