नेपाल इन्जिनियर्स एसोसिएसनको कार्यक्रम बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड। तस्बिर : रासस
काठमाडौँ- पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित काममा फर्किएका छन्। असार २७ गते पत्नी सीता दाहालको निधन भएपछि प्रधानमन्त्री प्रचण्ड कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी थिएनन्।
सीता दाहालको स्मृतिमा मंगलबार बालुवाटारमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो। त्यसपछि प्रधानमन्त्री प्रचण्ड बुधबारदेखि नियमित काममा फर्किएका हुन्।
यस क्रममा बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ। बैठकले प्रधानमन्त्रीको इटाली भ्रमणको कार्यक्रम स्वीकृत गरेको छ।
यस्तै प्रधानमन्त्री बुधबार नै ६१ औँ इन्जिनियर दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सहभागी भएका छन्। उनले कार्यक्रममा सम्बोधन गर्दै सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तीवताका साथ अघि बढाइरहेको जानकारी दिए।




