भारत पुगे प्रचण्ड, राज्यमन्त्रीले गरिन् स्वागत

हिमाल प्रेस १७ जेठ २०८० १५:५९
12
SHARES
भारत पुगे प्रचण्ड, राज्यमन्त्रीले गरिन् स्वागत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुधबार नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल स्वागत गर्दै भारतीय संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखी। तस्बिर स्रोत : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत पुगेका छन्। चारदिने भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न भारतीय संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन्।

प्रधानमन्त्री प्रचण्डको औपचारिक भारत भ्रमणलाई महत्त्वका साथ हेरिएको छ। प्रधानमन्त्री प्रचण्डसँग परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरकारी प्रतिनिधिमण्डल भारत पुगेको छ।

परराष्ट्रमन्त्री साउदका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल हुनेछ। मन्त्री साउदले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँचचौकीको उद्घाटनलगायत कार्यसूची तय भएको र थप विषयमा छलफल जारी रहेको जानकारी दिएका छन्।

यस्तै नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवर्द्धन गर्ने, व्यापार तथा पारवहन एवम् हवाईमार्गका बारेमा भ्रमणका क्रममा छलफल हुनेछ। नेपालले भ्रमणका क्रममा दीर्घकालीन रूपमा बिजुली व्यापारको विषयलाई प्राथमिकताका साथ अगाडि सारेको छ। हरेक वर्ष नवीकरण गर्नुपर्ने र सुरुदेखि नै प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले त्यसमा प्रक्रियागत झन्झट रहँदै आएको छ।

यसै गरी नेपालले बंगलादेशमा बिजुली व्यापारका लागि मार्ग प्रशस्त गर्नसमेत भारतलाई आग्रह गरिँदै आएको छ। बंगलादेशले तत्काल ५० मेगावाट बिजुली लैजाने सहमति गरिसकेको छ। भ्रमणका क्रममा हवाईमार्गको सुनिश्चितता विषयमा दुई देशका सरकार प्रमुखले छलफल गरेर निष्कर्षमा पुर्‍याउने तयारी गरिएको छ।

प्रधानमन्त्री प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १:२५ बजे प्रस्थान गरेका हुन्। परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार जेठ १८ गते प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ। दुई देशका प्रधानमन्त्रीको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका तय भएको छ।

हैदरावाद हाउसमा नै केही सहमतिपत्र र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्त रूपमा आयोजना गर्ने एक अन्तर्क्रियात्मक कार्यक्रमलाई उनले सम्बोधन गर्ने र व्यवसायीसँग अन्तर्क्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ।

प्रधानमन्त्री प्रचण्डले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन्। भ्रमणका क्रममा उनले भारतको मध्यप्रदेशस्थित उज्जैन र इन्दोरकोसमेत भ्रमण गर्ने कार्यसूची छ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल यही जेठ २० गते साँझ स्वदेश फर्कंने तय भएको छ।

प्रकाशित: १७ जेठ २०८० १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =