काठमाडौँ- महामारीको रूपमा पशु चौपायामा फैलिएको ‘लम्पी स्किन’ नियन्त्रणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बल्ल चासो लिएका छन्। उनले मंगलबार कृषि तथा पशुपन्छीमन्त्री डा. बेदुराम भुसाललगायत मन्त्रालयका उच्च अधिकारीलाई लम्पी स्किन नियन्त्रणका लागि निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले प्रभावकारी रूपमा पशुस्वास्थ्यकर्मी परिचालन गर्न, खोप आपूर्ति बढाउन तथा तत्काल खोप लगाउन जनशक्तिको प्रबन्ध गर्न मन्त्रालयलाई निर्देशन दिएका हुन्।
सरकारले हालसम्म सात लाख ३७ हजार डोज खोप आयात गरी सातै प्रदेशमा उपलब्ध गराएको दाबी गरेको छ। पशु सेवा विभागका अनुसार एक लाख ७२ हजार एक सय २८ पशु चौपायामा खोप लगाइसकिएको छ।
महामारी नियन्त्रणका लागि आगामी आर्थिक वर्ष २०८०/८१मा स्थानीय तहमा संघीय सरकारले सःशर्त अनुदानअन्तर्गत एक लाख रुपैयाँका दरले बजेट उपलब्ध गराउने घोषणा पनि गरेको छ।
विभागकी महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेले संघीय सरकारले एक सय ६१ स्थानीय तहमा भेटेरिनरी डाक्टर र सबै स्थानीय तहमा प्राविधिकको व्यवस्थापन गर्न बजेट उपलब्ध गराइएको बताइन्।
प्रदेश र स्थानीय तहसँग समन्वयका लागि सम्पर्क व्यक्ति तोकिएको पनि उनले बताइन्। रोग रोकथाम तथा उपचारमा खटिने प्राविधिकका लागि प्राथमिक उपचारको जानकारीसहित सूचनामूलक सामग्रीमा प्रकाशित र प्रसारितमा पनि जोड दिइएको काफ्लले जानकारी दिइन्।
लम्पी स्किन गाईभैँसीमा भाइरसको कारण लाग्ने रोग हो। यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठा देखिन्छ। गिर्खा केही समयपछि हराउने वा कहिलेकाहीँ गिर्खा फुटेर घाउ हुने, किरा र औँसा पर्ने, नाकमुखभित्र, कल्चौँडा, थुनमा घाउ हुने, आँसु, ¥याल, सिँगान बग्ने, चिप्रा कचेरा लाग्ने, खुट्टा जोर्नी सुन्निनेजस्ता लक्षण देखिने महानिर्देशक काफ्लेले बताइन्।
बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाईभैँसी यस रोगका कारण मर्न सक्ने भएकाले विशेष ख्याल राख्नुपर्ने सुझाव महानिर्देशक काफ्लेको छ।

                                             
                                             
                                             
                                             

