शरीर स्वस्थ, मन शान्त बनाउने सर्वोत्तम उपाय नै योग : प्रचण्ड

हिमाल प्रेस ६ असार २०८० १२:२२
8
SHARES
शरीर स्वस्थ, मन शान्त बनाउने सर्वोत्तम उपाय नै योग : प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगसम्बन्धी ज्ञान-विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने बताएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा बुधबार (आज) आयोजित अन्तर्राष्ट्रिय योग दिवस-२०८० को मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेपाल योगाभ्यासका लागि सुन्दर भूमि भएकाले यहाँ योगसम्बन्धी गतिविधि बढाउनुपर्ने उनको भनाइ छ।

‘नेपालका ३ सभ्यता शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको पाइन्छ। नेपालको सांस्कृतिक इतिहासलाई खोतल्ने हो भने यहाँका पुराना भवन र सहरको निर्माणमा पनि योगको ज्ञान-विज्ञान एवम् वास्तु इन्जिनियरिङको प्रयोग गरिएको देखिन्छ,’ उनले भने।

योग नेपालकै अमूल्य निधि भएको र प्राकृतिक वातावरणको हिसाबले परिकल्पना गरेका योगमाया आयुर्वेद विश्वविद्यालयले भोलिको दिनमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्नुपर्नेमा उनले जोड दिए।

‘मठमन्दिर र मूर्तिकलामा होस् या चित्रकला, पौभाचित्र (थान्का) सबैतिर योगको प्रभाव देखिन्छ। ढुंगेधारा, कुवा-इनार र राजकुलोको निर्माणमा पनि योगको ज्ञानलाई प्रयोग गरिएको देख्न सकिन्छ,’ उनले भने, ‘यसैले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवम् जीवन पद्धति हो।’

स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र मनोवैज्ञानिक रूपमा सबल बनाउन योगले सहयोग पुर्‍याउने उनले बताए।

‘शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग भएकाले नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्मज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुन्छ,’ उनले भने।

शिक्षामन्त्री अशोक राईले योगाभ्यास र अध्ययनलाई विद्यालय तहदेखि नै अपनाउँदै जान नीतिगत र कार्यक्रममिक योजना तर्जुमा गरिएको बताए। उनले प्रदेश र स्थानीय तहलाई पनि दिवस मनाउन आह्वान गरिएको जानकारी दिए।

दिवसका अवसरमा आज बिहान रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरि सुरु भई कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मूल कार्यक्रम आयोजना भएको हो।

संयुक्त राष्ट्रसंघको आह्वानअनुसार नेपालमा पनि बुधबार अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। राष्ट्रसंघको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा दिवस मनाउने प्रस्ताव पारित भई सन् २०१५ जुन २१ देखि यो दिवस मनाउन थालिएको हो।

प्रकाशित: ६ असार २०८० १२:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =