स्थानीय तहका नीति : कुकुरलाई ‘होस्टेल’, बाँदरलाई बगैँचा

हिमाल प्रेस १४ असार २०८० १५:०२
36
SHARES
स्थानीय तहका नीति : कुकुरलाई ‘होस्टेल’, बाँदरलाई बगैँचा

बागलुङ- बागलुङका स्थानीय तहले नीति तथा कार्यक्रममा बाँदर नियन्त्रणका याेजना समावेश गरेका छन्। बागलुङका दुई पालिकाले कुकुर र बाँदर नियन्त्रणका लागि नीति, कार्यक्रम र बजेटमै याेजना बनाएका हुन्।

जिल्लाको बागलुङ नगरपालिकाले छाडा कुकुर नियन्त्रण गर्न कुकुर ‘होस्टेल’ निर्माण गर्ने भएको छ, भने जैमिनी नगरपालिकाले बाँदर नियन्त्रण गर्नका लागि जंगलमै बाँदर बगैँचा बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरेकाे छ।

जिल्ला सदरमुकाम रहेको बागलुङ बजारमा छाडा कुकुरको समस्या बढेको भन्दै छाडा कुकुर नियन्त्रणमा लिएर कुकुर होस्टेलमा राखिने याेजना नगरपालिकाले लिएको छ।

नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि कुकुर होस्टेल स्थापनाका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। नगरपालिकाभित्र छाडा कुकुरका कारण दुर्घटना बढेको तथा छाडा कुकुरले टोकेका घटना बढ्दै गएकाले कुकुर नियन्त्रण गर्न कुकुर होस्टेलमा राख्ने, हेरचाह गर्ने र कुकुर पाल्न चाहनेलाई उपलब्ध गराउने बागलुङ नगरपालिकाले नीति लिएको नगर उपप्रमुख राजु खड्काले बताए।

‘छाडा कुकुरको समस्या नियन्त्रण गर्न नगरपालिकाले पुश कार्यालयको समन्वयमा बन्ध्याकरणसमेत गरेका छौँ,’ उनले भने, ‘रेबिजविरुद्धको खोप लगाएका छौँं, छाडा कुकुरलाई शून्यमा झार्न कुकुर होस्टेल बनाउने नगरपालिकाको नीति हो, आगमी आर्थिक वर्षमा पहिलो चरणको काम हुन्छ।’

छाडा कुकुर नियन्त्रण गरेर होस्टेलमा राख्दा बजारमा छाडा कुकुरका कारण निम्तने दुर्घटना र रेबिज रोगको संक्रमण घटेर जाने र होस्टेलमा राखिएका कुकुरलाई स्थानीयवासीले पाल्नका लागिसमेत लैजान सक्ने अपेक्षा गरिएकाे छ।

नगरपालिकाले कुकुरका लागि छुट्टै निर्देशिका नै बनाइसकेको छ। घरपालुवा कुकुर नगरपालिकामा दर्ता गर्ने, नवीकरण गर्ने, अनिवार्य रेबिज विरुद्धको खोप लगाउने कामलाई पशुसेवा शाखाबाट काम गर्ने नीति लिइएको छ।

नगरपालिकाले छाडा कुकुरलाई मार्न नपाइने भएकाले उत्पादन घटाउन बन्ध्याकरण गर्ने र कुकुरलाई पालन पोषण गरेर कुकुर होस्टेलमा राख्ने बताएकाे छ।

जिल्ला सदरमुकाममा छाडा कुकुरको समस्याका विषयमा नागरिकबाट निरन्तर आउन थालेपछि नगरपालिकाले कुकुर होस्टेलको अवधारण लिएको हो। जिल्ला सदरमुकाममा अहिले छाडा कुकुरको तथ्यांक संकलनको कार्य पशु शाखामार्फत चलिरहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

नगरप्रमुख श्रेष्ठले सबै छाडा कुकुरलाई जम्मा गरेर पालनपोषण नगरपालिकाले गर्ने र स्थानीयवासीले कुकुर लगेर पाल्न चाहेमा उपलब्ध गराउने गरी योजना बनाएको बताए।

त्यस्तै बागलुङको जैमिनी नगरपालिकाले बाँदरलाई जंगलमै भुलाउने कार्यक्रम ल्याएको छ। यस नगरपालिकामा जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी बाँदरको आतंक छ।

जैमिनी नगरपालिकामा बाँदरको समस्या बढ्दै गएका कारण नगरपालिकाले नगरपालिकाको वडा नं ८ छिस्तीको पुरानो गाउँमा बाँदर बगैँचा निर्माण गर्ने नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको छ।

नगरपालिकाले बाँदर बगैँचा निर्माणका लागि प्रारम्भिक पूर्वाधार निर्माण गर्न १० लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारबाट १५ लाख गरी २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए। ‘नगरपालिकामा बाँदरको समस्या बढ्दै गएको छ, बसाइँसराइका कारण बाँदरको समस्या जटिल बन्नु स्वभाविक छ,’ उनले भने, ‘बाँदरलाई जंगलमै भुलाउन छिस्तीको पुरानो गाउँमा बाँदर बगैँचा निर्माण गर्ने र बाँदरलाई बगैँचामै भुलाउने योजना छ।’

पहिलो चरणमा आगमी आर्थिक वर्ष २०८०/८१ मा २५ लाख रुपैयाँ बजेटबाट पूर्वाधार निर्माणको सुरुवात गरिने उनकाे भनाइ छ। बगैँचामा जैमिनीभित्रका बाँदरलाई त्यहाँ लगेर पालिने उनले बताए। त्यस्तै बगैँचामा बाँदरलाई मनपर्ने फलफूल लगाइने भने बाँदरलाई बगैँचाभित्रै राख्न पूर्वाधार निर्माण गरिने उनकाे भनाइ छ।

उनले जैमिनीमा निर्माण गर्ने भनिएको बाँदर बगैँचा नेपालमै पहिलो भएको दाबी पनि गरे। पुरानो गाउँमा रहेको ४ हजार २ सय रोपनी समथर भाग बाँदर बगैँचा निर्माणका लागि उपयुक्त हुने नगरपालिकाकाे भनाइ छ।

बाँदर र अन्य वन्यजन्तुका लागि प्राकृति बासस्थानका रूपमासमेत पुरानो गाउँलाई छनोट गरिएको हो। बाँदर बगैँचालाई वन्यजन्तु पर्यटकीय क्षेत्रका रूपमासमेत विकास गर्न सकिने नगरपालिकाकाे भनाइ छ। रासस

प्रकाशित: १४ असार २०८० १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =