मध्यपहाडी राजमार्गको बागलुङ खण्डमा ठेक्का रद्द

हिमाल प्रेस १७ असार २०८० १०:०६
4
SHARES
मध्यपहाडी राजमार्गको बागलुङ खण्डमा ठेक्का रद्द बागलुङस्थित ढोरपाटन गाउँ। तस्बिर- रासस

बागलुङ– ठेकेदारले पटक-पटक अलपत्र पारेपछि मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङको बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत बिुहँबाट घोडाबाँधेसम्मको १३ किमी सडक ५ पटकसम्म म्याद थप गर्दा पनि काम गर्न नसक्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयल पर्वतले जनाएको छ।

५ पटक म्याद थप भइसक्दासमेत असार मसान्तसम्म सडक कालोपत्र गर्नुको सट्टा सडक अलपत्र छाडेर हिँडेको निर्माण व्यवसायीसँगको सम्झौता रद्द गरिएको हो।

लोकमार्गअन्तर्गत बागलुङमा पर्ने १ सय ४२ किलोमिटरमध्ये बागलुङ जिल्ला सदरमुकाम खण्डतर्फको जम्मा २५ किलोमिटर सडकखण्डमात्रै कालोपत्र गर्न बाँकी छ।

मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत बागलुङको बिहुँ-घोडाबाँधे खण्डको १२ किमी सडक कालोपत्रको जिम्मा पाएको सुर्य कन्ट्रक्सनसँगको सम्झौता यही साता रद्द गरिएको आयोजना कार्यालय पर्वतका प्रमुख कल्पना अधिकारीले जनाइन्।

‘०७२ सालमा २ वर्षलाई ठेक्का सम्झौता भएको थियो, ७ वर्ष पूरा भइसक्दासमेत काम भएन, जनताले निरन्तर आन्दोलन गरिरहनुभएको छ, पाँचपटक म्याद थप गर्दा पनि काम नगरेपछि बाध्य भएर ठेक्का रद्द गरिएको छ,’ उनले भनिन्, ‘अब बागलुङबाट बिहुँसम्मको १३ किमी सडकको समेत ठेक्का सम्झौता रद्द गर्ने प्रक्रियामा पुगेका छौं।’

निर्माण व्यवसायी अदालत जाने समय बाँकी रहेको र अदालतबाट पनि ठेक्का रद्दलाई निरन्तरता भए १ वर्षभित्रै नयाँ ठेक्कामा जाने तयारी गरिएको उनको भनाइ छ।

बागलुङ बजारबाट घोडाबाँधे सडकको दुवै खण्डमा गरी १३ किमी सडक कालोपत्रका लागि पूर्वाधारसमेत निर्माण नगरेका कारण असारसम्म म्याद भएका दुवै निर्माण कम्पनीलाई सम्झौता रद्द गर्ने गरी प्रक्रिया अगाडि बढाइएकामा उपल्लो खण्ड बिहुँ घोडाबाँधे सडकको सम्झौता रद्द भइसकेको हो।

बिहुँका नागरिकले चरणबद्ध रूपमा निर्माण व्यवसायीका विरुद्धमा आन्दोलन गरेपछि आयोजनालाई र सरोकारवाला निकायलाई निर्माण व्यवसायीसँगको ठेक्का रद्द गर्न थप दबाब भएको थियो।

१२ किलोमिटर सडकमध्ये हालसम्म उपल्लो बिहुबाट घोडाबाँधे खण्डमा ६ किलोमिटर सडक कालोपत्र सम्पन्न भए पनि पाँचपटक म्याद थप्दासमेत ६ किलोमिटर सडक कालोपत्र गर्न अझै बाँकी रहेको थियो।

उक्त खण्डको पाँचपटक म्याद थप गर्दा जम्मा ७५ प्रतिशत भौतिक र ७१ प्रतिशत वित्तीय प्रगति भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ।

यस्तै उपल्लाचौरबाट १३ किलोमिटर सडकको भारत/ सिद्धिसाई जेभीसँग २०७३ माघमा २ वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो। अहिलेसम्म चारपटक म्याद थप गर्दासमेत बल्ल ७ किमी सडकमात्रै कालोपत्र गरेको ६ भने अझै ६ किमी सडक कालोपत्र गर्न बाँकी रहेकाले उक्त खण्डको समेत ठेक्का रद्द गर्नका लागि आयोजनाले प्रक्रिया थालेको छ।

उक्त खण्डको ७ वर्षमा ७३ प्रतिशत भौतिक प्रगति र ६९ प्रतिशत आर्थिक प्रगति भएको थियो। उक्त सडकमा ५ किलोमिटरमा पूर्वाधार निर्माणको कामसमेत बाँकी छ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते-घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुन नसक्दा जनताले सास्ती खेप्नुपरेको छ।

प्रकाशित: १७ असार २०८० १०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =