झुलाघाटमा पक्की पुल बन्ने चर्चाले स्थानीय खुसी

हिमाल प्रेस २० जेठ २०८० १५:१३
2
SHARE
झुलाघाटमा पक्की पुल बन्ने चर्चाले स्थानीय खुसी

बैतडी- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल निर्माण हुने आशा पलाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाटमा मोटरेबल पुल निर्माण गरिने बताएपछि यहाँका नागरिक खुसी पनि भएका छन्।

सुदूरपश्चिम क्षेत्रको कनेक्टीभिटी बढाउन भारतसँग सीमा जोडिएका बैतडीको झुलाघाट र डडेलधुराको शीर्ष नाकामा मोटरेबल पुल निर्माण गरिने भारतीय प्रधामन्त्री मोदीले बताएका थिए। उक्त चर्चाले यहाँका नागरिकमा खुसी छाएकाे छ।

वर्षौं पुरानो जीर्ण बनेको झोलुंगे पुलबाट जोखिमपूर्ण आवतजावत गर्दै आएका यस क्षेत्रका नागरिकमा पछिल्लो चर्चाले आशा पलाएको छ। मोटरेबल पुल बनेपछि दुवै देशको आर्थिक गतिविधि बढ्ने जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टले बताए। ‘आफूहरूले लामो समयदेखि उठाउँदै आएको माग पूरा हुने आशा पलाएको छ,’ उनले भने, ‘यो निकै खुसीको कुरा हो। मोटरेबल पुल निर्माण भएमा दुवै देशमा आर्थिक गतिविधि पनि वृद्धि हुन्छ।’

मोटरेबल पुल निर्माणपछि धार्मिक पर्यटन भित्र्याउन पनि सहज हुने उपाध्यक्ष भट्टको भनाइ छ। ‘यसअघि सीमा क्षेत्रमा मोटरेबल पुल नहुँदा पर्यटक भित्र्याउन असहज हुने गरेकामा पुल निर्माण भएमा भारतीय दर्शनार्थीलाई नेपालका धामको दर्शन गर्न पनि सहज हुनेछ।’

बैतडीमा त्रिपुरासुन्दरी, निङ्लाशैनी, मेलौली भगवती, रौलाकेदार, दोगडाधाम, ग्वाल्लेककेदार, पतालभुवनेश्वर धाम, शिवनाथ मन्दिरलगायत धार्मिक तथा पर्यटकीयस्थल छन्। पुल निर्माणपछि यस क्षेत्रमा पर्यटकीय चहलपहल हुने स्थानीय महेशदत्त भट्टले बताए। ‘मोटरेबल पुल निर्माणपछि यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल बढ्नेछ,’ उनले भने।

नाकामा मोटरेबल पुल निर्माण भएमा बैतडी मात्रै नभएर सुदूरपश्चिम क्षेत्रको आर्थिक गतिविधिमा सुधार आउने र दुई देशका व्यापारिक सम्बन्ध पनि विस्तार हुने अपेक्षा गरिएको छ। पुल निर्माण भएमा दुवै देशका सीमावर्ती क्षेत्रका नागरिकबीच पारिवारिक र सामाजिक सम्बन्ध पनि बलियो हुने दशरथचन्द नगरपालिका उपप्रमुख कौशिला चन्दले बताइन्। ‘भारतसँग रोटीबेटीको सम्बन्ध रहँदै आएकामा पुल निर्माणपछि यो सम्बन्ध अझै प्रगाढ हुनेछ,’ उनले भनिन्।

मोटरेबल पुल बन्ने चर्चा धेरै भएकाले अहिलेको चर्चा वास्तविकतामा परिणत हुनुपर्ने यहाँका सर्वसाधारणको माग छ। झुलाघाट नाकामा अहिले करिब सय वर्ष पुरानो झोलुंगे पुलबाट आवतजावत भइरहेको छ। उक्त नाकामा मोटरेबल पुल निर्माणका लागि यसअघिदेखि नै चर्चा हुँदै आएको छ। रासस

प्रकाशित: २० जेठ २०८० १५:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =