नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

हिमाल प्रेस १७ असार २०८० ६:५४
16
SHARES
नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध फाइल तस्बिर। रासस

काठमाडौँ– नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो।

अहिले पहिरो पन्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरोमा विद्युतको तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए।

पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको उनले बताए। सोही स्थानमा बिहीबारदेखि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।

पटक-पटक सडक बन्द हुँदा पूर्व-पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्। शनिबार बिहान पनि सोही स्थानमा पहिरो खसेर यातायात अवरुद्ध बनेको थियो।

बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो। पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए।

यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन्।

प्रकाशित: १७ असार २०८० ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + two =