किशोरावस्थामै कुलतमा फसेका रमेश चलाउँदैछन् यसविरुद्ध अभियान

हिमाल प्रेस १३ असार २०८० ११:१६
18
SHARES
किशोरावस्थामै कुलतमा फसेका रमेश चलाउँदैछन् यसविरुद्ध अभियान

बागलुङ– १४ वर्षको उमेरमा लागूऔषध दुर्व्यनीमा फसेका रमेश भण्डारी अहिले लागूऔषध प्रयोग गर्नु हुँदैन भन्ने जनचेतना फैलाउने अभियानमा छन्। बागलुङ नगरपालिका-२ श्रीनगर टोलका उनी लागूऔषधमा फसेको त्यो ८ वर्षे अँध्यारो यात्रालाई बिर्सेर नयाँ जीवन जिउँदै छन्।

आफूले जस्तो दुःख अरूले भोग्न नपरोस् भन्दै समाज रूपान्तरण र लागूऔषधमा फसेकालाई पुनःस्थापनातर्फ लागेको भण्डारी बताउँछन्।

‘नौ कक्षा पढ्दादेखि नै लागूऔषध दुर्व्यनीमा लाग्न पुगेँ, चुरोटबाट सुरु भएको दुर्व्यनीको यात्रा कोकिन र हिरोइनसम्म पुग्यो, सुईमार्फत लागूऔषध प्रयोगसमेत गरें,’ अतित सम्झँदै उनले भने, ‘लागूऔषधमा फसेको ८ वर्षसम्म पारिवारिक असन्तुलन, सामाजिक बहिस्कार र स्वास्थ्यमा धेरै समस्या आए, प्रहरीले पक्राउ गरेपछि मात्रै सुधार केन्द्रमा पुगेको थिएँ, सुधार केन्द्रमा भइरहेका क्रियाकलापबाट प्रभावित भएँ, सुधार केन्द्रबाट फर्केको छ वर्षपछि आफ्नै पहलमा पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याएँ।’

लागूऔषधमा फसेका युवा परिवार र समाजमा पुनःस्थापना हुन निकै समस्या हुने गरेको भण्डारीको अनुभव छ। लागूऔषध प्रयोग गरिरहेको समयमा प्रहरीले पक्राउ गरेपछि परिवारले सुधार केन्द्रमा राखेर उनको उपचार गरेको हो।‍

अहिले उनै भण्डारी जिल्लामा लागूऔषधविरुद्धको सचेतनामूलक अभियानमा प्रहरीसँगै मिलेर काम गरिरहेका छन्।

अँध्यारो जीवनलाई उज्यालोतर्फ लैजाने प्रयास गरिरहेको उल्लेख गर्दै भण्डारीले युवालाई लागूऔषधमा फस्न नदिन प्रहरी र पुनःस्थापना केन्द्रबीचको समन्वयमा विद्यालयमा समेत सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए।

लागूऔषधमा छोराछोरी फस्दा परिवारमा हुने समस्याका विषयमा आफैँ अनुभवी रहेको भण्डारीको भनाइ छ। पुनःस्थापना केन्द्रमार्फत लागूऔषधमा फसेकालाई मनोपरामर्श गर्ने, योग तथा ध्यान गराउने र विस्तारै परिवारमा पुनःमिलन गराउँदै सामान्य जीवनयापनमा फर्काउने काम गरिरहेको उनले जानकारी दिए।

यस्तै बागलुङ नगरपालिका-२ रुद्रेपिपलका प्रवेश बोहोरा लागूऔषधमा फसेको त्यो समयलाई आफूले कालो दिनका रूपमा स्मरण गर्छन्।

‘पढाइमा अब्बल थिएँ, साथीको संगतले चुरोटबाट कुलतमा फसें,’ उनले भने, ‘लागूऔषधका कारण जिन्दगीले नराम्रो मोड लियो। परिवार, आफन्त र समाजबाट टाढा भएँ, आफ्नै आमालाई चिन्न सकिनँ। लागूऔषधमा मजस्तै नफसुन् भनेर अहिले यो अभियानमा लागेको छु।’

लागूऔषधमा छोरो फसेपछि समाजले हेर्ने दृष्टिकोण फरक हुने गरेको सम्झाना क्षेत्रीले बताइन्। लागूऔषधमा आफ्नो छोराजस्तै नफस्न विशेषगरी आमाहरू नै सचेत हुन आवश्यक रहेको उनको बुझाइ छ।

छोराको आनीबानी, साथीसंगीको संगत र उसले गर्ने व्यवहारबाट लागूऔषधमा फसे/नफसेको छुट्याउन सहज हुने क्षेत्री बताउँछन्

‘समयमा घर नआउने, खाना नखाने, एक्लै कोठामा सुतिरहने समस्या थियो। पछिमात्रै छोरा लागूऔषधमा फसेको कुरा पत्ता लाग्यो,’ उनले भनिन्,’ ‘ऊ सुध्रिएपछि समाजले हेर्ने दृष्टिकोण बदलिएको छ। छोरा अहिले लागूऔषधबाट छुटकारा पाउने अवस्थामा आइसकेको छ।’

लागूऔषधमा फस्ने युवायुवतीको पहिलो चरणमा चुरोट नै सेवन गर्ने गरेको अनुसन्धानका क्रममा पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी मदन केसीले बताए।

‘चुरोट खाने, चुरोटले नपुगे गाँजा मिसाउने, पछि अफिम तथा लागूऔषध मिसाउने गरेको पाइन्छ,’ उनले भने, ‘हामी निरन्तर लागूऔषध सेचतनामूलक कार्यक्रम गर्दै आएका छौं, गण्डकी प्रदेशमा ९ हजार लागूऔषध प्रयोगकर्ता रहेको तथ्यांक छ।’

लागूऔषधमा फसेका युवाले लागूऔषध सेवनका लागि चाहिने आवश्यक रकम जुटाउन चोरीसमेत गर्ने गरेको पाइएको छ। लागूऔषधमा फसेका युवाको शरीरमा गिर्खा देखिने, पाक्ने, कुपोषण हुने र शारीरिक तौल घट्दै जाने हुन्छ।

प्रकाशित: १३ असार २०८० ११:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =