६ लाख पशुमा लम्पी स्किन संक्रमण

हिमाल प्रेस १२ असार २०८० १६:३०
2
SHARE
६ लाख पशुमा लम्पी स्किन संक्रमण

काठमाडौँ- कृषि तथा पशुपन्छि विकास मन्त्री वेदराम भुसालले मुलुकभर पशुमा फैलिएको लम्पी स्किनबारे संसदमा जानकारी गराएका छन्। उनले लम्पी स्किन नियन्त्रणमा ल्याउन नसकिए पनि नियन्त्रणका लागि प्रयास गरिएको संसद्‍मा जानकारी गराएका हुन्।

लम्पी स्किन नियन्त्रणका लागि सरकारले सम्भव भएसम्म प्रयास गरिरहेको उनको भनाइ थियो। उनका अनुसार हालसम्म ६ लाख ११ हजार २ सय ९ पशुमा लम्पी रोगको संक्रमण देखिएको छ।

संक्रमितमध्ये २१ हजार ४ सय ७३ पशुको मृत्यु भइसकेको मन्त्री भुसालले जानकारी गराए। हालसम्म ३ लाख ५४ हजार ५ सय ७३ पशु उक्त रोगबाट निको भइसकेको उनले बताए। त्यस्तै २ लाख ३५ हजार २ सय १९ पशु अझै पनि संक्रमित अवस्थामै रहेका उनको भनाइ थियो। ‘अहिले देशैभरी गाईभैँसीमा लाग्ने एउटा संक्रामक रोग फैलिएको छ। लम्पी स्किन रोग भनिने यो रोग नयाँ प्रकारको सरुवा रोग हो,’ उनले भने, ‘नेपालमा यो रोग पहिलो पटक २०७७ मा देखापरेको थियो। यस वर्ष मनाङ बाहेक सबै जिल्लामा देखा परेको छ।’

आफूले कृषि मन्त्रालय सम्हाल्नुभन्दा पहिले नै लम्पी स्किन संक्रमण फैलिइसकेको उनको भनाइ थियो। ‘त्यसबेला उपचार र नियन्त्रणका लागि कुनै पनि कदम चालिएको थिएन,’ उनले भने, ‘आजभन्दा दुई महिना अगाडिदेखि उपचार र नियन्त्रण गर्न थालिएको हो।’

यसको उपचार संक्रमित पशुलाई आउने उच्च ज्वरो कम गर्ने, गिर्खामा मल्हम लगाउने र दानापानी खुवाउने नै रहेको उनले बताए। त्यस्तै यो रोगको नियन्त्रणका लागि संक्रमण नभएका पशुलाई भ्याक्सिन लगाउने भए पनि भ्याक्सिन नेपालमा नपाइने उनको भनाइ थियो।

अहिले सरकारले जोर्डन, तान्जनिया र टर्कीबाट भ्याक्सिन ल्याइरहेको उनले बताए। हालसम्म ७ लाख ३७ हजार डोज भ्याक्सिन ल्याइएको उनले जानकारी गराए।

प्रकाशित: १२ असार २०८० १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + six =