
काठमाडौँ- ‘दिगो विकास लक्ष्य २०३० हासिल गर्न बृहत् यौनिकता शिक्षालाई अगाडि बढाउँदै’ भन्ने नाराका साथ बृहत् यौनिकता शिक्षासम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन यही जेठ १० र ११ गते काठमाडौँमा आयोजना हुने भएको छ।
सन् १९९४ मा सम्पन्न जनसंख्या तथा विकास विषयक अन्तर्राष्ट्रिय सम्मेलन, सन् २०१५ को दिगो विकास लक्ष्य, युवा, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रस्ताव २२५०, महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रस्ताव १३२५, नेपालको संविधान, राष्ट्रिय युवा नीति, युथभिजन २०२५, विद्यालय शिक्षा क्षेत्र योजना २०२२/२३–२०३१/३२ जस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति तथा प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनमा सम्मेलनले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करिब तीन सय जनाको सहभागिता हुने सो सम्मेलनमा बृहत् यौनिकता शिक्षासम्बन्धी विभिन्न विषयमा कार्यपत्रहरूको प्रस्तुति, फरक–फरक सेसन तथा पोष्टर प्रस्तुत हुने जनाइएको छ। साथै सम्मेलनको अन्त्यमा बृहत् यौनिकता शिक्षामा काठमाडौँ घोषणापत्र जारी गरिने जनाइएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त आयोजना हुने सो सम्मेलनको र संयुक्त राष्ट्रिय जनसंख्या कोष, नेपाल परिवार नियोजन सङ्घलगाायत बृहत् यौनिकता शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोग रहने छ।
सम्मेलनमा युवाको लागि उमेर–उपयुक्त, वैज्ञानिक र अधिकारमा आधारित बृहत् यौनिकता शिक्षाको पहुँच, लैंगिक समानता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, अल्पसङ्ख्यक समुदायको अधिकारको सुनिश्चितता, रुढीवादी प्रथा तथा धारणा, हिंसा, बालविवाह, युवाको विदेश पलायन, किशोर–किशोरी तथा युवामैत्री सेवा तथा वातावरण साथै युवालक्षित विभिन्न राष्ट्रिय नीति तथा त्यसको प्रभावकारी कार्यान्वयनका क्षेत्रमा छलफल हुने नेपाल परिवार नियोजन संघले जनाएको छ। रासस