चिनियाँ पर्यटकलाई लक्षित गर्दै नेपालमा विच्याटमार्फत भुक्तानी सुरु

हिमाल प्रेस ७ असार २०८० १६:०२ | Thursday, June 22, 2023
चिनियाँ पर्यटकलाई लक्षित गर्दै नेपालमा विच्याटमार्फत भुक्तानी सुरु

पोखरा- एनएमबि बैंकले चिनियाँ पर्यटकलाई लक्षित गर्दै विच्याटमार्फत भुक्तानी सुरु गरेकाे छ। बैंकले नेपाल आउने चिनियाँ नागरिकको सुविधाका लागि डिजिटल पेमेन्ट ‘विच्याट पे’ काे सुरु गरेकाे हाे।

पोखरामा बिहीबार आयोजित समारोहमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेर सेवा शुभारम्भ गरेका हुन्। नेपालमा इसेवा, खल्तीजस्तै विच्याट पे चीनमा बढी लोकप्रिय मानिन्छ।

विच्याटमार्फत गरिने कारोबार सुरक्षित रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए। यसबाट चिनियाँ नागरिकलाई लाभ मिल्ने उनले बताए। सेवा शुभारम्भ समारोहमा चिनियाँ राजदूत चेन सोङले यसबाट आफ्ना नागरिकलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले विच्याट सेवा डिजिटल बैंकिङमा एक फड्को भएको बताए। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, एनएमबि बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, बैंकका गण्डकी प्रदेश प्रमुख दुर्गाराज पुरी, कर्मचारी साइसा कार्कीकाे पनि उपस्थिति थियाे।

टेन्सन्ट होल्डिङ्सको सहकार्यमा सुरुवात गरिएकाे उक्त सेवा विशेषगरी नेपाल घुम्न आउने चिनियाँ नागरिकको खल्तीमा पैसा सकिए पनि डिजिटल पेमार्फत भुक्तानी गर्न सक्ने छन्।

योबाट सिधैँ चीनको बैंकदेखि नेपालको एनएमबि बैंकसँग कारोबार हुनेछ। यसले क्यासलेस कारोबार गर्न सहयोग गर्ने अपेक्षा गरिएकाे छ। पहिलो पल्ट एनएमबि बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार नेपालमा यो सुविधा भित्र्याइएको बैंककाे भनाइ छ।

प्रकाशित: ७ असार २०८० १६:०२ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast